Comments Add Comment

दशैंमा घुम्नलायक १० ठाउँ

पोखरा, मुक्तिनाथदेखि ताप्लेजुङ, पाथीभरासम्म

६ असोज, काठमाडौं । नेपालीको सबैभन्दा ठूलो चाड दशैं आउन लाग्यो । आजकाल दशैंमा परिवारसहित घुम्न निस्किने प्रचलन बढ्दो छ । तपाईं पनि घुमघामको योजनामा हुनुहुन्छ कि ?

नेपालीको चाडवाड लक्ष्यित विदा र विदेशी पर्यटक आउने सिजन एउटै समयमा भएकाले यतिबेला नेपालका पर्यटकीय गन्तव्य भरिभराउ हुन्छन् । त्यसकारण आफू कुन गन्तव्यमा जान खोजेको हो, त्यसलाई योजनामा राखेर सोहीअनुसार तयारी गर्नुपर्छ । हचुवामा यात्रा गर्दा दु:ख पाउन सकिन्छ ।

दशैंको घुमघाम सकभर परिवारका साथ गर्नु उचित हुन्छ । किनकि अर्को एक वर्षसम्म तपाईले परिवारलाई त्यति लामो समय दिन नभ्याउने हुन सक्छ । यात्राको तयारी गर्दा सकभर नदोहोरिने गरी गन्तब्य रोज्नुस् । नयाँ ठाउँ, स्वाद र दृश्यमा रमाउने वातावरण खोज्नुस् ।

म देशका अधिकांश पर्यटकीय गन्तव्यहरुमा पुगेको छु र धेरै अनुभव पनि संगालेको छु । आफ्नो अनुभवका आधारमा म तपाईंलाई सम्भावित १० गन्तव्यको सूची यसप्रकार सिफारिस गर्न चाहन्छु :

१. पोखरा

पोखरा उपत्यका

मेरो सूचीमा दशैं बिदामा घुम्नलायक स्थानमा पोखरा पहिलो नम्बरमै पर्छ । यो सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तब्य हो । यसलाई एउटा घुमघामको पूर्ण प्याकेज मान्न सकिन्छ ।

पोखरामा तपाई आफ्नो बजेटअनुसार पाँच तारे होटल वा सस्तो लजमा बसेर घुमघाम गर्न सक्नुहुन्छ । सफा र शान्त वातावरण पोखराको विशेषता हो । यति ठूलो शहरबाट आँखै अगाडी टलक्क टल्केका हिमाल देखिने सायद अरु गन्तब्य छैन । एक दिनका छोटा हाइकिङ रुटले यो गन्तब्यलाई अझ बढी आकर्षक बनाएका छन् ।

तपाई सारङकोट जानुस या धम्पुस, घान्द्रुक, शान्ति-स्तुपा, जहाँ पुगे पनि एक दिनमा पुनः होटेलमै फर्कन सकिन्छ । पोखरामा पर्यटनका अनेक आयामको विकास भएको छ । त्यहाँ पुगेर केवल खाने र बस्ने मात्र होइन, तपाईले प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमान्चक गतिविधिमा भाग लिन सक्नुहुन्छ ।

२. घनपोखरा-घलेगाउँ होमस्टे

घलेगाउँ

तपाईले आफ्नो समुदायको दशैं त हरेक वर्ष देखिरहनु भएको छ । यस वर्ष फरक खालको दशैंको अनुभव किन नलिने ? त्यसका लागि ग्रामिण जनजीवनमा रमाउने गरी यात्राको योजना बनाउन सक्नुहुन्छ ।

मेरो रोजाइमा लमजुङका दुई चर्चित गाउँ घनपोखरा र घलेगाउँ पर्छन् । बारीमा लहलह झुलेको कोदो होस या सयपत्री फूलले ढकमक्क ढाकेका आँगनीका डील, तपाईंको मन बहलाउन पर्याप्त हुनेछन् । यहाँका गुरुङ समूदायसँगै बसेर दशैंको अनुभव लिनुहोस । ‘अर्गानिक दशैं’ को वास्तविक स्वाद उनीहरुले पस्किनेछन् । गाउँको स्वच्छ वातावरणमा केही दिन हिँडेरै बिताउँनुहोस, शहर फर्कदा अर्कै उमंग प्राप्त हुनेछ ।

३. मुक्तिनाथ

मुक्तिनाथ मन्दिर

तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मुक्तिनाथ यात्रा सबैभन्दा उपयुक्त हुनेछ । दशहराको समयमा मुक्तिनाथमा स्नान गर्नु धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिन्छ । यो हिमाल खुल्ने समय हो ।

अलि चाँडै उकालो लाग्नुभयो भने हिमालबाट शहरतर्फ झारिएका भेँडाबोकाको लस्कर देख्ने मौका मिल्नेछ । यो दृष्य निकै चित्ताकर्षक हुन्छ । मुक्तिनाथ जाँदा एक रात कागवेनीमा बिताउनुहोस । तिब्बती सम्भ्यताको नमूना क्षेत्र हो कागबेनी । पुरानो सभ्यताको अवलोकन गर्दा यो पनि नेपालमै छ र ? भन्ने भान पर्छ ।

कागबेनी

यहाँ जाँदा थाकखोलाको थकालीमा पुगेर थकाली खाना खान नबिर्सनुहोस । किनकी हामीले शहरमा थकाली नाममा खाने सबै खानाको उत्पत्ती यहीँ भएको हो । थकालीहरुले आफ्नो भन्सामा यति आकर्षक रुपमा भाँडा सजाएर राख्छन्, त्यो पनि मुक्तिनाथ यात्राको एक नबिर्सने क्षण हुन सक्छ ।

४. लाङटाङ उपत्यका

लाङटाङ

हिमालको फेदमै बसेको यो उपत्यकाको यात्रा गर्ने उपयुक्त मौसम नै शरद ऋतु हो । फोटोग्राफीमा शोख छ र हिमाली भेगको आकर्षक फोटो लिने मन छ भने यो ठाउँले तपाईंको धोको पूरा गर्छ ।

लाङटाङबाट क्यान्जिङ गोम्पासम्म पुग्दा यति धेरै आकर्षक ‘ल्याण्डस्केप’ भेटिनेछ, जसले तपाईको यात्रालाई रोमान्चक बनाउने छ । यो केही कठिन यात्रा हुन सक्छ । किनकी हिमालको फेदमै पुग्ने हो । यति थोरै दिनको यात्रामा हिमालसम्मै पुग्नै मौका अन्त सायदै भेटिएला ।

लाङटाङमा पर्यटकका लागि सुविधा पर्याप्त छन् । साना होटेल र होमस्टको समेत राम्रो सुविधा लाङटाङमा छ । लाङटाङ भ्यालीलाई त म स्वर्गकै एक टुक्रा मान्छु ।

५. लिमिभ्याली-सिमिकोट

लिमी भ्याली

अलि लामो बिदा मिलाउने अनुकूलता छ भने यसपटकको दशैं खस सभ्यताको उदगम भेगतिर किन नमनाउने ? जुम्लाको सिन्जा उपत्यकालाई खस सभ्यता उत्पत्ति क्षेत्र मानिन्छ । तर, यसको खास अनुभव तपाईं लिमी भ्यालीमा पाउनु हुनेछ ।

पुराना राजाहरुले शासन गर्दा बनाएका ऐतिहासिक तथा पुरातात्विक संरचना अझै यहाँ भेटिन्छन् । बाघलाई जालमा पार्न बनाइएका खाडलसमेत यस भेगमा जिवित छन् । सिमिकोट आफैँमा एक घुम्नलायक गन्तब्य हो । लिमी भ्यालीलाई ‘लुकेको स्वर्ग’ पनि भनिन्छ । पर्यटन फोटोग्राफीका धेरै पोस्टरहरुमा यो भ्यालीको सुन्दरता कैद भएको छ ।

अपि र सैपाल हिमाललाई आँखै अगाडि देख्न पाउने अवसर यस भ्यालीको भ्रमणमा पाइन्छ । अहिले सिमिकोट आम यात्रुका लागि पुग्न कठिन गन्तब्यसमेत होइन, हवाई यात्रामार्फत र पदयात्रामार्फत पनि सहजै यहाँ पुग्न सकिन्छ । कर्णालीमा जुम्ला या रारालाई समेत गन्तब्य बनाएर घुमघामको योजना बनाउन सकिन्छ । कर्णाली साच्चिकै सुन्दर छ ।

६. बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्ज

आदिवासी थारु समुदायसँगै दशैं मनाउने मुडमा बर्दिया जानुस्, अविश्मरणीय बन्ने छ । तपाई पूर्वबाट बर्दिया जाँदै हुनुहुन्छ भने एक रात लुम्बिनीमा बिताउन सक्नुहुन्छ । नत्र सीधै बर्दिया जाँदा पनि हुन्छ । तर, बर्दिया जान कम्तिमा ४/५ दिनको समय निकालेरै जानुहोस् । पारिवारिक भ्रमणका लागि यो उपयुक्त गन्तब्य पनि हो ।

तपाई यहाँ होमस्टेमा बस्दा सबैभन्दा राम्रो । किनकी थारु समुदायको दशैंलाई अनुभव गर्ने मौका मिल्छ । जताततै हरियाली, न जाडो-न गर्मी, सन्तुलित मौसम । तराईको फाँटमा धान जुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ । तपाईंको आफ्नै सवारी साधन छैन भने पनि पर्याप्त सार्वजनिक यातायातको सुविधाका कारण यो गन्तब्य आम नेपाली यात्रुका लागि उपयुक्त हुन्छ ।

बर्दिया यात्राका दौरान चिसापानीको माछा खान नबिर्सनुस् । कर्णालीको आकर्षक पुल अवलोकन सोही समयमा गर्न सकिन्छ । जंगल सफारीमा समेत रमाउन सक्ने सुविधा यहाँ छ । बर्दिया बसाइँमा थारु समुदायका मौलिक परिकारमा जोड दिनुहोस् ।

७. चैनपुर-खप्तड

बझाङको चैनपुर

शाह तथा ठकुरी वंशको उदगम भूमी हो बझाङको चैनपुर र यस आसपासको क्षेत्र । यहाँबाट दुई दिनकै यात्रामा खप्तड पुगिन्छ । चैनपुर र यस आसपासका ग्रामिण भेगबाट म लोभिएको छु । पुराना शैलीका आकर्षक घर र ग्रामिण जनजीवनले तपाईलाई पनि प्रभावित बनाउनेछ ।

कोदोबारीमा बोडीका कोसा खाँदै अगाडि बढ्दा थकानको अनुभव पटक्कै हुनेछैन । रातो माटो र कमेरोले लिपेका धेरै घर शहरीकरणसँगै लोप भइसके । तर, चैनपुर-खप्तड यात्रामा धेरै ठाउँ यस्ता घरहरु देखिन्छन् । शाही/ठकुरीहरुको उत्पत्ती भएको स्थान भएकाले यहाँको बोलीचालीमा समेत उच्चआदरार्थी शब्दहरु प्रयोग हुन्छन् । त्यो मौलिकता बचाएर राख्नु यहाँको विशेषता हो ।

खप्तड

यहाँबाट उकालो लागेपछि भूस्वर्गका नामबाट चिनिने खप्तडका लोभलाग्दा पाटनले यात्रा अविश्मरणीय बनाउने छ । खप्तड पुग्न पनि तपाईसँग समय छ भने धेरै कठिन यात्रा गर्नुपर्दैन । ताक्लाकोटबाट भेँडा-च्यांग्रा झार्दै गरेको फेला पर्‍यो भने त्यो दृष्यसमेत हेर्नलायक हुनेछ । खप्तडमा समेत खुलेको मौसमले प्रकृतिलाई निकै आकर्षक बनाएको हुन्छ ।

८. इलाम-ताप्लेजुङ

पूर्वी नेपालको धरान-धनकुटा-भेँडेटार हुँदै ताप्लेजुङसम्मको यात्राको योजना बनाउन सक्नुहुन्छ । ताप्लेजुङमा कहाँसम्म पुग्ने, त्यो तपाईसँग उपलब्ध समयमा भर पर्छ । ओलाङचुङगोलादेखि पाथिभरा जहाँ पुगे पनि यो यात्राले निकै रोमान्चकता दिनेछ ।

धरान-धनकुटामा किराँत-राई समुदायको घरमा दशैंको टीकासम्म बिताउनुहोस् । उनीहरु सेतो अक्षताको टीका लगाएर दशैं मनाउँछन् । केही फरक अनुभव तपाईले पाउनु हुनेछ । त्यसपछि इलाम हुँदै ताप्लेजुङसम्म जान सक्नुहुन्छ ।

यो रुट फोटोग्राफीका लागि पनि उत्तिकै आकर्षक छ । अब ढकमक्क फूल्ने सयपत्रीले बारीका डिल ढाक्न थालिसकेका छन् । पृष्ठभूमिमा कञ्चनजंघा र कूम्भकर्ण हिमाल देखिनेछ । धार्मिक दृष्टिकोणबाट पाथिभरा माताको दर्शन पनि निकै फलदायी हुनेछ । पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा त अविश्मरणीय नै बन्नेछ ।

९. रुवी भ्याली

गीत गाउँदा गाउँदै तरुना-तरुनीले एक अर्कोलाई मन पराए भने बिहे नै गर्ने प्रचलन अझै जिवित रहेको उपत्यका हो रुवी भ्याली । ‘मेन्दोमाया’ भाकाको उत्पत्ति भएको क्षेत्र । धादिङ जिल्लामा रहेको यो स्थानमा पुग्न त्यति धेरै समय खर्च हुँदैन ।

तामाङ समुदायको मौलिक मेन्दोमायासँगै लाखे नाच, माने नाच, पारु नाच यहाँ भेटिनेछ । रुवी भ्याली यात्राको अर्को विशेषता यहाँको दशैंको माहौल पनि हो । स्थानीय भाषामा ‘मार हान्ने’ भन्ने चलन अनुसार युवाहरुले दशैंमा राँगा काट्ने गर्छन् । यसबेला ठूलै मेला लाग्छ । अलि फरकखालको दशैंको झल्को रुवी भ्यालीको यात्रामा मिल्नेछ । रसुवाको लाङटाङबाट गत्लाङ हुँदै रुवी भ्याली पदयात्रामा निस्कियो भने गणेश हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

१० . शक्तिपीठ

दशैंको घुमघामलाई दशैंकै माहौलसँग जोड्ने हो भने शक्तिपीठ पुग्न नबिर्सऔं । नवरात्रिभर हरेक शक्तिपीठमा धुमधामसँग मेला लाग्छ । सपरिवार सकेसम्म धेरै शक्तिपीठमा पुगेर पूजाआजा गर्न सकियो भने त्योभन्दा अर्थपूर्ण दशैं के होला ?

गोरखाको मनकामना, नवलपरासीको मौलाकालिका, डोटीको शैलेश्वरी, डडेलधुराको त्रिपुरासुन्दरी, सल्यानको सल्यानकोटदेवी, बागलुङ कालिका, काभ्रेको पलान्चोक भगवती, दक्षिणकालीजस्ता शक्तिपिठको यात्रामा निस्कन सकिन्छ ।

हरेक जिल्लामा नवरात्रिभर विशेष पूजा हुने भगवतीका मठ-मन्दिर रहेका छन् । दशैंमा घर नजिकैको भगवती मन्दिर घुमघाम गरेर पनि दशैं बिदालाई उपयोग गर्न सकिनेछ ।

(लेखक अर्थवाउण्ड एक्स्पिडिसन्स प्रालिका अध्यक्ष हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment