Comments Add Comment

विवाह पछि चाडै बच्चा जन्माउनु कति ठिक ?

विवाह पछि दम्पतीले आफ्नै कोखको बच्चा हुर्काउने रहर हुन्छ । त्यसैले कतिपय नव-दम्पती आमाबुवा बन्न हतार गर्छन् । उनीहरु आफ्ना सन्तानलाई खेलाउने, हुर्काउने सपनामा मग्न हुन थाल्छन् ।

पक्कैपनि विवाह गरेपछि आफ्नै कोखको सन्तानको आशा गरिन्छ । स्वभाविक पनि हो यो । दम्पतीलाई कसैले आमा वा बुवा भनेर सम्बोधन गरेको सुन्ने रहर हुन्छ । जसै बच्चा जन्मन्छन्, दम्पतीबीचको सम्बन्ध अरु कसिलो हुन्छ । उनीहरुको आफ्नो बेग्लै संसारको रचना हुन्छ ।

तर, विवाह गरेपछि लगत्तै बच्चा जन्माउँनु कति उपयुक्त हुन्छ ?

किनभने कतिपय दम्पतीले विवाह लगत्तै बच्चा जन्माउने योजना बुन्न थाल्छन् । कतिपयले भने यसमा हतार गर्दैनन् । उनीहरु आफुलाई अरु परिपक्क बनाएपछि मात्र बच्चा जन्माउने कुरा सोच्न थाल्छन् ।

हजुरबा-हजुरआमाको रहर 

त्यसो त बच्चा जन्माउने कुरामा दम्पतीले सोचेर मात्र पनि पुग्दैन । कतिपय अवस्थामा उनीहरुलाई पारिवारिक दबाव पनि हुन्छ । खासगरी आमाबुवाले आफ्ना नाती-नातिनी खेलाउने रहर गर्छन् । त्यसैले उनीहरुले आफुलाई नाती-नातिनी खेलाउने रहर भएको कुरा व्यक्त गरिरहन्छन् । यसले पनि दम्पतीलाई बच्चा जन्माउनुपर्ने वाध्यता आइपर्छ ।

समाजको चासो

अर्कोतिर हाम्रो समाज पनि यस्तो कुरामा बढी नै चासो दिन्छन् । चियोचर्चा गर्छन् । उनीहरुबाट दम्पतीले सधै एउटै प्रश्न झेल्नुपर्छ, ‘बच्चा कहिले जन्माउने ? किन बच्चा जन्माउनेबारे नसोचेको ?’ अझ विवाह गरेको केही बर्ष वित्दा समेत बच्चा भएन भने समाजले ति दम्पतीमाथि शंकाको दृष्टिले हेर्न थाल्छन् । के कारणले बच्चा नभएको हो ? कुनै प्रजनन समस्या हो ? दम्पतीबीच मेल-मिलाप पो नभएको हो कि ?

यसरी समाजले चियोचर्चा गर्न थालेपछि पनि कतिपय दम्पतीलाई बच्चा जन्माउनुपर्ने दबाव रहन्छ ।

दम्पतीको उमेर

हामीकहाँ भनाई नै छ, विवाह भनेको आफ्नो हातको कुरा होइन । अर्थात विवाहको लागि उपयुक्त समय जुर्नुपर्छ । आफुले चाहेकै अवस्थामा विवाह गर्न सकिन्छ भन्ने हुँदैन ।

हामीकहाँ विवाहको औसत उमेर २५ देखि ३० बर्ष मानिन्छ । यत्तिका उमेरभित्र विवाह गरेमा घरबार सम्हाल्न सहज हुन्छ भन्ने सोचाई छ । यद्यपि आफुले चाहेकै उमेरमा विवाहको मेलोमेसो मिल्छ भन्ने हुँदैन । चाहेर पनि कतिपयले निश्चित उमेरमा विवाह गर्दैनन् । अलि ढिलो उमेरमा विवाह गर्न पुग्छन् । यसरी ढिलो उमेरमा विवाह गर्ने दम्पतीलाई पनि चाडै बच्चा जन्माउनुपर्ने वाध्यता रहन्छ । उमेर ढल्किसकेपछि बच्चा जन्माउँदा शारीरिक रुपमा पनि समस्या आउनसक्ने भएकाले उनीहरु हतार गर्छन् ।

विवाहपछि सन्तानको योजना

यदि सही समयमा विवाह गरिएको छ भने र अरु किसिमको वाध्यत्मक अवस्था छैन भने विवाह लगत्तै बच्चा जन्माउने तयारी त्यती उपयुक्त हुँदैन । बच्चा जन्माउने हतार गर्दा पछि कतिपय समस्या आइलाग्छ ।

खासगरी विवाह लगत्तै श्रीमान र श्रीमतीले एकअर्कालाई राम्ररी बुझेका हुँदैनन् । उनीहरुले आफ्नो भावना, इच्छा, आकंक्षा, योजनाहरु साझेदार गरिसकेका हुँदैनन् । त्यसैले उनीहरु यी कुरामा एकाकार हुन केही समय लाग्छ ।

साथसाथै दाम्पत्य सुख भोग गर्नका लागि पनि उनीहरुलाई समय चाहिन्छ । विवाह गरेपछि उन्मुक्त रुपमा दाम्पत्य जीवन विताउनका लागि उनीहरुलाई समय आवश्यक हुन्छ । घुमफिर, रोमान्समा उनीहरुले समय विताउन सक्छन् । एकअर्काको रुची र आकंक्षा पुरा गर्न सक्छन् । आफ्नो करियरका बारेमा अरु सर्तक भएर अगाडि बढ्छन् । उनीहरुले एकअर्काप्रति माया साटासाट गर्छन् ।

यदि विवाहलगत्तै बच्चा जन्मिएमा दम्पतीहरु बच्चामा केन्दि्रत हुनुपर्ने हुन्छ । उनीहरुले एकअर्कालाई भुलेर बच्चाको स्यहारसुसारमा लाग्नुपर्ने हुन्छ ।

त्यसैले नव दम्पतीले विवाहपछि कहिले बच्चा जन्माउने भन्नेमा योजना बनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment