Comments Add Comment

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु

८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स पार्टीले औपचारिक रुपमा महाभियोगको प्रक्रिया सुरु गरेको हो ।

प्रतिनिधिसभाका सभामुख नेन्सी पलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति ट्रम्पले संविधानको घोर उल्लंघन गरेको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपति जवाफदेही हुनुपर्छ, कुनै पनि कानुनभन्दा माथि उनी छैनन् ।’

डेमोक्रेटिक पार्टीका प्रतिद्वन्द्वी नेता जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीलाई दबाव दिएको आरोप अमेरिकी राष्ट्रपति ट्रम्पलाई लागेको छ ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग आफ्नो राजनीतिक प्रतिद्वन्द्वीको बारेमा छलफल गरेको स्वीकार पनि गरेका छन् । तर भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न दबाव भने नदिएको उनले बताएका छन् ।

अमेरिकी पूर्वउपराष्ट्रपति जो बाइडन सन् २०२० मा हुने राष्ट्रपति चुनावमा उम्मेदवार उठ्ने तयारीमा छन् । उनले हालका राष्ट्रपति ट्रम्पलाई टक्कर दिने अनुमान छ ।

हालसम्म अमेरिकाको कुनै पनि राष्ट्रपतिलाई महाअभियोग लगाएर पदबाट हटाएको इतिहास छैन ।

ट्रम्पलाई पदबाट हटाउन सत्तारुढ रिपब्लिकन पार्टीका २० सांसदको समर्थन चाहिन्छ । तर आफ्नै पार्टीबाट राष्ट्रपति चुनिएका ट्रम्पविरुद्ध रिपब्लिकन सांसदले विद्रोह गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ । अमेरिकी तल्लो सदनमा १४५ देखि २३५ जना डेमोक्रेट्स महाभियोगको समर्थनमा छन् ।

तर महाअभियोग प्रस्ताव तल्लो सदनबाट पास भए पनि रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन (सिनेट)बाट पास हुन भने मुस्किल देखिने विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment