Comments Add Comment

सी विचारधारा नेकपाको हनुमानगिरी : खगेन्द्र संग्रौला

६ असोज, काठमाडौं । वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा माथिको बहस अनुचित भएको टिप्पणी गरेका छन् ।

सीको विचारधारालाई लिएर नेकपामा सुरु बहसबारे अनेक क्रिया-प्रतिक्रिया सार्वजनिक भइरहेका बेला संग्रौलाले टि्वट गर्दै अनावश्यक ‘भक्तिभजन’मा नेकपा उत्रिएको टिप्पणी गरेका हुन् ।


समाजवादका नाममा सीले चीनमा सञ्चालन गरेको शासन कुनै विचारधारा नभएर ‘निरंकुश अभ्यास’ भएको संग्रौलाको भनाइ छ । सीको शासनलाई विचारधारा मानेर बहस गरिनु हनुमानगिरी भएको संग्रौलाको टिप्पणी छ ।

‘सम्राटतुल्य ‘सी’ सरको चीनमा समाजवादका नाममा जनताका मुख थुनेर कठोर राज्य-पुँजीवादको अभ्यास गरिँदै छ’, संग्रौलाले टि्वटरमा लेखेका छन्, ‘यो निरंकुश अभ्यासलाई सी विचारधारा भन्दै सत्ताधारी नेकपा डबलका सरकारी बुद्धिजीवीहरूमाझ सी सरको भक्तिभजन सुरु भएछ । ठीकै हो, ख्वामित् रामविना हनुमान कसरी पो जिउन सकोस् र ?’

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैंलगत्तै नेपाल भ्रमणमा आउने चर्चा पछिल्लो समय चलेको छ । यद्यपि, नेपाली र चिनियाँ दुवै पक्षले सीको भ्रमणको मिति औपचारिक जानकारी गराइसकेका छैनन् । २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउने बताइएको छ ।

यो पनि पढ्नुहोस नेकपा नेताहरुलाई प्रधानमन्त्रीको ब्रिफिङः सी जिनपिङको भ्रमण पक्का भयो

प्रमुख सत्तारूढ दल नेकपामा सी नेपाल भ्रमणमा आउने तय भएसँगै उनको विचारधारालाई लिएर बहस सुरु भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच काठमाडौंमा समाज रुपान्तरण, कम्युनिस्ट अनुशासन र विकास तथा समृृद्धिका एजेण्डामा दुई दिन छलफल हुँदैछ । दुवै देशका कम्युनिस्ट पार्टीहरु आयोजक बनेर काठमाडौंमा गर्न लागिएको कार्यक्रमको नाम ‘नेपाल-चाइना फ्रेण्डसीप सिम्फोजियम’ राखिएको छ । कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ तावको नेतृत्वमा उच्चस्तरीय टोली सोमबार काठमाडौं आउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment