+
+
Shares

जनताको जीवन फेर्ने कालीगण्डकी करिडोर

कावासोती बजार गएर फर्किन नसकेर उतै बास बस्नुपर्ने निकट विगत यहाँका बासिन्दाले अझै बिर्सिएका छैनन् । तर, अहिले बिहान बस चढेर गएर साँझ घरमा फर्किन सकिन्छ । विगतमा गाउँमा हुने अर्गानिक कृषि उत्पादनले बजार पाउन मुस्किल थियो । अहिले गाउँको उत्पादन बजारसम्म लैजान निकै सहज भएको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८३ असार २ गते ८:१७

२ असार, चितवन । कतै गहिरो खोँच, कतै नागबेली अनि कतै फिजारिएर बग्ने, कालीगण्डकी नदी । कहीँ नाकै अगाडि अग्ला अनकन्टार डाँडा, कतै घर पछाडि पनि उस्तै अग्ला डाँडा । कयौं ठाउँमा सञ्चारको असुविधा । बिरामी पर्दा औषधि र उपचार नपाई कतिपयले ज्यान फाल्नुपर्ने अवस्था‍…।

१२ वर्ष अगाडिसम्म कालीगण्डकी नदी किनार र आसपास घर भएका सयौं बस्तीहरुको साझा कथा थियो, यो । तर, आज त्यस भेगका जनताको जीवन नै बदलिएको छ, कालीगण्डकी करिडोरले ।

गैँडाकोट हुँदै कालीगण्डकीसँग लुकामारी गर्दै बनेको कालीगण्डकी करिडोरले यस भेगका झण्डै १२ लाख मानिसको जीवनमा परिवर्तन ल्याएको छ । कालीगण्डकी करिडोर बुलिङ्टार गाउँपालिकामा मात्रै झण्डै ४५ किलोमिटर पर्दछ । ६ वटा वडा रहेको बुलिङ्टारका वडा नं. ५ बाहेक सबै वडालाई यो करिडोरले छुन्छ ।

सडकको ट्याक खोलेर कालोपत्रे भएपछि कहालीलाग्दो जीवनले चोला फेरेको सम्झन्छन्, बुलिङ्टार–१ ढाडबेसीका दिलबहादुर माकिम मगर ।

अगाडि कालीगण्डकी, पछाडि पहाडको खोँचमा अन्धकारको जीवन कटाइरहेका दिलबहादुरलाई पछिल्ला केही वर्षदेखि आफू जन्मिएको ठाउँ नै नयाँ लागिरहेको छ ।

‘घर अगाडिबाट बसहरु चल्छन् । हामीलाई बस हेर्न पनि गैँडाकोट झर्नुपर्दथ्यो, २/३ दिन हिँडेर जानुपर्दथ्यो, अहिले २ घण्टामा पुगिन्छ, सडक बनेकै कारण बिजुली आयो, खानेपानीका आयोजना बन्न थाले, विद्यालयहरु राम्रा भए, स्वास्थ्य चौकीहरु बने,’ दिलबहादुर दिलैबाट खुसी हुँदै मगर भाषामा भन्छन्, ‘जाटुम काङकु दु:ख धेरै कम जाटा (यसले हाम्रो दु:ख धेरै कम गर्‍यो) ।’

कावासोती बजार गएर फर्किन नसकेर उतै बास बस्नुपर्ने निकट विगत यहाँका बासिन्दाले अझै बिर्सिएका छैनन् । तर, अहिले बिहान बस चढेर गएर साँझ घरमा फर्किन सकिन्छ ।

विगतमा गाउँमा हुने अर्गानिक कृषि उत्पादनले बजार पाउन मुस्किल थियो । अहिले गाउँमा केरा, बोडी, मास, तोरी, तरुल, अदुवा, अम्रिसो, पिडालु, बाख्रापाठा, सुँगुर बजारसम्म लैजान निकै सहज भएको छ ।

स्थानीय उत्पादनले बजार पाउँदा आयआर्जन पनि भएको सुनाउँछन्, दिलबहादुर । घर अगाडि नै सडक आएपछि उनले खाजा खाने सानो कटेज बनाएका छन् । स्थानीय कुखुराको मासुसहित खाजा, खाना खुवाउँछन् ।

करिडोरको बाटो भएर साना जिप, बसहरू चल्न थालेपछि आसपासका क्षेत्रमा साना र ठूला लगानीमा कलेज तथा होटलहरु खुल्ने क्रम सुरु भएको छ ।

करिडोरसम्म जोड्न गाउँपालिकाले लिंक सडकहरु ढलान गरेको कारण स्थानीय उत्पादनहरु करिडोरसम्म ल्याएर बेच्न पनि सहज भएको छ ।

बुलिङटार वडा नं. ६ का बलराम पाठकले पहिले सानो लगानीमा चलाएको ‘विपी होटल’लाई अहिले विस्तार गरेका छन् । आवासीय कोठाहरूसहितको होटल बनाएको बलरामले सुनाए । करिडोरको बाटो भएर हिँड्ने यात्रुलाई लक्षित गरेर लगानी थपेको उनको भनाइ छ ।

करिडोरमै सुविधा सम्पन्न होटलहरूसमेत खुल्न थालेका छन् । सडक कालोपत्रे भएपछि बुलिङटार–३ मा लाखौंको लगानीमा सुविधा सम्पन्न ‘होटल करिडोर इन’ खुलेको छ ।

होटल सञ्चालक शर्मिला पौडेलले बुलिङटार आउने र करिडोरको बाटो भएर हिँड्ने पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको बताइन् ।

करिडोरको बाटो सहज भएपछि विगतमा विकट भनेर आउन नचाहने कर्मचारी तथा शिक्षकहरू पनि गाउँमै बस्न थालेका छन् । अहिले बुलिङटारमा पक्की घरहरु धमाधम बन्न थालेका छन् ।

घरघरमा पानीका धारा लैजाने कामलाई तीव्रता दिइएको छ । विगतमा विकट भएर गाउँ छाडेर अन्यत्र जानेहरू गाउँमा नै अडिन थालेका छन् ।

२०७४ सालदेखि गैँडाकोटमा ‘गैँडाकोट खाजा घर’ चलाउँदै आएका बुलिङटार १ का रामप्रसाद डिस्वा लुगेली मगरले २०८१ सालदेखि गाउँमा नै ‘लेकाली ढिँडो एण्ड लज’ सञ्चालनमा ल्याएका छन् ।

‘विगतमा गाउँमा केही हुँदैन भनेर नै मैले गाउँ छाडेको थिएँ, तर सडक बनेर सहज भएपछि गाउँ फर्किएर लगानी गरेँ,’ रामप्रसाद भन्छन्, ‘पहिलाको भन्दा गाउँमा अहिले धेरै चहलपहल बढेको छ, नसोचेको ढंगले विकास भएको लाग्छ ।’

पाल्पा रामपुरका चर्चित लोक गायक बद्री पंगेनी कालीगण्डकी करिडोर भएर यात्रा गर्दा आफूलाई निकै सहज भएको बताउँछन् । रामपुरबाट बुटवल झरेर नारायणगढ आउनुभन्दा करिडोरको बाटो भएर आउँदा १ सय किलोमिटर भन्दा बढी सडक छोटो पर्ने गायक पंगेनी बताउँछन् ।

गैँडाकोट, बुलिङ्टार, डेढगाउँ, बौदिकाली, रामपुर, राम्दीघाट, रानीमहल, रुरु क्षेत्र हुँदै जान कालीगण्डकी करिडोरमा दैनिकजसो बसहरु चल्ने गरेका छन् ।

यो क्षेत्रमा दैनिक बसहरु चल्दा बुटवल हुँदै घुमेर जानुपर्ने यात्रुलाई आउजाउमा धेरै सहज भएको छ । तनहुँको भिमाद भएर पोखरा र दमौली आउन पनि सहज भएको छ ।

गायक पंगेनी करिडोर सञ्चालनले यो खण्डका पुराना बस्ती, ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाहरुको उजागर, विभिन्न पर्यटकीय गतिविधि हुनुका साथै यस क्षेत्रका जनताको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दछन् ।

यो करिडोरले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका ६ जिल्ला पूर्वी नवलपरासी, पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाहरू प्रत्यक्ष रूपमा जोडेको छ । करिडोरले मध्यपहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग, सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गसँग जोडेको छ ।

करिडोरको लम्बाइ पूर्वी नवलपरासी गैँडाकोटदेखि मुस्ताङको कोरला नाकासम्म ४४२ किलोमिटर रहेको छ ।

करिडोरको पूर्वी नवलपरासी जिल्लामा ७८ किलोमिटर, पाल्पामा ८७ किलोमिटर, गुल्मीमा ३९ किलोमिटर भने बाग्लुङमा ३६ किलोमिटर गरी २४० किलोमिटर (तल्लोखण्डमा पर्दछ । माथिल्लो खण्ड (मालढुङ्गा–बेनी–जोमसोम–कोरला) २०२ किलोमिटर रहेको छ ।

पालिका अध्यक्ष सुनारी भन्छन्– जीवन नै बदलियो

बुलिङ्टार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले कालीगण्डकी करिडोरले गाउँवासीको जिन्दगी नै कायापलट गरेको अनुभूति गर्दछन् ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा देशभरका गाउँपालिकामध्ये सबैभन्दा सानो उमेर २८ वर्षमा नै पालिका अध्यक्ष बनेका सुनारी अनकन्टार बुलिङ्टारमा उज्यालो दियो बनेर करिडोर आएको स्मरण गर्दछन् । उनी भन्छन्, ‘कालीगण्डकी करिडोरले आफूसँगै उज्यालो ल्यायो, स्वास्थ्य, शिक्षा, खानेपानी, उद्यमशीलता, सहजता सबैथोक लिएर आयो ।’

उनी अध्यक्ष हुँदा बुलिङ्टारका सबै वडामा विद्युत पुगेको थिएन, खानेपानीको चरम अभाव मात्रै थिएन, फोन नलाग्ने समस्या पनि उत्तिकै थियो ।

सुनारी भन्छन्, ‘सडक आएपछि हामीलाई राष्ट्रिय प्रसारणको विद्युत हरेक वडामा लैजान सहज भयो, खानेपानीका ट्याङ्कीहरु बने, नेपाल टेलिकमसँग समन्वय गरेर २ वटा टावर राख्ने काम भयो, अस्पताल भवन बन्यो, स्वास्थ्यकर्मीहरू, शिक्षकहरू बस्न थाले, यो सबैमा यही सडकको योगदान छ ।’

सडक बनेपछि स्थानीयहरुमा चेतना बढ्नुका साथै आयआर्जनमा जोडिन थालेकोमा सुनारी खुसी व्यक्त गरे । विगतका ती काला अध्यारा दिनहरु अब कहिल्यै पनि नफर्किने विश्वास सुनारीले व्यक्त गरे ।

गाउँपालिकामा लगानीकर्ताहरु भित्रिन थालेकाले गाउँपालिकाले त्यसमा आवश्यक सहजीकरण पनि गरिरहेको सुनारी बताउँछन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?