Comments Add Comment

संविधान कार्यान्वयनमा जुट्न राष्ट्रपति र उपराष्ट्रपतिको आह्वान

३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छन् ।

संविधान दिवस, ०७६ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् ।

तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उनले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरूप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको भन्दै राष्ट्रपतिले मुलुकवासीलाई आश्वस्त पारेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न पनि सबैमा आग्रह गरेकी छन् । ‘लामो संघर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गर्दछु’, राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भनेकी छन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यसको कार्यान्वयनमा जुट्न सम्पूर्ण देशवासीमा आह्वान गरेका छन् ।

नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकताको सुदृढीकरणका लागि संविधान कार्यान्वयनमा जुट्नुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ ।

जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै उनले संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्ने र यसका लागि सरकार र सरोकारवाला पक्षले प्रभावकारी कार्य गर्नुपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment