Comments Add Comment

‘प्रायोजित हल्लाका भरमा राष्ट्रिय झण्डा फेरिँदैन’

३ असोज, काठमाडौं । घरका भित्ताभरि अमूर्त चित्रहरु । र्‍याकभरि धर्मगन्थ र दर्शनशास्त्रका किताब । अनेक पेन्टिङ र मूर्ति । ठूलो क्यानभासमा नेपालको राष्ट्रिय झण्डाको पेन्टिङ । कुनै कला संग्रहालय जस्तो लाग्ने यो शंकरनाथ रिमालको घर हो ।

शंकरनाथ रिमाल अर्थात मुर्धन्य आर्टिटेक्ट इन्जिनियर । उनको इन्जिनियरिङ करिअर काठमाडौंको शहीद गेट डिजाइनबाट सुरु भएको थियो । कालान्तरमा उनले सोल्टी होटल, नेपाल प्रज्ञा प्रतिष्ठान, जनकपुर चुरोट कारखाना, महेन्द्र मञ्जिल, लुम्बिनी चक्र, उन्मत्त भैरव मन्दिरलगायतका अनेकौं इमारत, मन्दिर, आधुनिक वस्ती तथा कलकारखानाको डिजाइन गरे । उनको पछिल्लो डिजाइन चन्द्रागिरी केबलकार कम्पनीको भालेश्वर मन्दिर हो ।

अनेकौ अमूर्त चित्र, दर्शनशाश्त्र र धर्मग्रन्थहरुको बीचमा बसेर हामीलाई कुरिरहेका रिमाललाई पहिलो प्रश्न ‘तपाईं खासमा को हो ?’ भनेर गरियो । मुसुमुसु हाँस्दै उनी बोले, ‘मेरा हजुरबुबाले मलाई दिनुभएको नाम शंकरनाथ हो, म त्यही हुँ । खासमा म एउटा पात्र हुँ ।’

रिमाल एक सर्जक हुन्, जो सिर्जना गर्दा आनन्दित हुन्छन् । उनी कुनै ‘फर्म्याट’ मा वा योजना बनाएर काम सिर्जना गर्दैनन् । उनले जे जति गरेँ, ती सबै सिर्जनाको ‘मूड’ अनुसार गरे ।

‘पेन्टिङको मूड चल्दा पेन्टिङ, डिजाइन गर्ने मुड चल्दा डिजाइन गर्छु’, ८५ वर्षीय रिमालले कोठाको भित्तातिर देखाउँदै भने, ‘यस्तो बनाउँछु भनेर पहिल्यै सोचेर, कल्पेर बनाएको होइन ।’

रिमालले ब्रस चलाउन थालेपछि क्यानभास आफैंले रंग माग्छ । उनी रंग भर्दै जान्छन् । त्यसैले कसैले ‘यस्तो बनाऊ…’ भन्दा आफूले नसक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘त्यसो गर्न थालेँ भने म फस्छु, सर्जक रहन्न ।’

यो उमेरमा पनि उनको शारीरिक–मानसिक चमक यथावत छ । स्मरणशक्ति उस्तै छ । आँखालाई चश्माको सहारा चाहिएको छैन । आफ्नो विषयवस्तुको जानकारीका हिसाबले उनलाई ‘इन्साइक्लोपेडिया’ भनिदिए फरक नपर्ला । यो भेटमा भने हामी रिमालले नेपालको राष्ट्रिय झण्डा डिजाइन गर्दाको अन्तर्कथामा केन्द्रित भयौं । नेपालको ठूलो झण्डा देखाउँदै उनले भने, ‘पत्याउनुहुन्न होला, यो पेण्टिङ बनाउन मलाइ ठ्याक्कै छ वर्ष लाग्यो ।’

राष्ट्रिय झण्डाको डिजाइन गर्ने प्रस्ताव कोबाट, कसरी आयो ?

नेपालको झण्डामा दुईवटा त्रिकोण, निलो छेउ र सेतो चन्द्र–सूर्य छ । यो कुनै नयाँ डिजाइन नभएर पौराणिक कालदेखिको छ–सात हजार वर्ष पुरानो झण्डा हो । उतिबेला अनेकौं राज्य, गणराज्य थिए । त्यो बेला यो झण्डालाई कसैले अपनाए होलान्, कसैले अपनाएनन् । नेपाल राज्य भन्नेहरुले चाहिँ यही झण्डा प्रयोग गर्थे ।

पहिलेका धेरै राजाहरुले झण्डामा केही न केही फरक बनाएका थिए । ‘थिम’ उस्तै भए पनि आकार र रंगमा केही न केही फरक पार्थे । नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएपछि भने झण्डाको प्रश्न चोटिलो बन्यो । राजा जाँदा एउटा, प्रधानमन्त्री जाँदा अर्को, राजदूत निवासमा अर्को झण्डा हुने स्थिति आएपछि राष्ट्रसंघले नै एक रुपता भएको नेपालको झण्डामा माग गर्‍यो ।

त्यसपछि झण्डा बनाउन एउटा कार्यदल गठन भयो, जसमा कृष्णप्रसाद पन्त भन्ने व्यक्ति पनि थिए । त्यो बेला मैले शहीद गेट, नेपाल प्रज्ञा प्रतिष्ठान, सोल्टी होटल, अमृत साइन्स कलेजलगायतको डिजाइन गरेर ‘स्टाबलिस्ट आर्किटेक्ट’ भइसकेको थिए । कार्यदलका पन्तले सोधखोज गर्ने क्रममा डा. बलराम जोशीले दर्शनशास्त्रसमेत जानेको भन्दै मेरो नाम सिफारिस गरिदिएछन् । त्यसरी आधुनिक नेपालको झण्डा डिजाइन गर्ने प्रस्ताव मकहाँ आइपुग्यो ।

झण्डाको आकार–प्रकारबारे कार्यदलको निर्देशन थियो तपाईं आफैंले सिर्जना गरेको ?

मैले अघि नै भने, नेपालको झण्डा छ–सातहजार वर्ष पुरानो हो । मैले त्यसैलाई रि–डिजाइन गरेको । त्यसकारण, आफूलाई यो झण्डाको डिजाइनर भनेर चिनाउँदिन ।

प्रस्ताव आएपछि दर्शनशाश्त्र, वास्त्रुशाश्त्र, हाम्रो संस्कार, संस्कृति र परम्पराको थप अध्ययन गरेर झण्डालाई पुरानै स्वरुपमा रि–डिजाइन गरेको हुँ ।

झण्डाको रि–डिजाइनको अर्थ ?

अहिलेको झण्डाको साइज तीन बाई चार फिट छ । यसलाई ‘अनन्त’ भनिन्छ । अनन्तको अर्थ नेपाल अनन्त कालदेखिको देश हो र अनन्तकालसम्म रहिरहन्छ भन्ने हो । अब सिम्रिक रङ किन ? भनेर सोध्नुहोला । यो खुशी, उर्जा, हर्षोउल्लास र सौभाग्यको रङ हो । यो बहादुरी र साइतको रङ पनि हो । यसलाई पनि कायम गर्नै पर्‍यो ।

अब निलो रङ किन भनेर सोध्नुहुन्छ भने यो आकाश, अन्तरिक्ष, पानी, अनन्त शान्ति बुझाउने रंग हो । यो पनि राख्नै पर्यो । अनि चन्द्र–सूर्यलाई लिएर गहन अध्ययन गर्दा धेरै ठाउँमा धेरै व्याख्या भेटेँ । तीमध्ये सूर्य भनेको प्रज्ञा र चन्द्र भनेको करुणा भन्ने व्याख्या सबभन्दा राम्रो लाग्यो ।

कुनै मन्दिरमा चन्द्र माथि र सूर्य तल राखेको देखिन्छ । कतै चन्द्रमा तल र सूर्य माथि राखिएको छ । मैले झण्डामा चन्द्रमा माथि र सूर्य तल राखेको छु । यसका पछाडि करुणा माथि र प्रज्ञा तल राख्नुपर्छ भन्ने मान्यता छ । अहिले ग्राफिक्स डिजाइनको हिसाबले पनि यही उपयुक्त भयो । चन्द्रको १६ र सूर्यको १२ गला हुन्छ । यसले ग्राफिक्स पनि चिटिक्क देखिएको छ ।

अब कुरा बाँकी रह्यो सेतो रङको । सेतो सत्य र पवित्रताको प्रतीक हो । यसरी सबै कुरा मिलाउँदा पुरानो मान्यता पनि कायम भयो, नयाँ झण्डा पनि बन्यो । वास्तुशाश्त्र, दर्शनशाश्त्र सबैको महत्व पनि बोक्यो । हरेक आकृतिको आफ्नै व्याख्या हुन्छ । हाम्रो झण्डाको व्याख्या यही हो ।

झण्डाको डिजाइनमा कुल कति समय लाग्यो ? त्यो बेला कति वर्षको हुनुहुन्थ्यो ?

जम्मा जम्मी तीन हप्ताजति लाग्यो । यो २०१८ सालको कुरा हो, त्यो बेला म २७ वर्षको थिएँ ।

डिजाइन पहिलो पटकमै स्वीकृत भयो कि फेरि बनाउनु पर्‍यो ?

संविधानमै आएपछि डिजाइन एकै पटकमा स्वीकृत भएछ भनेर थाहा पाएँ । मलाई कसैले केही भन्दा पनि भनेनन् र सोध्दा नि सोधेनन् । संविधानमा छापिएर आउँदा डिजाइनरमा मेरो नाम उल्लेख थिएन, कसैले झण्डाबारे मलाई कसैले व्याख्या गर्न पनि लगाएनन् । त्यसले झण्डाबारे कतिले गलत व्याख्या गर्ने ठाउँ पाए ।

झण्डा डिजाइन बापत कति पारिश्रमिक पाउनु भयो ?

आजको मितिसम्म एक रुपैयाँ पाएको छैन । काम गरेको पारिश्रमिक लिन बोलाएका छैनन् । अनि आजसम्म मैले माग्न जानेको छैन ।

कामको श्रेय र पारिश्रमिक दुवै नदिएको भनेपछि अन्याय भएको रहेछ, होइन ?

उबेला झण्डाको डिजाइनर म भन्ने कुरा दुई–चार जनालाई थाहा थियो । बीचमा लेखक दयाराम श्रेष्ठ ‘सम्भव’ले म कहाँ आएर यो झण्डाबारे आफ्नो किताबमा पाँच पाना जति लेखेका थिए । त्यसले मलाई पहिलेको भन्दा अलि धेरैजनाबीच चिनाएको थियो । २०६६ सालमा यो झण्डा राख्ने कि नराख्ने ? भनेर विवाद भएपछि यसको डिजाइनर पनि खोजी भयो । त्यो बेलाचाहिँ अलिक धेरै मानिसले डिजाइनर म भन्ने थाहा पाए ।

त्यो बेला यो झण्डाबारे तातो बहसमा मानिसहरुले आ–आफ्नै व्याख्या गरे । वास्तविक व्याख्या बुझ्नेहरुले विरोध गरेनन् । कतिपयले समयानुकुल भएन भने । त्यसयता राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्छ बनेर बहस भएको सुनेको छैन ।

अहिलेको परिस्थिति भएको भए झण्डाको डिजाइन कस्तो गर्नुहुन्थ्यो ?

अहिलेको समयमा पनि म पौराणिक मान्यतालाई निरन्तरता दिएर नै डिजाइन गर्थें । कतिपयले यो झण्डालाई हिन्दु धर्मसँग सम्बन्धित भनेर पनि हिँडे । तर दया र करुणा कुनै एक धर्मको मात्र आस्थासँग जोडिएको भन्ने हुँदैन । दया र करुणाले सबैलाई समेट्छ ।

फेरि परिवर्तनको अर्थ सबै कुरा भत्काउने, इतिहास बिर्सने भनेर लाग्दैन । परिवर्तन हुनुपर्छ, गर्नुपर्छ, तर इतिहास बिर्सेर गरेको परिवर्तन अर्थहीन हुन्छ ।

नेपालको हिजो बनेको देश होइन । शास्त्र नै पल्टाउने हो भने सदियौं पुरानो देश भन्ने लेखिएको छ । नलेखिएको इतिहास अझ कति होला । अलिअलि भएको इतिहास पनि मेटाउन त भएन नि ।

राष्ट्रिय झण्डालाई लिएर बेलाबखत निस्कने विवादको खास कारण के हुन सक्छ ?

नेपाल यस्तो रणनीतिक महत्वको भूभागमा छ कि यहाँ जो पनि खेल्न सक्छ । नेपालमा पसेर भारत, चीन, रसिया जसलाई पनि ‘थ्रेट’ दिन सक्छ । नेपालमा पसेर रजाई गर्न यहाँ झगडा नगराई सम्भव छैन । धर्म या जातीयताको नाममा कसैले झगडाको बिउ रोप्न खोजेकाले यस्तो देखिएको हुनसक्छ ।

यो विषयमा म पोख्त त होइन, तर शक्ति राष्ट्रहरुको ‘ग्लोबल पोलिटिक्स’का लागि नेपाल महत्वपूर्ण ठाउँ हो । त्यसैले बेलाबेला यस्ता भाडभैलो देखिएको हुनसक्छ ।

२०६६ सालपछिको छलफल र व्याख्याले राष्ट्रिय झण्डाबारे बिरोध साम्य भएको मान्न सकिन्न ?

मलाई लाग्छ, ९९ प्रतिशत विरोधी चुप भए । करुणा, प्रज्ञा, सत्य र पवित्रताको विरोध कस्ले गर्ने ? यो झण्डा परिवर्तन गर्नुपर्छ भनेर विरोध गर्ने थुप्रै मानिस यही ठीक रहेछ भन्ने भए । बाँकी १ प्रतिशत जो छन्, तिनीहरुले पनि विस्तारै बुझ्लान् ।

दुईवटा त्रिकोणले नेपालको झण्डालाई अरु देशहरुको भन्दा विल्कुलै फरक बनाइदिएको छ । यो डिजाइनको खास अर्थ छ कि ?

तपाईंलाई के लाग्छ, हाम्रो नेपाल नै अरु देशहरु भन्दा विशेष रुपमा फरक छैन ? नेपालमा विश्वकै अग्ला हिमाल र पहाडदेखि समथर भूभागसम्म छ । युरोप–अमेरिकामा हिमाल, पहाड त छन्, तर तिनलाई हामी थुम्का भन्छौं । हामीसँग धेरै कुरा भएर पनि केही गर्न सकेका छैनौं, यो फरक कुरा हो । नेपालमा जति ठूला हिमाल, पहाड, जंगल भए अमेरिकाले कति गथ्र्यो होला ? हाम्रो झण्डाको नीलो त्रिकोणले त्यही हिमाल, पहाड र जंगलको प्रतिनिधित्व गर्छ ।

यो झण्डालाई शाहवंशीय राजतन्त्रको प्रतीक मान्नेहरु पनि छन् नि ?

हाम्रो राष्ट्रिय झण्डा राजतन्त्र भन्दा धेरै पुरानो हो ।

राजा महेन्द्रले यो झण्डाको चन्द्र–सूर्यलाई चन्द्र वंश र सूर्य वंशको प्रतीक नमानेको भए स्वीकृत गर्थे होलान् र ?

झण्डामा सूर्य र चन्द्र कुनै वंश जनाउन, राजालाई रिझाउन राखेको होइन । यीनको अर्थ करुणा र प्रज्ञा हो । रङहरुको अर्थ माथि भनिसकेँ । पाकिस्तानको झण्डामा पनि चन्द्रमा छ, जापानको झण्डामा सूर्य छ । उनीहरुको व्याख्या छुट्टै होला । हाम्रो झण्डामा चन्द्र–सूर्य राख्नुको एकमात्र कारण आत्याध्मिक हो ।

यो कुरा अझै बुझाउन नसकेको जस्तो लाग्दैन तपाईंलाई ?

बुझ्नेले राम्रैसँग बुझिसके । बुझ्न नचाहने, प्रायोजित एजेण्डा बोकेर आउनेहरुलाई जे गरे पनि बुझाउन सकिँदैन । अधिकांश नेपालीले गलत ठानेर विरोध गर्न थाले भने एउटा कुरा, तर एकाध मानिसले प्रायोजित रुपमा भनेकै भरमा झण्डा परिवर्तन गर्न पनि सम्भव छैन ।

परिवर्तन त उत्तिकै अर्थपूर्ण र उद्देश्यमूलक पनि हुनपर्छ नि ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment