Comments Add Comment

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँण 

८ असोज, चितवन । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् ।

प्रेस युनियन चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताए । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै नेता खाँणले चीनमा जनताले मतदान गर्न नपाउने बताए ।

सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने धारणा राखे । ‘संसारमा चीनको जस्तो शासन कहीं पनि छैन । चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।’

सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै काङ्ग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताए । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली काङ्ग्रेस रहेको बताए ।

काङ्ग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै नेता खाँणले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताए  । नेता खाँणले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताए ।

प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment