Comments Add Comment

काठमाडौंका सीडीओलाई नै चित्त बुझेन दशैंको बजार अनुगमन

प्रहरी भन्छ- खाली घरको सुरक्षा गर्ने जिम्मा हाम्रो

८ असोज, काठमाडौं । दशैंतिहारमा मात्रै बजार अनुगमन गर्ने परिपाटीका कारण सरकारले चाडपर्वका बेला आलोचना खेप्दै आएको छ । तर, चाडबाडका बेलामा हुने अनुगमन झनै नाममात्रको हुने गरेको गुनासो सुनिने गरेको छ ।

चाडबाडका बेलामा हुने कालोबजारी एवं महंगी नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको गुनासो नागरिकहरुले गरिरहेका बेला स्वयं नियामक निकायमा रहेका प्रशासकहरु समेत सन्तुष्ट नभएको पाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बुधबार राजधानीमा आयोजित एक अन्तरक्रियामा बोल्दै हाल भइरहेको अनुगमनप्रति सांकेतिक रुपमा असन्तुष्टि व्यक्त गरे ।

प्रजिअ दाहालले हालको बजार अनुगमन, अनुगमनजस्तो नभएर अवलोकन मात्र भएको टिप्पणी गरे । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य तथा आपूर्ति विभागको अनुगमन आक्रामक हुनुपर्ने प्रजिअ दाहाल बताउँछन् ।

दशैंतिहारको समयमा नियामक निकाय सुतेर बस्न नहुने भन्दै सरोकारवाला निकायको सक्रिय हुनपर्ने बताए । ‘सबै निकाय यस विषयमा संवेदनशील हुनुपर्छ, यसमा क्रमश सुधार हुँदै गएको छ,’ उनले भने, ‘हामी पनि कियाशील छौं, दशैतिहारमा सुरक्षाको प्रत्याभुति दिनेछाैं ।’

उपभोक्ता अधिकारकर्मी भन्छन- पहिलेकै हिसाबले चल्न खोजियो

सरकारको अनुगनम गर्ने तरिका नमिलेको उपभोक्ता अधिकारकर्मीहरुले गुनासो गरेका छन् । चाडपर्वको समयमा अनुगमनमा जादाँ जुलुस निकाले जसरी अनुगन गर्ने परिपाटीका कारणले बजारमा अत्यधिक कालोबजारी मौलाएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

‘बजारमा अनुगमन गर्दा ग्राहक बनेर वा छडके चेकिङ गर्नुपर्नेमा त्यसो नगरी अनुगमनको जिम्मा पाएको निकाय यसअघि जसरी चलेको थियो, त्यहीअनुसार चल्न खोजेको छ,’ तिम्सिनाले भने, राजधानीमा विशेष गरी यातायात क्षेत्रमा कालोबजारी हुने गरेको छ । सार्वजनिक यातायातमा महिला, जेष्ठ नागरिक, अपाङ्ग लगायतका सिट होल्ड गरेर राख्ने र पछि कालोबजारी गर्ने गरेकोतर्फ सरकारको ध्यान गएको छैन ।’

तिम्सिनाका अनुसार सरकारले अनुगमनका लागि बनाएको उपभोक्ता सरंक्षण ऐन ०७५ कार्यान्वयन गर्न नियावली अझै नआएकाले अनुगनमन प्रभावकारी हुन नसकेको हो ।

ऐन कार्यान्ययन गर्न नसकेको स्वीकारोक्ति

यसैवीच, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सरंक्षण विभागले उपभोक्ता सरंक्षण ऐन २०७५ लाई कार्यान्वयन गर्न नसकेको स्वीकार गरेको छ ।

दशैंतिहारमा मात्रै अनुगमन गर्ने प्रवृत्तिका कारण उपभोक्ता सरंक्षण ऐन २०७५ अझै कार्यान्वयन हुन नसकेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सरंक्षण विभागका महानिर्देशक योगेन्द्रकुमार गौचनले बताए ।

हाल फरकखालको अनुगनमन नभएर अन्य समयमा हुने नियमित खालको अनुगमन मात्रै भइरहेको समेत उनले स्वीकारे । गौचनले अबको अनुगमनमा स्थानीय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्ने तर्क गरे ।

गौचनले बजार अनुगमन गरेर मात्र समस्या समाधान नहुने धारणा राखे । यसका लागि व्यवसायीमा पनि चेतना अभिवृद्धि गराउनुपर्ने र उनीहरुलाई पनि अनुगमनका बारेमा जानकारी दिनुपर्ने उनको तर्क छ ।

मिडियालाई अनुगमनमा नलगिँदा आम नागरिकमा सूचना नपुगेको भन्दै अब देखिने गरी अनुगनमन गर्नसमेत गौचनले जोड दिए ।

यसबर्ष मात्रै १७० वटा पसललाई कारवाही गरेको र २३ लाख रुपैयाँ बराबरको जरिवाना कारवाही गरिएको उनले जानकारी दिए । बजारमा अनुगमन गर्दा एउटा विभागले गरेको अनुगमन अर्को निकायले गएर नदोहोर्‍याउन समेत गौचनले आग्रह गरे ।

दशैंतिहारको समयमा दिनमा दुई गुना, रातमा चौगुना मूल्य बढ्ने गरेको आम उपभोक्ताको गुनासो रहँदै आएको छ । तर, बजार अनुगमन, नागरिकको सुरक्षा लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता यमलाल भुसाल बताउँछन् ।

चाडपर्वका बेला विशेषगरी राज्य संयन्त्रबाटै अनुगनमनमा जोड दिनुपर्ने र अनुगनमका लागि निर्देशन दिने तथा नितिगत भुमिकामा समेत सहजीकरण गर्ने काम सरकारबाट भइरहेको उनले दाबी गरे । बजार अनुगमनमा सरकारले उपस्थिति जनाएकोे उनले दाबी गरे ।

प्रहरी भन्छ- खाली घरको सुरक्षा गर्ने जिम्मा हाम्रो

दशैंतिहारमा सुरक्षाका लागि भन्दै उपत्यका प्रहरीले आफ्ना कर्मचारीलाई विदासमेत नदिएर सुरक्षामा खटाएको उपत्यका प्रहरी प्रमुख डीआइजी शैलेश थापाले बताए ।

‘तीन हजार प्रहरीले थप सुरक्षा गर्ने र अति आवश्यक ठाउँमा पनि प्रहरी खटाउने तयारी छ’ थापाले भने ‘आम सर्वसाधारणका घर असुरक्षित छाडेर दशैं मनाउन जान्छन्, त्यसको जिम्मा हामीले लिनुपर्छ ।’

यसका साथै आगामी दशैंलाई दुर्घटनारहित बनाउन तत्पर रहेको डीआइजी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment