Comments Add Comment

अयोग्यहरुको दौडादौड छ, म क्यानको अध्यक्षमा लड्छु

३१ भदौ, काठमाडौं । लामो गलफत्तीपछि नेपाली क्रिकेट निकासोन्मुख बनेको छ । नयाँ सहमतिअनुसार असोज दोस्रो साता साधारणसभामार्फत नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाउनेछ । यससँगै, अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने अपेक्षा छ ।

क्यानको नयाँ नेतृत्वका लागि अहिलेसम्म कसैले पनि औपचारिकरुपमा उम्मेदवारी घोषणा गरिसकेका त छैनन्, तर आन्तरिक गृहकार्य थालेका छन् । यसरी तयारी थाल्नेमध्ये एक हुन् विनयराज पाण्डे । लामो समय नेपाली क्रिकेटको नेतृत्व गरेका उनी पछिल्लो केही वर्ष बाहिर रहे । अब फेरि क्रिकेट संघको नेतृत्व गरेर नेपाली क्रिकेटलाई एउटा गन्तव्यमा पुर्‍याउने भन्दै उनले अध्यक्षमा चुनाव लड्ने मनस्थिति बनाएका छन् ।

प्रस्तुत छ, पाण्डेसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

क्रिकेट संघको निलम्बन यति लामो मसयसम्म जाला भन्ने अनुमान थियो ?

क्रिकेट संघ निलम्बनपछि निकास खोज्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कमिटी बनायो, जसमा म सहसंयोजक थिएँ । ६ महिनामा सबै काम सक्ने कार्यतालिका थियो । हामीले त्यसअनुसार काम पनि सुरु गर्‍यौं । तर निर्वाचित क्यानका अध्यक्ष र महासचिव छलफलमा आउन मान्नु भएन । हामीले काम गर्दै गयौं । म अमेरिकामा भएको बेला एउटा मिटिङ भएछ, त्यसमा उहाँहरु आउनु भयो । यसले झण्डै एक वर्ष लम्बियो ।

त्यसपछि सल्लाहकार समितिले विधान बनाएर उहाँहरु (निर्वाचित क्यान)लाई अनुमोदन गर्ने दिइयो । तर, साधारणसभा बोलाएर २२ ठाउँमा संशोधन गर्नुभयो । आईसीसीले त्यसलाई मानेन । त्यसपछि फेरि हामी बसेर विधान मिलाएपछि हुबहु पास भयो । यसरी एउटा समूहले क्रिकेटभन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकता दिएका कारण तीन-साढे तीन वर्ष खेर गयो ।

त्यसपछि पनि त एक-डेढ वर्ष बितिसक्यो नि ?

विधान अनुमोदन भएपछि चुनावमा जाने भयौं । तर उहाँहरु (निर्वाचित क्यान)ले धेरै (३९ मध्ये ३७) जिल्लामा चुनाव गराइसक्नु भएको छ, सबै प्रक्रिया पुरा भएको छ भने त्यसलाई नै मान्यता दिऊँ भन्नुभयो । मैले पनि राम्रो मान्छेहरु आएका छन् भने किन मान्यता नदिने भनेर ‘हुन्छ’ भनेँ । तर डकुमेन्टेसन प्रक्रिया झण्डैझण्डै तीन-चार महिना चल्यो । त्यो अवधिमा त चुनाव नै भइसक्थ्यो । अहिले हेर्दा मैले ‘हुन्छ’ भनेर गल्ती गरे जस्तो लाग्छ ।

भन्नाले सबै जिल्लामा नयाँ चुनाव गर्नुपर्नेरहेछ भन्ने लाग्छ ?

हो, जब विधान नै परिवर्तन भइसकेको छ भने पुनः चुनाव नै गर्नुपर्ने थियो । आफू जस्तो छ, संसार त्यस्तै देखिन्छ भनेजस्तै सबै क्रिकेटमा लागेकै मान्छेहरु छन्, सही मान्छेहरु नै आएका होलान् भनेर मैले हुन्छ भनेँ । तर त्यस्तो नहुँदोरहेछ ।

जिल्लाहरुको चुनावबारे अध्ययन गर्नेहरु (स्वतन्त्र कमिटी) ले पनि आफ्नै तरिकाले काम गरिदिए । कतै पुरानै चुनावलाई मान्यता दिने, कतै सदस्यता दिनुपर्ने, तर पुनः चुनाव गर्नुपर्ने त कतै पुनः सदस्यता दिएर चुनाव गर्नुपर्ने फरक-फरक मापदण्ड बनाइयो । जबकी उहाँहरुलाई सबैलाई मान्यता दिने वा सबैलाई मान्यता नहुने म्याण्डेट दिइएको थियो । यसले पनि प्रक्रिया लम्बियो ।

हुन त यो सकिइसकेको विषय हो, तर त्यसबेला सदस्यता विवाद पनि आयो नि होइन ?

मलाई पूरै त थाहा छैन । तर उत्तम कर्माचार्यको हकमा पैसा तिर्न बाँकी भएकाले अयोग्य भएका हुन् । जहाँसम्म विनय झा, पारस खड्काहरुको कुरा छ, मेरो विचारमा प्रक्रियामा त्रुटि भएको होला । सदस्यता लिन व्यक्तिगत रुपमा जानुपर्छ, समूहमा जान नपाइने व्यवस्था छ । किनकी समूह बनेर नै सबै बिगि्रएको हो । समूहमा जाँदा सदस्यता नदिएपछि (स्वतन्त्र टोलीका) वकिलले व्यक्तिगत रुपमा आउनुहुन्छ भने हेर्छौं भन्नु भएको थियो नि । तर उहाँहरु कोही पनि आउनु भएन भन्ने मैले थाहा पाएको छु ।

सबै प्रक्रिया पूरा गर्दा पनि अस्वीकृत भएको भए त अपिल गर्ने अधिकार विधानले दिएको छँदैछ नि । अपिल नगर्ने, तर बाहिर सदस्यता दिएन भन्नुको अर्थ छैन ।

भक्तपुरबाट सदस्यता लिएपछि तपाईकै बारेमा पनि पनि प्रश्न उठेको थियो नि ?

म यसमा प्रष्ट पार्न चाहन्छु, म भक्तपुरको संस्थापक सदस्य हुँ । त्यसबेला भक्तपुर क्रिकेट खेल खासै सक्रिय थिएन । त्यही कारण कमिटी बनाउन कोरम नै नपुग्ने भएपछि साथीहरुले म अध्यक्ष भएको बेला नै मलाई सदस्य राख्नु भएको थियो । त्यसैले अहिले आएर भक्तपुर गयो भनेर भन्नु नबुझेर गरिएको प्रचार मात्र शहो ।

जे होस्, जिल्ला र प्रदेशको चुनाव सकियो । अब असोज १० र ११ मा साधारणसभा बोलाइएको छ । ढिलै भए पनि हामी सही निष्कर्ष नजिक आइपुगेका हौं त ?

हाम्रो स्वार्थ के हो भने क्रिकेटलाई माया गर्ने टिम आओस् । त्यसका लागि यो सबै गर्नु परेको हो ।

चुनावबाट यदि त्यस्तो टिम आयो भने क्रिकेटको भाग्य सप्रियो, तर होइन उस्तै आयो भने त…

उस्तै टिम आयो भने त भन्नुभयो । खराब टिम पनि आउनसक्छ भन्न खोज्नु भएको हो ?

म हेरिरहेको छु कि जो मान्छे क्रिकेट संघको सदस्य हुनसमेत योग्य छैन, उनीहरुको निकै दौडादौड छ । चुनाव भएको हरेक ठाउँमा पुगेको छ । क्रिकेट संघमा को आउनुपर्छ भनेर हिँडिरहेको छ । उनीहरुको क्रिकेटभन्दा अरु स्वार्थ बढी छ ।

हामीले त निःस्वार्थ रुपमा क्रिकेटलाई माया गर्नेहरु क्रिकेट संघमा आउन् भन्ने चाहेको हो । तर क्रिकेटमा पनि यति धेरै स्वार्थ समूहहरु हुँदारहेछन् भन्ने अहिले (पछिल्लो चुनावी प्रक्रियामा) देखेँ । हामीले चलाएको क्रिकेट संघ र अहिलेको क्रिकेट संघमा त आकास र जमिनको फरक भएछ बा …(हाँस्दै) ।

त्यस्तो समूह राजनीतिक पनि हो कि ?

खोई ? राजनीतिक त भन्न नमिल्ला, तर जसरी भए पनि क्रिकेट संघमा पस्ने स्वार्थ समूहहरु देखियो । यसले समस्या हुन्छ । किनभने कसलाई ल्याउने, कसलाई नल्याउने भन्नेमा लेनदेन हुन्छ । र, उनीहरुको स्वार्थले क्रिकेट प्रभावित हुने हो कि भन्ने डर लागेको छ । जुन हामीले सोचेका थिएनौं ।

त्यसो हो भने त दौडधुप गर्नेहरुले केन्द्रीय साधारणसभा पनि प्रभावित पार्न सक्लान् नि ?

म त्यही त भन्दैछु । जो कुनै न कुनै कारणले क्रिकेट संघको सदस्य हुन अयोग्य छन्, उनीहरुले मलाई पनि फोन गर्छन् । अयोग्यले नै क्रिकेट संघलाई कसरी चलाउने भन्ने बुद्धि दिएर हिँड्ने ? यसले चुनावमा समस्या हुन सक्छ ।

क्रिकेट संघको चुनावको कुरा गर्दा अध्यक्षको उम्मेदवार को भन्ने आइहाल्छ । तपाईं पनि अध्यक्षमा उठ्नु हुन्छ ?

यो कुरा परिस्थितिमा भर पर्छ । यदि पुरानै गुट, जसले गर्दा नेपालले पटकपटक जरिवाना खायो, निलम्बनमा पर्‍यो र एक प्रकारले देशकै बेइज्जत भयो, त्यही टिम आउने (खतरा) देखियो भने एकपटकका लागि म उम्मेदवारी दिन्छु ।

यसको दुईवटा कारण छन् । एउटा, खराब टिम आयो भने त्यसले ल्याउने नतिजा पनि खराब नै हुन्छ । अमेरिकाको क्रिकेट संघ तीनपटक निलम्बनमा परेको रेकर्ड छ । यदि हामीकहाँ पनि राम्रो टिम आएन भने ४/५ वर्षपछि फेरि निलम्बनमा पर्न सक्छ । त्यसबेला हामीले प्रश्न उठाउँदा बाहिर बसेर आलोचना मात्र गर्ने, त्यो बेलामा किन उम्मेदवारी दिएको ? भनेर सबैले भन्ने बाटो हुन्छ ।

अर्को, म आईसीसीको डेभलपमेन्ट कमिटीको कार्यकारी सदस्य हुँदा चीनको ग्वान्झाओमा एउटा बैठक भएको थियो । हामीले त्यो बेला ९/१० वटा देशले मात्र टेस्ट म्याच खेल्दा क्रिकेटको विश्वव्यापीकरण हुँदैन भनेर नयाँ देशहरुलाई ल्याउन एउटा मापदण्ड बनायौं । त्यसलाई एसीसीले पनि स्वीकृत गरेको थियो । त्यही आधारमा पाँच देश नेपाल, अमेरिका, अफगानिस्तान, आयरल्याण्ड र स्कटल्याण्ड सूचीमा परेका थिए । चीनको पनि कुरा भएको थियो, तर त्यहाँ क्रिकेट लोकपि्रय हुन नसक्ने निष्कर्ष निकालेर पाँच देशको सूची बनायौं ।

त्यो बेला नेपाल डिभिजन ४ मा थियो । हामीले एउटा बाहेक अरु सबै मापदण्ड पूरा गरेका थियौं । तर, दुर्भाग्यवश नेपाल निलम्बनमा पर्‍यो । अमेरिका पनि निलम्बनमा पर्‍यो । अफगानिस्तान र आयरल्याण्डले टेष्ट नेशनको मान्यता पाए ।

गत वर्षबाट फेरि चार वर्षको नयाँ साइकल (आईसीसी विश्वकप लिग-टू) सुरु भएको छ । यसको अन्त्यमा पनि एक वा दुई देशले टेष्ट नेशनको मान्यता पाउँछन् होला । यदि हामी फेरि पनि को अध्यक्ष हुने, को महासचिव हुने, को म्यानेजर भएर देशविदेश घुम्न जाने भन्नेमा अल्झिने हो भने मेरो भन्नु केही छैन । होइन, खेलाडीदेखि प्रशिक्षक, एम्पायर, क्रिकेट संघका पदाधिकारी सबैले टेष्ट नेशन कसरी बनाउने भनेर सोच्ने हो भने अवसर छ ।

तपाईंहरुलाई थाहा छ कि छैन सन् १९९९/२००० तिर बंगलादेश र केन्याको टेष्ट नेशनमा दाबेदारी थियो । तर केन्यामा राजनीति लाग्यो, टेष्ट नेशन भएन । बंगलादेशले मान्यता पायो । आजको दिनमा हेर्नुस्, केन्या कहाँ छ ? बंगलादेश कहाँ छ ? म गलत पनि हुनसक्छु, तर मेरो विश्लेषण छ कि यदि ५ वर्षमा राम्रोसँग अगाडि बढ्न सकेनौं र टेष्ट मान्यताका लागि प्रतिस्पर्धा गर्न सकेनौं भने हाम्रो अवस्था पनि केन्याको जस्तो हुनसक्छ ।

(भित्तामा झुण्ड्याएको तस्वीर देखाउँदै) त्यहाँ हेर्नुस्, सन् २००२ मा यू-१५ एसियन टिममा पारस (खड्का), शरद (भेषावकर), बसन्त (रेग्मी) लगायतका ७ जना नेपाली खेलाडी परेका थिए । उनीहरुमध्ये ५ जना अहिले पनि राष्ट्रिय टिमबाट खेलिरहेका छन् । तर पछिल्लो ७/८ वर्षमा त घरेलु प्रतियोगिताहरु हुन सकेको छैन । जिल्लाले खेल्न पाएको छैन । यदि अबको चार वर्षमा पनि यो अवसर सदुपयोग गर्न सकेनौं भने फेरि नेपालको क्रिकेट उँधो लाग्ने सम्भावना छ । त्यसैले यो चुनावको महत्वपूर्ण छ ।

तपाईंको उम्मेदवारीले यसमा के फरक पार्छ ?

म यो महत्वपूर्ण समयमा नेतृत्व दिएर नेपाली क्रिकेटलाई एउटा गन्तव्यमा पुर्‍याउन सक्छु । त्यसैले अध्यक्ष उठ्न लागेको हुँ । तर जिल्लाबाट आएका साथीहरुले विनयराज पाण्डेले क्रिकेट चलाउन सक्दैन, अरुले सक्छ भन्छन् भने त मैले के गर्ने ?

अहिलेसम्मको अवस्था हेर्दा, निर्वाचित क्यानको एउटा टिम बन्ने देखिन्छ । अर्को तपाईं र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार हुने सम्भावना देखिन्छ । तपाईंले चुनावी समीकरणको कस्तो विश्लेषण गर्नुभएको छ ?

जिल्लाबाट माथि आउन गुट समातेको होला, किनकी त्यो नभएसम्म माथि आउन गाह्रो होला । तर केन्द्रीय साधारणसभामा मतदाता भएर आएपछि गुटको पछाडि लाग्नु पर्दैन । उहाँहरुमा नेपाली क्रिकेटलाई कसरी माथि उकास्ने भन्ने स्वार्थ हुनुपर्‍यो । र, मलाई के लाग्छ भने जसले क्रिकेटलाई माया गर्नुहुन्छ, उहाँहरुले मलाई भोट दिनुहुन्छ ।

अन्तिममा, तपाईंले क्रिकेट संघको अध्यक्षको चुनाव जित्नुभयो भने के-के गर्नुहुन्छ ?

मुख्य लक्ष्य, क्रिकेट संघमा जुन वेथिती देखिएको छ, त्यसलाई हटाउन प्रयास गर्छु । यो त्यति सजिलो भने छैन । किनकी बजारमा कति पैसा तिर्न बाँकी छ, थाहा छैन ।

दोस्रो, सबैले सोचेका छन्, निलम्बन फुकुवा भएपछि आईसीसीले पैसाको खोलो बगाइदिन्छ । त्यस्तो हुँदैन । उसले यहाँको अव्यवस्था हेरिसकेको छ । सञ्चिती व्यवस्थापन भएर उसको विश्वास नजितेसम्म आईसीसीले फण्ड रिलिज गर्दैन । हामीले जे भयो, त्यस्तो अब हुँदैन भनेर आईसीसीलाई विश्वास दिलाउन सक्नुपर्छ ।

तेस्रो, अबको चार वर्षको योजना बनाउनुपर्‍यो र त्यसमा सरकारको भूमिका के हो, प्रष्ट हुनुपर्छ ।

चौथो, हाम्रो संरचना परिवर्तन गर्नुपर्नेछ । पछिल्लो समय हामी ९ क्षेत्रको संरचनामा थियौं । अब सात प्रदेश भएको छ, त्यसअनुसार संरचना बनाउनुपर्नेछ । यसका साथै हामीसँग एक समय ९ वटा स्पोन्सर थिए, मैले छोड्नासाथ एउटामा झर्‍यो । निजी क्षेत्रलाई फेरि क्रिकेटसँग जोड्नुपर्छ ।

पाँचौं तथा अन्तिम, चार वर्षभित्र नेपाललाई टेष्ट प्लेइङ नेशन बनाउने लक्ष्य हो । यसका लागि म प्रयास गर्छु, तर म एक्लैले सक्दिनँ । हामी सबै एकजुट हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment