Comments Add Comment

जनप्रतिनिधिद्वारा सिसडोल–बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी

५ असोज, काठमाडौं । सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन ।

धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा र ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति हालसम्म कार्यान्वयनमा नआएको भन्दै काठमाडौंको फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन नगर्न नदिने चेतावनी दिएका हुन ।

धुनिबेसी नगरपालिकाका मेयर आचार्यले सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको समस्या समाधान गर्न पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरेको भन्दै आपत्ति पनि जनाए । ‘बञ्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिन सकिदैन,’ मेयर आचार्यको चेतावनी थियो, ‘स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति कार्यान्वयन नभएकाले जनप्रतिनिधिको रुपमा आफूले सो ठाउँमा काठमाडौंको फोहोर फाल्न दिन मिल्दैन् ।’

संघीय संसदको विकास तथा प्रविधि समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँग आइतबार बोलाएको छलफलमा भाग लिँदै उनले आश्वासन दिने तर कामै नगर्ने सरकारले स्थानीय जनतालाई पटक–पटक झुक्याएको भन्दै आक्रोश व्यक्त गरे ।

बैठकमा ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलका जनतामाथि काठमाडौंले अन्याय गरेको भन्दै अव त्यहाँ फोहोर हाल्न नदिने चेतावनी दिए । दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनिए पनि १४ वर्षदेखि फोहोर फाल्दै आइरहेकाले अब त्यहाँ फोहोर फाल्न दिने अवस्था नरहेको उनले बताए । फोहोरकै कारण स्थानीय जनता विभिन्न रोगको शिकार हुने गरेको भन्दै उनले एम्बुलेन्स समेत सरकारले उपलब्ध नगराएको लामाको भनाइ थियो ।

ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले स्थानीयको समस्या तत्काल समाधान गरिदिन संघीय संसदको विकास तथा प्रविधि समितिको ध्यानाकर्षण गराए । सरकार र काठमाडौं महानगरपालिकाले स्थानीय जनतालाई पटक–पटक झुक्याएकाले उनीहरुले समस्या गरिदेलान भन्ने आशा नभएको उनको भनाइ थियो ।

यता, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने काठमाडौंको फोहोर व्यवस्थापनको काम राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि राष्ट्रिय स्तरकै छलफल हुनुपर्ने बताए । उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यता, सरकारले पनि सिसडोल र बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्ध रहेको जनाएको छ । सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईले सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग तत्काल सम्बोधन गर्न सरकार तयार रहेको बताए । उनले काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीय तहलाई पनि अग्रसर हुन पनि आग्रह गरे ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएपछि संघीय संसदको विकास तथा प्रविधि समितिले सो समस्याको दीर्घकालीन समाधानका उपायको खोजी गर्न सरोकारवाला निकायसँगको छलफललाई पनि अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment