Comments Add Comment

समाजवादी पार्टीद्वारा संविधान दिवसको कार्यक्रम अवज्ञा

३ असोज, काठमाडौं । सरकारमा सहभागी समाजवादी पार्टी शुक्रबार टुँडिखेलमा आयोजित संविधान दिवसको मूल कार्यक्रममा सहभागी भएन । बरु समाजवादी पार्टीले छुट्टै कार्यक्रम गर्‍यो ।

संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारको उर्दी आफूहरुले असफल पारेको बताए । ‘प्रधानमन्त्रीले मैले जारी गरेको उर्दी मेरै सरकारमा रहेका साथीहरुले मान्दैन भन्ने बुझुनुपर्ने हो । सरकारको उर्दी समाजवादीले अवज्ञा गर्‍यो । यसलाई भद्र अवज्ञा भन्न सकिन्छ’ उनले भने ।

समाजवादी पार्टीका अध्‍यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री छन् भने अर्का नेता सुरेन्द्र यादव राज्यमन्त्री छन् । उपप्रधानमन्त्री यादव अमेरिका गएका छन् भने यादव नेपालमै भए पनि टुँडिखेलको कार्यक्रममा सहभागी भएनन् ।

पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले संविधान जारी भएदेखि नै संविधान संशोधन आवश्यक रहेको बताउँदै आए पनि ठूला दलहरुले बेवास्ता गरेको बताए । ‘संविधान जारी भएकै दिन नेपालको संविधान आधा गिलास भरी, आधा खाली रहेको भनेको थिएँ । त्यो धारणा अहिले पनि यथावत छ’ उनले भने ।

उनले जातीय र भाषिक पहिचानसहित प्रदेशको पुनः सीमांकन गर्नुपर्ने बताए । ‘पहिचानबिनाको संघीयता हुँदैन । हाम्रो अहिलेको संघीयता पञ्चायती शैलीको विकास क्षेत्र जस्तो भयो । यसलाई जातीय र भाषिक पहिचानका आधारमा पुनः सीमाङ्कन गरौं । यसले मात्रै समाधान दिन्छ र यो संविधानमा सबैले अपनत्व लिन सक्छन्’ उनले भने ।
उनले निर्वाचन खर्चिलो रहेको भन्दै प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित र पूर्ण समानुपाति संसद बनाउनुपर्ने धारणा राखे ।

वरिष्ठ नेता राईले संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्रीले झुक्याएको बताए । ‘संविधान संशोधन गर्छु आउ भनेर सरकारमा बोलाउने अहिले संविधान संशोधन भन्ने विषय दिनै पिच्छे गाउने गाना हो भन्ने ? प्रधानमन्त्रीको मनस्थिति पेण्डुलम जस्तो भयो ।’

नेता राईले संघीयता र संविधान सभा नै चाहिँदैन भन्नेहरु नै सरकारको नेत्ृत्वमा बिराजमान भएको टिप्पणी गरे ।

राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको प्रतिवेदन खै ?

निर्वाचन आयोगका पूर्व आयुक्त भोजराज पोखरेलले संविधान संशोधनको माग गर्ने शक्ति कमजोर हुँदै गएको बताए । असन्तुष्टिको स्वरलाई दबाएर नभई त्यसको सुनुवाइ गरेर जाँदामात्रै दिगो शान्ति स्थापना हुने उनको भनाइ छ ।

राज्य पुनर्संरचना उच्चस्तरीय आयोगका अध्यक्ष मदन परियारले आफू नेतृत्वको आयोगले दिएको प्रतिवेदन खै ? भन्दै प्रश्न गरे । पहिचान र सामर्थका आधारमा प्रदेशहरु निर्माण गर्ने आयोगको सुझाव रहेको र त्यो अनुसार प्रदेशहरु निर्माण नगर्दा संविधान दिवस सबैले मनाउन सक्ने वातावरण बन्न नबनेको उनको निश्कर्ष छ ।

समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष रेणु यादवले संविधान संशोधन हुँदै भन्ने लागेको दिन आफ्नो पार्टी सरकारबाट बाहिरिने बताइन् ।

‘सरकारमा आफ्नो हैसियतअनुसार सहभागी हुनु हाम्रो अधिकार हो । यसो भन्दैमा हामी पदका लागि सरकारमा गएका होइनौं । संविधान संशोधन गर्न दुई तिहाइ पुग्छ भनेर गएका हौं । संशोधन हुँदैन भन्ने लागेको दिन बाहिररिन्छौं’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment