Comments Add Comment

प्रदेश १ मा वर्षे अधिबेशनमा १४ कानून निर्माण

८ असोज, विराटनगर । जेठ १३ गतेदेखि सुरु भएको प्रदेश १ को वर्षे अधिबेशन बुधबार अन्त्य भएको छ ।

बजेट तथा वर्षे अधिबेशन १४ वटा विधेयक पारित गर्दै अन्त्य भएको हो । योसँगै प्रदेश १ मा जम्मा ३९ कानून निर्माण भएका छन् ।

वर्षे अधिबेशनले प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, भवन निर्माण, सहकारी, स्वायत्त सँस्था गठनसम्बन्धी विधेयक पारित गरेको छ ।

यस्तै, गाउँ सभा र नगर सभा सञ्चालन, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि, विनियोजन र आर्थिक कार्यविधिलगायत विधेयक पारित भएका छन् ।

यो अधिवेशनबाट प्रदेशसभामा टेबल भएका सबै विधेयक पारित भएको सभामुख प्रदीप भण्डारीले जानकारी दिए ।

५३ बैठक बसेको यो अधिबेशन कूल ६२ घण्टा सञ्चालन भएको उनको भनाइ छ ।

बुधबार बसेको वर्षे अधिबेशनको अन्तिम बैठकमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट पारित विधेयक र तिनको कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताए ।

कानून निर्माणका क्रममा अधिकांश विधेयक सहमतिबाट पारित हुँदै आएको भए पनि पछिल्ला दिनमा कानून निर्माणका असहमति देखिएको भन्दै उनले आगामी दिनमा संयमित बनेर सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

वर्षे अधिवेशनको अन्त्यमा सक्षिप्त मन्तव्य राख्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालेे सरकारले वर्षे अधिवेशनमा सांसदहरूको सम्मान र प्रदेशको विकासमा प्रतिबद्धता जनाए अनुरूप काम गर्ने लक्षण नदेखाएको आरोप लगाए ।

अर्काे प्रतिपक्षी दल समाजवार्दी पार्टी संसदीय दलका नेता जयराम यादवले पनि सरकारका काम कारवाही प्रभावकारी बन्न नसकेको प्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment