Comments Add Comment

जस्तो खाना उस्तै व्यवहार : कस्तो खाना उपयुक्त ?

हामीले दैनिक खाने खानाको बारेमा त्यत्ति धेरै ध्यानदिने गरेका हुँदैनौं । आफ्नै घरमा पकाएको खाना त हो नि भनेर पटकपटक तताएर बासी खाना खाने होस् या त स्वादको लागि धेरै मसलायुक्त खाना खाने स्वभावहामी धेरैको हुने गरेको छ । तर, हामीले खाने खानाले हाम्रो व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । सात्विक खाना खाने मानिसहरुको व्यवहार पनि सात्विक हुने गर्दछ भने राजसी र तामसी खाना खाने मानिसहरुको स्वभाव पनि सोही अनुसारको हुने गर्दछ ।

स्वाद र सन्तुष्टिको पछि लाग्दा हामी त्यो खानाको पौष्टिकता र ताजापनको बारेमा ध्यान नै दिन भ्याउँदैनौं । खाना खाने बेलामा एउटा कुरा जानकारीमा राख्नैपर्ने हुन्छ । कुनै पनि व्यञ्जन पकाएको कति समय भित्र खाईसक्ने ? एक घण्टा, दुई घण्टा, आठ घण्टा वा त्यो भन्दा पछि पनि खान सकिन्छ ? आयुर्वेदकाअनुसार, हामी जे खान्छौं उसको सीधा सम्बन्ध हाम्रो शारीरिक एवं मानसिक स्वास्थ्यमा परेको हुन्छ । यस प्राचीन विज्ञानका अनुसार भोजन तीन प्रकारको हुन्छ- सात्विक, राजसिक र तामसिक । यी तीनै प्रकारका भोजनको आफ्नै महत्व रहेको छ ।

सात्विकभोजन : सधैं खुशी रहनको लागि

सात्विक भोजन हाम्रो मानसिक स्वास्थ्य र उर्जाको लागि लाभकारी हुन्छ । यसबाट हाम्रो चेतना बढ्दछ । यसबाट हाम्रो मन र शरीरको सन्तुलन वा सामञ्जस्य बढाउन मद्दत पुग्दछ । नियमित रूपले सात्विक भोजनको सेवनबाट शरीरमा उर्जाको सञ्चार हुन्छ । सात्विक भोजन हाम्रो लागि अति उत्तम मान्ने गरिन्छ ।

हल्कार स्वस्थ भोजन नै सात्विक भोजन हो । यो न ज्यादा मीठो हुन्छ, न त ज्यादा नुनिलो पिरो नै हुन्छ । सात्विक भोजनले मनलाई शान्त गर्नुका साथै शरीरलाई शुद्ध गराउन समेत मद्दत गर्दछ । योगी र मुनिहरुले समेत सात्विक भोजनको सेवनलाई उपयुक्त मानेका छन् । स्वयं ऋषिमुनीहरु समेत सधैं सात्विक भोजन मात्रै गर्दथे । योगी आहार समेत भएकोले यो हाम्रो शरीरको लागि कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि सहजै पत्ता लगाउन सकिन्छ । जसरी तामसिक भोजनले आलस्य बढाउँछ भनिन्छ ।

त्यसरी नै राजसिक भोजन पचाउनका लागि समस्या हुने आयुर्वेदमा उल्लेख छ । तर, सात्विक भोजन पचाउनमा सहज, हल्का र ऊर्जावान हुने गर्दछ । सात्विक भोजनको उदाहरणको रुपमा ताजा फल, तरकारीहरु, हरियो तरकारी आदिलाई लिन सकिन्छ ।

जो व्यक्ति सात्विक आहार लिने गर्दछ । उसको व्यवहार सहज, स्पष्ट सोच, सन्तुलन एवं आध्यात्मिक रुझान जस्ता गुण देख्न सकिन्छ । सात्विक व्यक्ति आम रुपमा मदिरा जस्तो कुलत एवं अरु उत्तेजक पदार्थलाई घृणा गर्ने स्वभावको हुन्छ ।

राजसिक भोजन : कर्ममा लागि रहन प्रेरित हुन्छ

राजसिक भोजनले हाम्रो मन र शरीरलाई काम गर्नको लागि प्रेरित गर्दछ । तर, यस भोजनको अधिक सेवनले छिटो रिस उठ्ने, निद्रा नलाग्ने जस्ता समस्याहरु आउनसक्ने देखिन्छ । यस भोजनबाट विस्तारै हाम्रो शरीरमा मन्दविष समेत प्रवेश गरिरहेको हुन्छ । जुन भोजन अत्यधिक स्वादिष्ट लाग्दछ त्यो राजसिक भोजन हो । जस्तै, चाकलेट, मिठाई, ज्यादा मसलायुक्त भोजनहरु यस अन्तर्गत् पर्दछ ।

राजसिक आहार खाने मानिसहरुमा कामुक, लालची, इर्ष्यालु, क्रोधी, कपटी, अभिमानी र अधर्मी स्वभावको विकास हुन्छ । राजसिक व्यक्तित्ववाला मानिसहरु शक्ति, सम्मान, पद र सम्पन्नता जस्तो चीजहरु मा बढी रूचि राख्दछन् । यस्ता मानिसहरुले आफ्नो जीवनलाई धेरै हदसम्म नियन्त्रणमा राखेका हुन्छन् । राजसिक व्यक्ति दृढ निश्चयी हुन्छन् र आफ्नो जीवनबाट भरपुर आनन्द लिने स्वभावका हुन्छन् ।

तामसिक भोजन : सचेत रहनुहोस्

तामसिक भोजन त्यो हो जसले हाम्रो शरीर र मनलाई जड बनाइदिन्छ । अधिक तामसिक भोजनको सेवनले मनमा उल्झन र भ्रान्ति पैदा हुने गर्दछ । बासी खाना या दोस्रोपटक तातो बनाइएको भोजन, एकदमै धेरै तेलयुक्त भोजन, कृत्रिम भोजन आदि तामसिक भोजनका उदाहरण हुन् । तामसिक भोजनले राजसिक भोजनको क्रियाशीलतालाई हिंसामा बदल्न सक्दछ ।

कुनैपनि खानेकुरा पकाएको आठ घण्टापछि खानेकुरा राजसिक बन्ने गर्दछ ।  त्यो भन्दा धेरै समयपछि सोही खानेकुरामा तामसिक गुण देख्ने गरिन्छ । त्यसैले  जतिसम्म सम्भव हुन्छ सधैं ताजा खाना नै खानु आवश्यक हुन्छ । सामान्यतया पकाएको तीन घण्टासम्म मात्रै भोजन सात्विक हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment