Comments Add Comment

अथर्ववेद र विश्वकर्माको नालीबेली

बरुण ब्रह्माका दुई पुत्र थिए– अङ्गिरा र भृगु । अङ्गिराका पुत्र वृहस्पति र भृगुका पुत्र शुक्र हुन् । भृगुका दुई पत्‍नीको कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ । पहिली पत्‍नी हिरण्यकश्यपुकी पुत्री दिव्या थिइन् । दिव्याबाट शुक्रको जन्म भएको हो ।

शुक्र त्यस समयका प्रशिद्ध कवि थिए । काव्यको उत्पत्ति शुक्रबाटै भएको शास्त्रीय किम्वदन्ती छ । ज्योतिषशास्त्रमा शुक्र प्रधान भएको व्यक्तिलाई कवि, कल्पनाशील, प्रेमी मान्ने कारण शायद यही होला ।

शुक्रका दुई पुत्र अत्रि र त्वष्टा मानिन्छन् । भृगुकी द्वीतीय पत्‍नी पुलोमा दावनकी पुत्री पौलोमा हुन् । पौलोमाबाट च्यवनको जन्म भएको बताइन्छ ।

त्वष्टा ऋषि थिए र भृगुपुत्र भएकाले ब्राह्मण मानिन्थे । त्वष्टालाई नै देवकूलमा विश्वकर्मा र मावली कूलमा मय भनिन्थ्यो । यी शिल्प र निर्माणका निष्णात विद्वान पनि थिए । विश्वकर्माका दुई पुत्र वृत्र र त्रिशिरा तथा एक पुत्री रेणु भए ।

आज विश्वकर्माको जन्मदिनको अवसरमा उनका सन्ततिहरूको चर्चा गर्ने प्रयास गरिएको छ

आज विश्वकर्माको जन्मदिनको अवसरमा उनका सन्ततिहरुको चर्चा गर्ने प्रयास गरिएको छ । विश्वकर्माका सन्ततिहरुको व त्रिशिरालाई विश्वरूप पनि भनिन्छ । वृत्र र त्रिशिरा दुवैलाई देवराज इन्द्रले हत्या गरिदिएका थिए । रेणुको विवाह विवश्वान मनु (सूर्य) सँग भयो । सूर्यबाट वैवश्यत मनु, यम–यमी (जुम्ल्याहा दाजुबहिनी) र अश्विनीकुमार (जुम्ल्याहा दाजुभाइ) को जन्म भयो । सुवर्णाबाट सूर्यले शनिश्चरलाई जन्माए ।

वैवश्वत मनुका १० पुत्रमध्ये नरिश्यन्तिका पुत्र तृणविन्दु भए । तृणविन्दुकी पुत्री इलाविलाको पुलस्त्य ऋषिसँग विवाह भयो । पुलस्त्यबाट विश्रवा ऋषिको जन्म भयो । विश्रवाकी पहिली पत्‍नीबाट (देवपुत्री) कुवेर र अर्की पत्‍नी (सुमालीपुत्री) कैकसीबाट रावणको जन्म भयो । कैकसी दैत्यकूलकी थिइन् ।

उता अर्का पुत्र शर्यातिको सुकन्या नामकी पुत्री थिइन् । यिनको बाल्यावस्थामै च्यवन ऋषिसँग विवाह भयो । च्यवन भृगुपुत्र थिए । कथाअनुसार च्यवन र सुकन्याको ठूलो उमेर अन्तर देखिन्छ । सुकन्याबाट दधिचि ऋषिको जन्म भयो । दधिचिबाट और्व र और्वबाट ऋचिक जन्मिए । ऋचिकले गाधीपुत्री सत्यवतीसँग विवाह गरे । ऋषि विश्वामित्र गाधीका पुत्र हुन् ।सत्यवतीबाट जमदग्‍नी र जमदग्‍नीबाट परशुरामको जन्म भयो ।

दधिचिको हत्या र और्वको जन्मबीच भार्गवहरूको हैहेय वंशीसँग ठूलो लडाइँ भएको देखिन्छ । भार्गवहरू हैहेयका पुरोहित थिए । हैहेय वंशीलाई अनावृष्टिले दुःख दिँदा भार्गवले साथ नदिएको निहुँमा हैहेयहरूले भार्गवको वंश नाश गर्न खोजेका थिए । भार्गवहरूको भागाभाग भयो ।

और्वकी माता आफ्नो गर्भलाई लुकाएर प्रवासमा पुगेकी थिइन् । और्वको जन्म प्रवासमा नै भएको थियो । केही विद्वानका अनुसार अहिलेको अरव मुलुक और्वको नामबाट रहन गएको हो । अरव क्षेत्रलाई शुक्रको भूमि पनि भन्ने गरेको र भार्गवहरूको मूल थलो बताइन्छ । हैहेयको पुरोहित्याइँबाट लखेटिएर उनीहरू फेरि मूलभूमिमै फर्केका हुन सक्छन् । त्यसपछि हैहेय र भार्गवको द्वन्द्व लामो समयसम्म रह्यो ।

जमदग्‍नी पुत्र परशुरामले हैहेय सम्राट सहस्रबाहु अर्जुनको हत्या गरिदिएका थिए । अर्जुन र जमदग्‍नीको द्वन्द्वमा अर्जुन विजयी भएका थिए । परशुरामले पिताका शत्रुलाई हत्या गरेर बदला लिएका हुन् । यो द्वन्द्व हैहेय र भृगुको परम्परागत दुश्मनीको निरन्तरता नै ठहरिन्छ ।

परशुरामले पछि पृथ्वीबाट पटक–पटक क्षेत्रीयहरूलाई नष्ट गरेको कथा पाइन्छ । मेरो अनुमानमा परशुरामले यिनै हैहेय वंशीको समूल नष्ट गर्न खोजेको हुन सक्छ । यिनै हैहेय नै आर्यावर्तको मूल क्षेत्रिय हुन् भन्ने मेरो अनुमान हो ।

यस अर्थमा हैहेय अर्थात यिनै क्षेत्रिय नै खस रूपमा चिनिएका हुन सक्छन् । खसहरूलाई वैदिकहरूले व्रात्य मान्ने गरेको कुरा यहाँ स्मरणीय हुन्छ । देवकुलको एउटा हाँगोले राज्य सम्हाल्न थालेपछि आफूहरूलाई पनि क्षेत्रीय भन्न थाले । यी क्षेत्रीय चाहिँ वैदिक र हैहेयहरू चाहिँ व्रात्य कहलिएका होलान् भन्ने अनुमान हो ।

हैहेयहरूले लखेटेपछि भार्गवहरूको अवस्था बडो दयनीय भयो । कतिसम्म भने परिवार पाल्नका लागि छोराछोरीहरू नै बेच्‍नुपर्ने स्थिति आएका प्रसङ्ग शास्त्रमा फेला पर्छन् । हरिश्चन्द्रको पुत्र रोहितको स्थानमा वलि दिन किनिएको किशोर भार्गववंशी नै थियो । कथाअनुसार त्यो अवस्थाबाट विश्वामित्रले उनीहरूको उद्धार गरेका थिए । उद्धार गरेर यी दास किशोरलाई विश्वामित्रले पुत्ररूपमा अपनाएका थिए । यो घटनाले दासप्रथाको विरुद्धमा विश्वामित्रको लडाइँलाई पनि सङ्केत गर्छ ।

विश्वामित्रले अपनाएका यिनै किशोर नै गालव हुन् भन्ने मेरो अर्को अनुमान हो । शास्त्रमा गालवको मातापिताको खासै चर्चा पाइँदैन । गालव नाम नै सम्भवत घाँटीमा बाँधेर बेच्‍न राखिएको भएर रहेको हुन सक्छ ।

यो बीचमा कुनै समय देवकूलसँग पनि भार्गव (भृगुवंशी) हरूको द्वन्द्व विकास भएको देखिन्छ । भृगुवंशी ब्राह्मण भए पनि उनीहरूको वैवाहिक सम्बन्ध दैत्य र दानव कूलसंग बढी हुने गर्थ्यो । भार्गव र देवकूलको युद्धमा भार्गवले देवकूलका संरक्षक विष्णुलाई पाद प्रहार गरेका थिए । भार्गवको पाद प्रहारले विष्णुको छातिमा चोट लागेको थियो । विष्णुको छातीको चोटलाई भृगुलाञ्छन भन्ने गरिन्छ । देवराज इन्द्रले दधिचि ऋषिको शरीरको हड्डीबाट बनेको बज्रले वृत्रको हत्या गरेको कथाले यो द्वन्द्वको इतिहासलाई सङ्केत गर्छ ।

दधिचि भृगु वंशी नै थिए । भृगु वंशीको दधिचिको हड्डीको व्रज बनाएको कथाअनुसार देवताले भृगु वंशीलाई नष्ट गर्न खोजेको बुझिन्छ । त्वष्टापुत्र वृत्र पनि भृगुवंशी नै हुन् । इन्द्रले भृगुवंशभित्र खेलेर उनीहरूलाई सिध्याउने प्रपञ्च रहेको देखिन्छ यी कथाहरूको सङ्केतअनुसार ।

त्वष्टा भृगुकी दैत्यकूलकी कन्याबाट जन्मेका र दधिचि भृगुकी दानवकूलकी कन्याबाट जन्मेका हुन् । दधिचि च्यवनका पुत्र हुन् । इन्द्राणी शची पनि दानवकूलकै थिइन् ।दधिचि देवताहरूको विश्वासपात्र थिए । दैत्यहरूबाट लेखेटिएका इन्द्रादि देवता दधिचिको आश्रममा शरण लिएका र देवताहरूको शस्त्रअस्त्र दधिचिको आश्रममा लुकाइएको कथा पनि पुराणहरूमा पाइन्छ । दधिचिका आश्रममा रहेकाले दैत्यहरूले देवताहरूलाई आक्रमण गरेका थिएनन् ।

देवकूल (अदितिका सन्तान) र दैत्य (दितिका सन्तान) तथा दानव भनिने (दनुका सन्तान) बीचको झगडालाई घर–झगडाकै बिस्तृत रूप बुझिन्छ । दिति, अदिति र दनु दिदीबहिनी थिए । यिनीहरू तीनैजनाको कश्यपसँग विवाह भएको थियो । देवताहरूले दानव र दैत्य (अझ खास गरेर दैत्यहरूसँग ज्यादा) वंशीहरूलाई सिध्याउने प्रपञ्च पटक–पटक रचेका देखिन्छ । दिति जेठी र दितिका सन्तान दैत्यहरू वंशको उत्तराधिकारमा अगाडि आउने सम्भावना बढी भएकोले इन्द्रले दानव भन्दा दैत्यको संहारलाई मुख्य लक्ष्य राखेका देखिन्छ । इन्द्रकी पत्‍नी शची दानव कूलकी थिइन् ।

इन्द्रपदमा बसेका नहुष शचीसँग आकर्षित हुनुलाई यिनको पतनको कारण बताइन्छ । इन्द्रपदमा बसेको व्यक्ति स्वाभाविकरूपमा शचीका पति हुने तत्कालीन प्रचलनअनुसार नहुषले शचीलाई अपनाउन खोजेको हुन सक्छ । तर शची यसको विरुद्धमा थिइन् । नहुषले शचीसम्म पुग्‍न ऋषिहरूलाई माध्यम बनाएका थिए । यिनै ऋषिहरूले वृहस्पति समेतको समर्थनमा नहुषलाई स्वर्गबाट निष्काशित गरेको र शचीले इन्द्रबाहेक अरूसँग विवाह गर्न अस्वीकार गर्नुलाई पनि जोडेर हेर्न सकिन्छ ।

मुख्य कुरा के भने अथर्व वेद भृगुवंशीको रचना हो । विश्वकर्माले गर्ने भनिएका विज्ञान र शिल्पसम्बन्धी कर्मलाई अथर्व वेदले समेटेको देखिन्छ
राम लोहनी

सम्भवतः यो घटना एकपति प्रथातर्फको सुरुवात थियो । एकपति प्रथाको प्रसङ्ग वृहस्पतिका दाजु उतथ्यपुत्र दीर्घतमा र गौतमवंशी आरुणीपुत्र श्वेतकेतुका कथाहरूमा पनि जोडिएर आउँछ ।

वृत्र यज्ञकर्ता ऋषि थिए । विश्वकर्मापुत्र त्रिशिराको नेतृत्वमा इन्द्रले यज्ञ गरेका थिए । त्रिशिरा विश्वकर्माकी दैत्यकुलकी कन्या कृतिबाट जन्मेका थिए । विश्वकर्मा (त्वष्टा) का पिता शुक्र र माता भुवना थिइन् । भुवना अङ्गिराकी पुत्री भएकीले अङ्गी पनि भनिन्थ्यो । भुवना देवगुरु वृहस्पतिकी बहिनी थिइन् ।

विश्वकर्माको शिल्पविद्याको स्रोत भुवनालाई मानिन्छ । त्रिशिरा आफ्नो मावली कुल दैत्य भएकाले यज्ञ भाग देवकुललाई मात्र नदिएर दैत्य कुललाई पनि दिने गर्थे । देवराज इन्द्र दैत्यकुललाई यज्ञभाग दिने कुराको उग्र विरोधी थिए । त्रिशिरालाई तीन शिर भएका र असाधारण रूपले सुन्दर पुरुषको रूपमा चित्रण गरेको पाइन्छ । साथै त्रिशिरा त्यत्तिकै विद्वान पनि थिए ।

शत्रु दैत्यकुललाई यज्ञभाग दिएको भनेर इन्द्रले आफ्ना पुरोहित त्रिशिराको हत्या गरिदिए । पुत्र त्रिशिराको हत्या गरिदिएकोले त्वष्टाले इन्द्रलाई मार्न सक्ने पुत्र जन्माउनका लागि यज्ञ गरेका थिए । यज्ञको फलस्वरूप वृत्रको जन्म भएको बताइन्छ । तर, पछि वृत्रलाई इन्द्रले छल गरेर हत्या गरिदए । वृतको हत्या द्वन्द्वयुद्धमा भएको बताइए पनि मित्रताको आडमा इन्द्रले छल गरेर वृत्रको हत्या गरेका थिए । त्रिशिरालाई पनि इन्द्रले लुकीछिपी बन्चरो प्रहार गरी हत्या गरिदिएका थिए ।

आफ्नै पुरोहितको हत्या गरेकाले ब्रह्महत्याको डरले इन्द्र इन्द्रासन छोडेर भाग्दै हिँडिरहेका थिए । इन्द्रलाई लुकिछिपी भाग्‍नुमा दैत्यहरूसँगको भय पनि मुख्य कारण हुन सक्छ । इन्द्र स्वर्गबाट भागेको समयमा देवताहरूले नहुषलाई इन्द्रासनमा बसालेका थिए । पछि वृहस्पतिले इन्द्रलाई ब्रह्महत्याबाट पतिया दिएर पुनः इन्द्रासनमा बसालेपछि नहुषलाई स्वर्गबाट निष्काशन गरिएको थियो । कथाअनुसार नहुषलाई नाग बन्ने श्राप दिइएको थियो ।

नागवंशी नहुषलाई इन्द्रासन दिनु पनि रहस्यपूर्ण देखिन्छ । नाग कसरी इन्द्र बन्न सक्षम भए भन्ने खोजको विषय हो । शास्त्रमा इन्द्रलाई नागको संरक्षक बताउने गरिन्छ । इन्द्रको सारथीको छोराको विवाह पनि नागकन्यासँग भएको थियो । पछिल्लो कालमा जन्मेजयले गरेको सर्पसत्रबाट बच्‍न तक्षक नाग इन्द्रको संरक्षणमा थियो ।

नहुष पनि भृगु वंशकै थिए । शुक्रका अर्का पुत्र अत्रिका वंशका थिए नहुष । अत्रिबाट चन्द्रमाको जन्म भयो । चन्द्रमाले वृहस्पति पत्‍नी ताराबाट बुधलाई जन्माएका थिए । बृहस्पतिलाई छोडेर चन्द्रमासँग बिहे गरेकी तारालाई पछि देवताहरूले वृहस्पतिलाई नै फिर्ता गराइदिएका थिए । वैवश्वत मनुका नरिश्यन्ति, शर्या्ति आदि दशपुत्रबाहेक एक पुत्री पनि थिइन्– इला । बुधको विवाह इलासँग भयो । इलाबाट पुरुरवाको जन्म भयो । पुरुरवा र उर्वशी अप्सराको प्रेमकथा ऋग्वेदमा वर्णित छ । नहुष पुरुरवाका पुत्र थिए । (कतै नहुषलाई आयुका पुत्र र आयुलाई चाहिँ पुरुरवाको पुत्र पनि भनिएको छ ।)

नहुषका पुत्र ययाति थिए । यिनै ययातिकी पुत्री माधवी विश्वामित्रका अन्तेवासिन गालवलाई श्यामकर्ण घोडाको सट्टा दिइएको थियो । पृथ्वीमा चन्द्रवंशको राज्य स्थापना बुधबाट भएको हो । कौरव, पाण्डव चन्द्र वंशका थिए । आर्यावर्तको अर्को प्रमुख सूर्य वंशचाहिँ वैवश्वत मनुबाट भएको बताइन्छ । राम र रावण दुबै मनुका सन्तान भएका कथाअनुसार दुबै सूर्यवंशी ठहरिन्छन् ।

यसप्रकार विश्वकर्मा मूलतस् भार्गववंशी ब्राह्मण हुन् । वृहस्पतिलाई देवगुरु स्वीकार्नुभन्दा पहिला त्वष्टापुत्र विश्वरूप (त्रिशिरा) नै देवताको पनि पुरोहित थिए । त्रिशिरा एकसाथ देवकूल र दैत्यकूलको गुरु रहेको देखिनु उल्लेखनीय कुरा हो ।

भार्गवंशका अथर्वले चौथो वेद अर्थात अथर्व वेदको रचना गरेका हुन् । वेद भनेर मूलत ऋक, साम र यजुर मात्र मान्ने र अथर्व वेदलाई अन्तिम वा वेद नै नमान्ने प्रचलन पनि देखिन्छ । यसको कारणतर्फ विचार गर्दा यसो हुनुको कारण अथर्व वेदका प्रणेता भृगुवंशी भएकोले हुन सक्छ ।

अथर्व वेदका रचयिता भनेर मानिने अथर्वणलाई पूर्वजन्ममा असुर थिए भनेर मानिएको आधारमा पनि अथर्व वेदको संबन्ध देवताहरूसँग देखिँदैन । अथर्वणलाई दधिचिका पिता भनिएकोले अथर्वण भनेर च्यवनलाई भनिएको हो कि भन्ने शंका गर्न सकिन्छ । किनभने दधिचि च्यवनका पुत्र थिए । तर, भृगुवंशीहरूलाई पछिसम्म पनि अथर्वण भन्ने गरिएबाट अथर्वण भनेको खास व्यक्ति मात्र नहुन पनि सक्छ ।

मुख्य कुरा के भने अथर्व वेद भृगुवंशीको रचना हो । अथर्ववेदमा देवस्तुति बाहेक चिकित्सा, विज्ञान, दर्शन आदिका मन्त्र पाइन्छ । यस दृष्टिले हेर्दा विश्वकर्माले गर्ने भनिएका विज्ञान र शिल्पसम्बन्धी कर्मलाई अथर्व वेदले समेटेको देखिन्छ ।

अथर्व वेदलाई अन्य वेदसरह नमान्नुमै कहीँ न कहीँ आजको समाजको विकसित रुप हो । पछिल्लो समय भृगुहरूको देवकूलसँग लसपस बढ्दै गएपछि भृगुशत्रु हैहेयहरूको उल्लेख देवोपाख्यान गर्ने शास्त्रहरूमा हराउँदै गयो । हैहेयहरूको सम्बन्ध पनि वैदिकसँग कम हुन थाल्यो ।

(लोहनी त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका प्राचार्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment