Comments Add Comment

अब हामीसँग धेरै समय छैन : मेस्सी

काठमाडौं । चार वर्षपछि व्यक्तिगत पुरस्कार जित्नु बार्सिलोनाका स्टारका लागि खुसीको विषय रह्यो । तर, उनको ध्यान भने अब सिजनको खराब सुरुवात गरेको क्लबलाई लयमा ल्याउन मदत गर्नेमा छ ।

लिओनल मेस्सीले भर्जिल भान डाइक र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् । २०१५ मा फिफा बालोन डि’ओर जितेका उनले त्यसयता ठूलो अवार्ड हात पारेका थिएनन् ।

बालोन डि’ओर अलग अलग भएर फिफाले उत्कृष्ट खेलाडी पुरस्कृत गरेपछि उनको यो पहिलो अवार्ड समेत हो । ‘लामो समयदेखि व्यक्तिगत अवार्ड जितेको थिइन’ मेस्सीले सम्वाददाताहरुसँग भनेका छन्, ‘यो यस्तो अवार्ड हो, जुन मैले पहिलो पटक पाएको छु र यो पाउँदा खुसी छु ।’

चोटका कारण मेस्सीले सिजनको सुरुवाती खेलहरु गुमाएका छन् र उनको टिमले १९९४/९५ पछि पहिलो पटक सिजनको खराब सुरुवात गरेको छ ।

ला लिगाको पहिलो खेलमा एथ्लेटिको विल्बाओसँग १–० ले हारेको च्याम्पियनले घरेलु मैदानमा रियल बेटिस र भ्यालेन्सियालाई ५–२ ले हरायो । ओसासुनासँग २–२ को बराबरी खेलेको उसले गर्नाडासँग २–० को हार व्यहोर्‍यो।

अब यो साता भिल्लारियल र गेटाफेसँग खेल्नेछ । मेस्सी दुबै खेल जितेर बार्सिलोनालाई फेरि लयमा फर्काउन चाहन्छन् । ‘हामीले खराब सुरुवात गर्‍यो र अवसरहरु सृजना गर्न संघर्ष गरिरहेका छौं’ मेस्सीले भने, ‘यो सुरुवात मात्र हो तर अब हामीले यसको जवाफ दिनुपर्छ ।’

‘अब हामीसँग धेरै समय छैन र हामीले धेरै सुधार गर्नुपर्छ । यसबारे हामी सचेत पनि छौं ।’

टिमको प्रदर्शन सुधार हुनेमा उनी विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment