Comments Add Comment

कावासोतीमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

बस दुर्घटनामा चालकको मृत्यु, १५ घाइते

Photo Credit : रामकुमार श्रेष्ठ

७ असोज, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् ।

प्रहरी स्रोतका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

‘ढोका फोडेर बाहिर निकालेर गम्भीर अवस्थामा चितवन पठाएका थियौं, उनीहरु पाँचै जनालाई अस्पतालले मृत घोषणा गरेको छ,’ प्रहरी निरीक्षक राजेन्द्र प्रसाद   अधिकारीले अनलाइनखबरसँग भने । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस दुर्घटनामा चालकको मृत्यु, १५ घाइते

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका-१०, स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

घाइतेहरुको नामावली

घाइते हुनेहरुमा सल्यान कालीमाटी गाउँपालिका-४ बस्ने रामबहादुर ओली, सोही स्थानकै प्रकाश केसी र लेखराज केसी, सल्यानकै कपुरकोट गाउँपालिका-४ बस्ने दीपक पुन र कपुरकोट गाउँपालिका-३ बस्ने दल बहादुर ओली छन् ।

यसैगरी शैलेश्वरी गाउँपालिका-१ बस्ने रोहित चन्द, रोल्पाको गंगादेव गाउँपालिका-६ बस्ने नवलसिंह ओली र पूर्वी रुकुमको भुमे गाउँपालिका-८ बस्ने प्रेम बहादुर पनि घाइते भएका छन् ।

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने बसका सहचालक सुजन बुढाथोकी, दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय दुर्गा परीयार, सोही स्थान बस्ने २४ वर्षीय कल्पना परियार, तुलसीपुर-१ का प्रेम भुसाल, पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-१ बस्ने नरबहादुर श्रेष्ठ, सुनसरीको इनरुवा-१० बस्ने रिजवार आलम र गुल्मीका जगदीश अर्याल पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९५१० नम्बरको बस मंगलबार बिहान पौने पाँच बजेतिर नवलपरासीकै मध्यविन्दु नगरपालिका-७ चालीस किलो भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न चितवन पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment