Comments Add Comment

वीरगञ्जमा संविधान दिवस : जिसस संयोजक र मेयरद्वार बहिष्कार

३ असोज, वीरगञ्ज । मधेस आन्दोलनको केन्द्र वीरगञ्जमा पनि शुक्रबार बिहान संविधान दिवस मनाइएको छ ।

संविधान दिवस जिल्ला समारोह समिति पर्साको आयोजनमा विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, सुरक्षा निकाय, युवा विद्यार्थीको सहभागितामा दिवस मनाइएको हो ।

तर, दिवसको अवसरमा आयोजित कार्यक्रममा मधेसी दलका जनप्रतिनिधि, नेता र कार्यकर्ताहरु भने सहभागी भएनन् ।

राजपाले दिवसको विरोधमा कार्यक्रम तय गरेको छ भने संघीय समाजवादी पार्टीले दिवस पनि नमनाउने विरोध पनि नगर्ने रणनीति लिएको थियो ।

सोही अनुसार समाजवादी पार्टीका तर्फबाट विजयी भएका जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महम्मद अन्सारी र वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी कार्यक्रममा सहभागी भएनन् ।

कार्यक्रममा मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुप्रति भने अबिर र फूल चढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानकै सपथ खाएर संघ, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्ने, सत्ता भोग गर्ने तर विरोध गर्ने प्रवृत्ति गैरराजनीतिक चरित्र भएको टिप्पणी गरे ।

संविधानसभा सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले संविधानमा केही छैन भन्नु गलत भएको बताए ।  संविधानमा केही कमजोरी रहेको र त्यसलाई सबै मिलेर संसोधन गरेर मिलाउन सकिने उनको भनाइ छ ।

नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले खल्तीमा आएको पैसालाई पहिला जोगाउने वा भुँईको टिप्नतिर लागेर खल्तीको गुमाउने भन्दै त्यसबारे सोच्नु पर्ने बताए ।

जनकपुर उच्च अदालत अस्थायी इजलासका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले माटो र जनताले बगाएको रगतलाई सम्झेर नै संविधान बनाइएको बताए ।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले जसले संविधानको पाना पल्टाउँदा पनि आफ्नै ठान्ने बनाउन बाँकी रहेको बताए ।

नेकपा जिल्ला अध्यक्ष प्रभु हजाराले संघ, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्नेहरुले संविधानको विरोध गरेर नाटक गरेको आरोप लगाए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनतालाई सार्वभौम र राजकीय सत्ता सम्पन्न बनाएको दिनलाई सबैले उत्सवकै रुपमा मनाउनु पर्ने बताए ।

त्यसअघि दिवसको अवसरमा वीरगञ्जको घण्टाघर अगाडि रहेको विपी उद्यान -सशीद पार्क)बाट निकालिएको प्रभात फेरीले नगर परिक्रमा गरेको थियो ।

बाजागाजासहित निकालिएको र्‍याली घण्टाघर, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment