Comments Add Comment

ज्येष्ठ नागरिकलाई सुविधा दिँदा मनमोहनलाई पनि गिज्याएका थिए : मन्त्री भट्टराई

३ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकका लागि सुविधा दिन खोज्दा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई पनि गिज्याइएको भन्दै ज्येष्ठ नागरिकलाई विमान भाडामा छुट दिलाउने आफ्नो घोषणाको बचाउ गरेका छन् ।

संविधान दिवसका अवसरमा शुक्रबार मन्त्रालयमै प्रेस संगठनसँग आबद्ध पत्रकारहरुसँगको छलफलका क्रममा मन्त्री भट्टराईले आफ्नो सफलतासँग कम्युनिस्ट सरकारको सफलता जोडिएको र कम्युनिस्ट सरकारको सफलतासँग कम्युनिस्ट पार्टी र मुलुकको भविष्य जोडिएको बताए ।

७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिलाउने आफ्नो प्रयासलाई सघाउनुको सट्टा केही मान्छेले मिडिया प्रयोग गरेर खिल्ली उडाएको उनले आरोप लगाए । यस्तै अनुभव मनमोहन अधिकारीको सरकारले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई एक सय रुपैया मासिक भत्ता दिने निर्ण गर्दा पनि भएको उनले स्मरण गरे ।

मन्त्री भट्टराईले भने ‘ज्येष्ठ नागरिकलाई भाडा छुट दिलाउन मेरो घोषणालाई सघाउनुपर्नेमा उल्टै कतिपय नकारात्मक चिन्तन बोकेका मान्छेहरु खिल्ली उडाउनतिर लागे । हुन त यस्ता मान्छेले २५ वर्षअघि मनमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई सय रुपैया वृद्धभत्ता दिँदा पनि यसैगरी गिज्याएका थिए ।’

मन्त्रालय सम्हालेको डेढ महिनामा केही साना सुधारका काम गर्न खोज्दा पनि नकारात्मक सोच भएकाहरुले एकै ठाउँबाट नकारात्मक टिप्पणी उत्पादन गरी विभिन्न सञ्चारमाध्यमबाट आफूविरुद्ध प्रवाह गराएको भन्दै मन्त्री भट्टराईले दुःख व्यक्त गरे । तर आफू नकारात्मक प्रचार गर्नेहरुसँग कहिल्यै नरिसाउने समेत उनले बताए ।

मन्त्री भट्टराईले भने ‘मेरो विरोधमा जे जे प्रचार गरे पनि गर्नुस् । राष्ट्रपतिको विरोध गर्नुस् । प्रधानमन्त्री केपी ओली र हाम्रो पार्टी अध्यक्ष प्रचण्डको पनि विरोधमा लेख्नुस्, बोल्नुस् । तर यसो गरिरहँदा देशविरुद्ध नलाग्नुस् । हामी विरोध सहन बानी भइसकेका छौं । तर हाम्रो रिसले देशलाई हानी हुने कुरा नगरौं ।’

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका उनले यो सरकारको सफलतासँग कम्युनिस्ट पार्टी र जनताको भविष्य गाँसिएकाले आफू व्यक्तिगत रुपमा सफल हुने भन्दा पनि सिंगो सरकार सफल बनाउनुपर्छ भन्ने मान्यतामा रहेको बताए । कम्युनिस्ट सरकार विरुद्ध अझ धेरै प्रचारबाजी हुने भन्दै नेकपा पंक्ति एकजुट हुनुपर्ने भट्टराईको भनाइ छ ।

मन्त्री भट्टराईले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी मार्चसम्ममा सञ्चालनमा आइसक्ने भन्दै भारतसँग नेपालगन्ज वा महेन्द्रनगरको हवाई रुटको लागि छलफल भइरहेको समेत बताए । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र त्यसमा नेकपाको प्रतिष्ठासमेत गाँसिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment