Comments Add Comment

सन्दुक रुइतको जीवनी असोज ११ गते सार्वजनिक हुने

१ असोज, काठमाडौं । विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी असोज ११ गते सार्वजनिक हुने भएको छ । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कार पाएका डा. रुइतले भने आफ्नो जीवनी  नेपालीमा अनुवाद भएर आउन लागेकामा हर्षित भएको बताएका छन् । ‘मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्‍यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु’ उनले भनेका छन् ।

पुस्तक अनुवादक खगेन्द्र सङ्ग्रौलाले सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत सादा जीवन, उच्च विचारको आदर्शले शोभित शानदार रहेको बताए । ‘रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ’ उनले भने ।

प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु सौभाग्य भएको बताए । ‘मलाई लाग्छ, जोन उडको ‘माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्म’ले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ’ उनले  भने ।

उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment