Comments Add Comment

षडानन्द नगरपालिकाका प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध भ्रष्टचारको मुद्धा

८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्लेविरुद्ध बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कार्कीले भ्रमण प्रतिवेदन समेत पेश नगरेको र कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा समेत प्रविष्ट नगराई खरिद आदेश र दाखिलाको झूटो रिपोर्ट तयार गरी १६ लाख ५६ हजार ९ सय ४ रुपैयाँ १७ पैसा हिनामिना गरी लाभ लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

काफ्लेले कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा प्रविष्ट नगराई अफूले नै झुठ्ठा खरिद आदेश र झुठ्ठा दाखिला रिपोर्ट तयार गरी १८ लाख ५ हजार ६८ रुपैयाँ १७ पैसा हिनामिना गरेको पाइएकोले उनीविरुद्ध पनि मुद्धा दायर गरिएको कोइरालाले बताए ।

कार्यालयमा अनुपस्थित रही कार्यालयको लेटरप्याड, छाप र चेकसमेत साथमा नै लगेर विभिन्न योजनाहरूको भुक्तानी गरेको साथै आफू अनुकूलका व्यापारीहरूसँगको मिलेमतोमा विभिन्न सामानहरू खरिद गरी भुक्तानी गरेको भन्ने उजुरीको आधारमा उनीहरु माथि छानविन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment