Comments Add Comment

विराटनगरमा छाप्राबाट एक करोड भाडा, महलबाट ३१ लाख

३ असोज, विराटनगर । विराटनगरको मुख्य बजार बुधहाट चोकस्थित व्यावसायिक भवन न्यून मुल्यमा भाडामा लगाएको पाइएको छ । महानगरको व्यावसायिक भवन ‘सी’ प्लटका सटरहरु मासिक सरदर १० हजार रुपैयाँमा भाडामा लगाइएको हो ।

विराटनगर बजार क्षेत्रमा सटर भाडा पाउन मुश्किल पर्छ । भाडा पाइहाले मासिक न्यूनतम ४० हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत सस्तो मुल्यमा महानगरको सटरहरु भाडामा लागाएको छ ।

सी प्लटमा ३० वटा सटरहरु छन् । उपभोक्ता समिति मार्फत पाँच वर्षकालागि ठेक्का दिएको महानगरले चालु आर्थिक वर्ष भाडा बापत ३१ लाख ९३ हजार प्राप्त गर्नेछ । तर सी प्लटसँगै रहेको डी प्लटको २० वटा सटरबाट महानगरले वार्षिक एक करोड भाडा पाउँछ ।

बुधहाट चोकमा महानगरका चारवटा प्लटहरु छन् । ए र बी प्लट नगर पार्कका लागि खाली गराइएको छ । सी प्लटमा व्यावसायिक भवन छ । डी प्लटमा भने वर्षाै पुराना सटरहरु छन् । ‘डी’ प्लटबाट महानगरले मासिक ८ लाख ७८ हजार भाडा उठाउँछ । तर सुविधा सम्पन्न ‘सी’ प्लटबाट भने मासिक २ लाख ६६ हजार मात्र भाडा संकलन हुन्छ ।

सी प्लटका ३० वटा सटर भाडा लगाउने गरी उपभोक्ता समिति र महानगरबीच २०७३ असार अन्तिमसाता सम्झौता भएको थियो । सो भवनको भुई तल्लामा बसेका व्यापारीले स्कायरफिटका आधारमा २० हजारदेखि माथि भाडा तिर्छन् । जुन बजार मुल्यमा आधा भन्दा धेरै कम हो । तर व्यपारीहरु भने महानगरको भाडा महंगो भएको बताउँछन् । उपभोक्ता समितिका अध्यक्ष रामअवतार शर्मा महानगरले लिएको भाडा अव्यवहारिक र महंगो भएको बताए ।

विराटनगर महानगरपालिका– ९ वडा अध्यक्ष विश्वनाथप्रसाद भगतले तुलनात्मक रुपमा सस्तो भाडामा लागेको बताउँदै समय आएपछि पूनमुल्याङ्कन गर्न सकिने बताउँछन् । जनप्रतिनिधि आउनु भन्दा अघि नै भाडा दिने सम्झौता भएको बताउँदै उनले समय पूरा भएपछि पूनरमूल्याङ्कन गर्ने बताए ।

महानगर र उपभोक्ताबीच भएको सम्झौतामा सी प्लटको भाडा वार्षिक २० प्रतिशतले बढ्ने उल्लेख छ । विस २०७३–७४ बाट पाँच वर्षका लागि ठेक्का लिएको उपभोक्ता समितिले पहिलो वर्ष १८ लाख ४७ हजार ९ सय ३० रुपैयाँ भाडा तिरेको थियो । दोस्रो वर्ष २२ लाख र तेस्रो वर्ष २६ लाख तिरको उपभोक्ता समितिले चालु आर्थिक वर्ष ३१ लाख ९३ हजार तिर्नेछ ।

विराटनगर महानगरपालिका राजस्व शाखाका प्रमुख राजेन्द्र प्रधानका अनुसार वार्षिक २० प्रतिशतका रुपमा बढ्ने गरी भएको सम्झौता अनुसार चालु आर्थिक वर्ष वार्षिक भाडा ३१ लाख ९३ हजार रुपैयाँ संकलन हुनेछ ।

सडकका कारण चलेन व्यापार, सटर छाड्न महनगरमा निवेदन

विराटनगर – ९ बुधहाट चोकमा महानगरपालिकाकाले उपभोक्ता समिति मार्फत सञ्चालन गरेको डी प्लटबाट गत असार अघिसम्म मासिक ३८४ रुपैयादेखि अधिकतम ३ हजार १ सय ५० रुपैयाँसम्म भाडा संकलन गर्दै आएको थियो । नयाँ टेण्डर लागेपछि महानगरले न्यूनतम २१ हजारदेखि अधिकतम १ लाख २८ हजारसम्म भाडामा लगाएको छ ।

तर सडक खराब भएका कारण एक वर्षका लागि सटर भाडामा लिएकाहरुले सटर छोड्ने तयारीमा पुगेका छन् । अस्तव्यस्त सडकका कारण व्यापार नभएपछि व्यापारीहरुले सटर खाली गर्न लागि निवेदन दिएका हुन् । महानगरपालिका राजस्व फाँटका प्रमुख प्रधानका अनुसार ६ जनाले सटर छोड्नका लागि निवेदन दिएका छन् ।

‘सी प्लट’ उपभोक्ता समितिका अध्यक्ष रामअवतार शर्मा व्यापार राम्रो नभएका कारण महानगरपालिकालाई भाडा बुझाउन पनि समस्या हुनेगरेको बताउँछन् । मुख्य सडकमा रहेका र भित्र रहेका सटरहरु स्वायर फिटका आधारमा भाडामा लाग्ने गरेको बताउँदै उनले व्यवसाय नचल्दा भाडा तिर्न पनि समस्या हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment