Comments Add Comment

नागढुंगा सुरुङमार्गको ठेक्का हाज्मालाई, ३ वर्षमा बन्ने

६ असोज, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्झौता भएको छ ।

सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाज्मा/आन्दो जेभीसँग ठेक्का सम्झौता गरेको हो । आयोजना प्रमुख श्यामप्रसाद खरेलकाअनुसार तिहारपछि (नोभेम्बर १)बाट सुरुङमार्ग निर्माणको काम थालिनेछ । काम थालेको साढे ३ वर्ष अर्थात ४२ महिनामा सुरुङमार्ग तयार हुनेछ ।

यो आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक सुरुङमार्ग साढे १३ अर्बमा ठेक्का लागेको हो ।

यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ ।

हाजमा नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । काटेश्वर-सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । उसले नै बिपी राजमार्गको निर्माण गरेको हो ।

यो सुरुङमार्ग निर्माणका लागि सरकारले यो वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

टेण्डर मूल्यांकन प्रक्रियामा लामो समय अलमल हुँदा यो सुरुङमार्ग निर्माणको काम थाल्न ढिलाइ भएको छ । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।

यो सुरुङमार्ग दुबैतर्फका सडक बेला-बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टकिो सडक दुई लेन हुँदा अर्काेपट्ट िएक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ । यसका लागि अहिले जग्गा अधिग्रहणको काम भइरहेको छ ।

तर, स्थानीयबासीसँग विवाद टुंगिएको छैन । सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ ।

यो सहायक मार्ग सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सहायक मार्ग निर्माण गर्नुपर्ने छैन ।

यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको इन्धन पनि बचत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment