 
																			१ असोज, बुटवल । पिलर गाड्ने ठाउँमा फुटाउनै नसकिने चट्टान भेटिएको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका जोड्ने पुलको निर्माण ९ वर्षदेखि अलपत्र परेको छ । कुल १ सय १० मिटर लामो पुल ७० मिटर बनाइसकेपछि रोकिएको थियो ।
नौ वर्षपछि इन्जिनियरिङ डिजाइन परिवर्तन गरी बाँकी कामलाई पूर्णता दिने तयारी छ । यद्यपि पुरानो डिजाइनबाट ७० मिटर बनेको र बाँकी ४० मिटर नयाँ डिजाइनबाट बनाउँदा पुलको आयुमा एकरुपता नहुने मात्र होइन लागत र समय दुवै बढ्ने छ ।
२०६७ असारमा ठेक्का सम्झौता भई तिलोत्तमाको गोरकट्टास्थित तिनाउ नदीमाथि पुल बनाउन थालिएको थियो । पुलको चौथो पिल्लर गाड्ने ठाउँमा ठूलो चट्टान भेटिएको भन्दै निर्माण कम्पनीले काम बन्द गरेको हो । चौथो पिल्लर धसाउने ठाउँमा झण्डै ३ फिट गहिरो ठूलो चट्टान भेटिएपछि पुल निर्माण अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर दुर्गा गौतमले बताए ।
पुलको कूल लम्बाइ एक सय १० मिटरमध्ये ७० मिटर भने निर्माण भइसकेको छ । वेल प्रविधिबाट तीनवटा पिल्लर गाडेर पाँचवटा स्लाबसमेत गरी ७० मिटर पुल बनेपछि काम रोकिएको हो ।
एलिट कन्सट्रक्सन प्रा.लि. काठमाडौले २०६९ पुस २४ गते सम्पन्न गर्ने गरी १० करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो । पछि २०७२ साल असार २४ गतेसम्मका लागि समयावधि थपिए पनि चट्टानलाई निकाल्न र फुटाउन नसकेपछि चार महिनापछि पुनः काम रोकिएर अलपत्र अवस्थामा पुगेको हो ।
पुल्चोक इन्जिनियरिङ कलेजलाई जिम्मा
वेल फाउण्डेशन प्रविधिबाट पुल निर्माण गर्न सम्भव नदेखिएपछि अहिले नयाँ प्रविधिबाट पिल्लर धसाउने प्रयास भइरहेको छ । त्यसका लागि सडक डिभिजन कार्यालयले ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजलाई जिम्मा दिएको छ ।
कलेजले चार महिनासम्म अध्ययन गरी तीन वटा विकल्प दिएको थियो । तीमध्ये सबैभन्दा उपयुक्त ‘पाइल फाउण्डेसन’ (किला ठोके जस्तै) प्रविधिबाट पिल्लर बनाउने टुंगो लागेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताए । ‘चार महिना लगाएर अध्ययनपछि पाइल फाउण्डेसन प्रविधिमा बनाउने गरी डिजाइन तयार भै स्वीकृतिको अवस्थामा छ,’ मरासिनीले भने, ‘एक–दुई दिनमा विभागको केन्द्रबाट स्वीकृत भएसँगै काम अघि बढ्छ ।’
पुल समयमै नबन्दा प्राविधिक त्रुटि र कमजोरीका कारण डिजाइन परिवर्तन गर्नुपरेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् । डिजाइन परिवर्तनले पुलको आयुमा समेत एकरुपता नहुने इन्जिनियरहरुको भनाइ छ । डिजाइन परिवर्तनसँगै पुल निर्माणको लागत पनि बढ्ने छ ।
हालसम्म पुलको करिब ४८ प्रतिशत भौतिक प्रगति र ३४ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए ।
बुद्ध सर्किटमा पर्ने यो पुल समयमै नबन्दा सर्वसाधारणले १४ किलोमिटरको दुरी पार गर्न ३५ किलोमिटरसम्मको दुरी तय गर्नुपरेको छ । ‘१५ मिनेटमा पुगिने ठाउँमा पुग्न झण्डै एक घण्टा लाग्छ,’ शुद्धोधन–४ रुपन्देही घर भएका तिलोत्तमा नगरपालिकाका इन्जिनियर गिरीराज डुम्रेले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4