Comments Add Comment

प्रधानमन्त्रीको एक्सन रुममा जोडिए राष्ट्रिय गौरवका आयोजना

Photo Credit : फाइल तस्वीर

६ असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने भएको छ । कार्यालयमा तयार भएको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने प्रणाली कार्यान्वयनमा आएको हो ।

यो कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव तथा सचिवहरुले आयोजना प्रमुखसँग ‘लाइभ’ कुराकानी र छलफल गर्न सक्ने कार्यालयका प्रवक्ता तथा सहसचिव यमलाल भुसालले जानकारी दिए ।

‘एक्सन रुममा बसेर गौरवका अयोजनाहरु हेर्न सकिने भएको छ, आवश्यक देखिएमा प्रधानमन्त्री तथा सचिवज्युहरुले आयोजना प्रमुखसँग यहाँबाटै सीधै रिर्पोटिङ लिन सक्नुहुन्छ,’ भुसालले भने ।

यो कक्ष जेठ १५ गतेबाट सञ्चालनमा आएको थियो । तर, आयोजनाहरुको लाइभ फुटेज कनेक्ट गर्न बाँकी थियो । एक्सन रुममा तीनवटा ठूला मनिटर जडान गरिएको छ । यो कक्षसँग जोडिने गरी प्रदेशका मुख्यमन्त्री तथा गौरवका आयोजना प्रमुखकोमा ‘टेलिप्रिजेन्स सिस्टम’ जडान गरिएको छ । टेलिप्रिजेन्स भनेको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ हो । इन्टरनेटका माध्यमबाट यसमा भिडियो कुराकानी हुन्छ ।

आयोजनाहरुको प्रगतिको अवस्था हेरेर आवश्यक निर्देशन गर्न प्रधानमन्त्रीका लागि यो एक्सन रुम निकै फलदायी हुने भुसालले बताए । कार्यालयले आफ्नै सर्भर राखेर तयार गरिएको यो कक्षलाई ठूला आयोजनाको भौतिक प्रगति हेर्न र परेका समस्या सल्टाउन उपयोग गरिने बताइएको छ ।

राष्ट्रिय गौरवका मुख्य ११ वटा आयोजना यो कक्षसँग जोडिएका छन् । आयोजनाको मुख्य कार्यक्षेत्रमा सीसी क्यामेरासहितको यो सिस्टम जोडिएको छ । यहाँ जोडिने सीसी क्यामेराको लाइभ फुटेज २४ घण्टा नै प्रधानमन्त्री कार्यालयको यो सिस्टममा आइरहन्छ ।

‘चाहेको बेला हामी आयोजनाको अनुगमन कार्यालयमा बसेर गर्न सक्छौं,’ उनले भने, ‘यो पछि आयोजनाहरुमा हुने कार्य सम्पादन सुध्रन्छ भन्ने अपेक्षा छ ।’

जलविद्युत, खानेपानी र सिञ्चाइँ आयोजनाको हेडवर्क्स, टनेल, विमानस्थलहरुको मुख्य निर्माणस्थल, राजमार्गहरुको मुख्य खण्डमा सीसी क्यामरासहितको आधुनिक प्रणाली जोडिएको छ । प्रधानमन्त्रीले चाहेका बेला प्रत्यक्ष रुपमा आयोजनाको कामको निरीक्षण एक्सन रुमबाटै गर्न सक्छन् ।

यो रुमसम्म कनेक्ट हुने राष्ट्रिय गौरवका आयोजनाको ‘लाइभ फुटेज’ प्रधानमन्त्रीले आफ्नै मोबाइलमै पनि हेर्न सक्नेछन् । यसका लागि प्रधानमन्त्रीले प्रयोग गर्न छुट्टै मोबाइल एप बनाइएको प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भेरी–बबई डाइभर्सन आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सिक्टा सिञ्चाइ आयोजनाको निर्माणस्थलमा यो सिस्टम जोडिएको छ । यस्तै रानीजमरा सिञ्चाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको प्रत्यक्ष निगरानी पनि यसै प्रणालीबाट गर्न थालिएको छ ।

हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन । धेरैजसो आयोजनाहरु समस्यामा छन् । अन्तरसरकारी समन्वय नहुँदा आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् । यसैलाई ध्यानमा राखेर प्रमुख महत्वका आयोजनाहरुको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी यो प्रणाली जडान हुँदैछ ।

अब आवश्यक पर्दा प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई यहीँबाट सम्बोधन गर्न सक्नेछन् । मुख्य सचिवले प्रदेशका सचिवहरुसँग पनि कुराकानी गर्न सक्नेछन् । अन्तरसरकारी समन्वयलाई बलियो बनाउन यो उपयोगी हुने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment