Comments Add Comment

नेकपा र चीनको सम्बन्ध भ्रातृत्वको हो, कांग्रेस आत्तिनु पर्दैन

‘वामपन्थीकरण मुलुकको हितमा छ, सी जिनपिङ विचारधारा अपनाउने भनेको होइन’

७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले नेपालको भ्रमण गर्ने तयारी भइरहेका बेला काठमाडौंमा चिनियाँ चहलपहल एक्कासी बढेको छ । राष्ट्रपति भ्रमणको पूर्वसन्ध्यामा त्यहाँका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको स्टेट काउन्सिलर वाङ यीले दिल्ली भ्रमण रद्द गरेर काठमाडौंमा दुई दिन बिताए ।

वाङ फर्किएलगत्तै विदेश विभाग प्रमुख सोङ ताओ अहिले काठमाडौंमा छन् । सी जिनपिङ विचारधाराबारे दुई पार्टीबीच छलफल भयो र भाइचारा सम्बन्धको नयाँ समझदारीमा हस्ताक्षर भयो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपाका विदेश बिभाग प्रमुख माधव नेपाल र चीनका समकक्षी ताओले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यसले दुवै देशका कम्युनिस्ट सरकार अझ नजिक रहेर सहकार्य गर्न खोजिरहेको बुझ्न सकिन्छ ।

दुई देशका सत्तारुढ कम्युनिस्ट पार्टीहरुको संयुक्त बैचारिक प्रशिक्षण र त्यसमा प्रधानमन्त्रीकै संलग्नतालाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने आपत्ति जनाएको छ । कांग्रेसका नेताहरुले सत्तारुढ नेकपा सी जिनपिङ विचारधारातर्फ ढल्किदै नेपालमा पनि कम्युनिस्ट सत्ताको अभ्यासमा जान खोजेको आरोपसमेत लगाएका छन् ।

के नेकपा बिस्तारै कम्युनिस्ट सत्ताको अभ्यासमा जान खोजेको हो ? चिनियाँ कम्युनिस्ट पार्टीसँगको बैचारिक प्रशिक्षण र सघन सम्बन्धले नेपाललाई चीनतिर ढल्काउन खोजिएको हो ? यस्तै प्रश्नको जवाफ खोज्ने क्रममा अनलाइनखबरले नेकपाका विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग सवाफ जवाफ गरेको छ ।

यसपटक तपाईंहरुले सम्झौतामा हस्ताक्षर नै गरेर नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच नयाँ खालको सम्बन्ध स्थापित गर्न खोजेको हो ?

नेकपा एमाले र माओवादी दुवै घटक एक भएपछि हामीले एमओयू (समझदारीपत्र)मा हस्ताक्षर गरेका छौं । पार्टी एकीकरणपछि यो पहिलो हो तर, हाम्रोबीचको सम्बन्ध चाहिँ नयाँ होइन ।

पार्टी एकीकरणपछि हाम्रो पनि विदेश विभाग बन्यो, उहाँहरुको पनि विदेश विभाग पहिलेदेखि नै छँदैछ । चिनियाँ कम्युनिस्ट पार्टीसँग हाम्रो सम्बन्ध अलग अलग ढंगले पहिलेदेखि नै थियो । तर एकीकृत भइसकेपछि त्यो तहमा हामी गएका थिएनौं ।

समझदारीपत्रमा चाहिँ केके छ ?

मूल कन्टेन्ट के छ भने दुवै देशका कम्युनिस्ट पार्टीहरु अहिले सत्ता सञ्चालनमा छन् । दुवै देशमा कम्युनिस्ट पार्टीको सत्ता छ । दुवैले एक अर्काका अनुभव आदान प्रदान गर्न र एक अर्काबाट सिक्न तथा एक अर्काबारे जानकारी हासिल गर्न डेलिगेशन आदान प्रदान गर्न तयार भएका छन् ।

आउँदा दिनमा सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनका लागि हामी दुवैले प्रयास गर्नुपर्छ । यसका साथै हामीले दुवै देशबाट उच्चस्तरीय भ्रमण पनि आदान प्रदान गर्ने भनेका छौं । कार्यकर्ता तहको अध्ययन भ्रमणमा बृद्धि गरिने र जनस्तरको सम्बन्ध पनि अभिबृद्धि गर्दै विचार र सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्ने भनेका छौं ।

चिनियाँ कम्युनिस्ट नेताहरु समझदारीपत्रमा हस्ताक्षर गर्न आएका हुन् कि तपाईंहरुलाई प्रशिक्षण दिन ?

चिनियाँ कमरेडहरु आउने बेला पारेर दुवै पार्टीको बीचमा समझदारीपत्रमा हस्ताक्षर गरौं भन्ने उहाँहरुको प्रस्ताव हो । प्रस्ताव राम्रो लाग्यो र हामीले दुवैको पारस्परिक हितका लागि यो सम्झौता गरेका हौं ।

चीनको कम्युनिस्ट पार्टीको चिन्ता पनि कसरी पार्टी बलियो बनाउने, कसरी कार्यकर्तालाई प्रशिक्षित गर्ने, अनुशासनको हिसाबले कसरी अघि बढाउने र भ्रष्टाचारबाट मुक्त गरेर कार्यकर्तालाई कसरी जनताको बीचमा लोकप्रिय बनाउने भन्ने उहाँहरुलाई पनि छ । हामीलाई पनि यहि चिन्ता छ ।

त्यसैगरि मुलुक सञ्चालन गर्ने सन्दर्भमा पनि हाम्रा समान चासो र चिन्ताहरु रहेका छन् । भ्रष्टाचारबाट कसरी मुक्त गर्ने, सुशासनको अनुभूति कसरी दिने भनेर बिभिन्न तहका सरकार सञ्चालनका सन्दर्भमा पार्टीकै नेताहरु, स्थानीय तहका प्रतिनिधिहरु प्रशिक्षित गर्नुका साथै अनुभवको आदान प्रदान गर्न उहाँहरु आउनुभएको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले त सत्तारुढ पार्टी सी जिनपिङ विचारधारातिर लाग्यो भनेर आपत्ति जनाइरहेको छ । कतिपय नेताले त नेकपा, चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संगठन भयो समेत भनेका छन् । यो चासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

भ्रातृत्वको सम्बन्ध त छ । तर यो भनेको भाइ होइन । यसलाई चाहिँ फ्रेटरनल रिलेसन भन्छन् ।

हाम्रो पार्टीले संसारका पार्टीहरुसँग तीन किसमका सम्बन्ध राख्दै आएको छ । पहिलो सम्बन्ध हामीले कम्युनिस्ट र माक्र्सवाद मान्ने पार्टीहरुसँग फ्रेटरनल रिलेसन राख्छौं । दोस्रो, अफिसियल रिलेसन भन्छौं । अफिसियल पार्टीहरुसँग हामी औपचारिक सम्बन्ध राख्छौं । तेस्रो चाहिँ फ्रेण्ड्ली रिलेसन । दुवैका भावनाहरु मिले वा साझा मुद्दाहरुमा मिलेर जान सक्ने भयौं भने त्यो खालको सम्बन्ध राख्ने हाम्रो नीति छ ।

त्यसकारण कम्युनिस्ट पार्टीहरुसँग हाम्रो सम्बन्ध भ्रातृत्वकै हुन्छ नि । चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी भ्रातृत्व गाँसिएका संगठन हुन् । यसबाट कांग्रेस आत्तिनु पर्दैन ।

हामी स्वतन्त्र देशको स्वतन्त्र पार्टी हौं । आआफ्नै विचारधारा छन् । सी जिनपिङ विचारधारा चिनियाँ कम्युनिस्ट पार्टीको पिचारधारा हो । यो विचारधाराले चीनको कम्युनिस्ट पार्टी कार्यकर्ता र देशलाई निर्देशित गरिरहेको छ ।

हाम्रो पार्टीलाई माक्र्सवाद लेनिनवादले निर्देशित गरेको छ । अहिले हामीले अवलम्बन गरेको समाजवाद उन्मुख जनताको जनवाद होस् कि हिजो हामीले भन्ने गरेको जनताको बहुदलीय जनवाद तथा एक्काइसौं शताव्दीको जनवादको मान्यताले हामीलाई निर्देशित गरिरहेको छ ।

हामीले आवधिक निर्वाचन, व्यक्तिको अधिकार, मानवअधिकार, स्वतन्त्र प्रेसको मान्यता, खुला समाजको मान्यतालाई मानेर अघि बढेका छौं । यसमा कांग्रेस आत्तिनु पर्ने कुरै छैन । अधिनायकवादी बाटोमा जाने कुरै आउँदैन । हामी लोकतान्त्रिक बाटोमै अघि बढ्छौं ।

चीनले जनताको सेवाका लागि देशको उन्नतीका लागि सी विचारधारा लिएको छ भने हामीलाई आपत्ति हुन्न ।

तर नेकपामा पनि चीनकै राजनीतिक मान्यतामा जान लागेको हो कि भन्ने चिन्ता विपक्षको हो कि ?

होइन त्यो चिन्ता गर्नुपर्ने केही आवश्यकता छैन । सी जिनपिङ विचारधाराले चीनलाई सम्बृद्ध बनाउन, चिनियाँ जनतालाई सुख प्रदान गर्न चीनको पार्टीलाई मार्गदर्शन गर्ने हो । हामी अरुका अनुभवबाट सिक्छौं । तर कपी गर्दैनौं भनेका छौं । कसैले गान्धीको फिलोसोफी मान्छ भने वा अरु कुनै सिद्धान्त लिन्छ भने तिनीहरुबाट हामी राम्रा कुरा त सिक्छौं नि ।

फेरि यो नयाँ कुरा पनि होइन । अस्ति भर्खरै मैले श्रीलंकामा गएर त्यहाँको कम्युनिस्ट पार्टीसँग सम्पर्क स्थापित गरेँ । भारतकै कम्युनिस्ट पार्टीहरुसँग हाम्रो भ्रातृत्वको सम्बन्ध छ ।

संसारभरका ८० वटा कम्युनिस्ट पार्टीसँग हाम्रो भाइचाराको सम्बन्ध छ । सम्बन्ध कम्युनिस्ट पार्टीसँगमात्र छैन, हामी त आइक्यापमा ३ सय भन्दा बढी पार्टी भएको फोरममा स्थायी कमिटी सदस्य छ । एशियन पोलिटिकल पार्टीज भनेको यस्तो संस्था हो, जसको म आफैं संस्थापक सदस्य हुँ । त्यसकारण यस्ता कुराबाट आत्तिनु पर्दैन । यो त दुई कम्युनिस्ट पार्टीबीचको निरन्तरको सम्बन्धको कुरा हो । चीन र नेपालका कम्युनिस्ट पार्टीबीच यस्ता प्रशिक्षण, अनुभवन आदान प्रदानहरु त निरन्तर हुँदै आएका छन् ।

तर सत्ता चलाइरहेको पार्टी चीनति ढल्कियो भनेर ठूलै खैलाबैला त भयो नि ?

हामी कतै पनि ढल्किदैनौं । चीनको कम्युनिस्ट पार्टीसँग कांग्रेसले पनि आफ्नो सम्बन्ध राखेको छ । त्यसलाई उसले पनि मित्रतापूर्ण सम्बन्ध नै भन्छ । आफूले सम्बन्ध राख्न हुने, डेलिगेशन पठाउन हुने, डेलिगेशन आफ्नो देशमा निम्ता गर्न हुने, अनि दुईटा कम्युनिस्ट पार्टीको नियमित सम्बन्धमा चाहिँ आपत्ति किन ?

हिजो गिरिजाबाबुले पनि चिनियाँ कम्युनिस्ट पार्टीको डेलिगेशन बोलाउनुभएको इतिहास छ । अहिलेका कांग्रेस नेताहरुलाई थाहा नभएको होला । इतिहास पढ्नु राम्रो होला, तर आत्तिनु पर्दैन ।

सी जिनपिङ विचाराधारा चाहिँ तपाईहरुले बुझ्न खोजेको कि अपनाउन खोजेको ?

एक अर्काका विचाराधारा त बुझ्नैपर्छ नि । मैले संसारभर गएर नेपालको शान्ति प्रक्रियाको बारेमा त्यत्रो ब्याख्या गरेको छु । हाम्रो पार्टीको धारणाको ब्याख्या गरेको छु । ब्याख्या गर्ने बित्तिकै त्यहाँका पार्टीले अपनाउछन् त ?

म आफैंले हाम्रो देशको विशेषता, हाम्रो पार्टीको बिशेषताबारे युरोपका धेरै फोरमहरुमा भाषण गरेको छु । आफ्नो विचार त जसले पनि अरुलाई बताउनका लागि प्रयत्न गर्नुपर्छ ।

विपक्षीको चिन्ता चाहिँ सी विचाराधारतिरै जाने हो कि भन्ने देखियो, हुन त प्रधानमन्त्रीले हामी कसैको भद्दा नक्कल गर्दैनौं भन्नु भएको छ तर आश्वस्त पार्नुपर्ने केही कुरा छन् कि ?

यो चाहिँ नबुझेर भएको चर्चा हो । विचाराधाराहरुबारे छलफल हिजो पनि हुन्थे, भोलि पनि हुन्छन् । हामी कुनै पनि विचारको नक्कल गर्ने कुराको शुरुदेखि नै विरोधी हौं । हामी कसैको पनि नक्कल गर्दैनौं । आफ्नो देशको विशेषता नबुझेकाहरुले नक्कल गर्ने हो ।

भद्दा नक्कल नगर भनेर माक्र्सवादले नै हामीलाई सिकाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्से तुङले र स्वयं सी जिनपिङले पनि बताउनुभएको छ कि कसैको पनि अन्धानुकरण नगर ।

एउटा संयोग त देखियो नि, नेकपाले बहुमतको सरकार बनाए लगत्तै तपाईंकै अगुवाईमा नेपालमा विश्वभरका कम्युनिस्टहरुको भेला आयोजना भयो, अहिले विश्वकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीसँग समझदारीपत्रमा हस्ताक्षर सहित विचारको प्रशिक्षण लिइरहनुभएको छ यसले मुलुक वामपन्थीकरणतिर गएको हो कि भन्ने आशंका त देखियो नि होइन ?

वामपन्थीकरण त राम्रो कुरा हो । वामपन्थीकरणको फाइदा के छ भने गरीव जनताले सेवा पाउँछन् । सामाजिक न्याय स्थापित हुन्छ । जनतामा रहेको उत्पादकत्व क्षमता बढ्छ । देशभक्तिको भावना बढ्छ । वामपन्थीकरण भनेको अरु तानाशाहीकरण होइन भन्ने कुरा बुझ्नुपर्छ । यसबाट आत्तिनु पर्ने आवश्यकता छैन ।

नेपालमा अहिले दुई देशका कम्युनिस्ट पार्टीको संयुक्त प्रशिक्षणहरु चलिरहेका छन् र आजै समझदारीपत्रमा हस्ताक्षर पनि भयो, यसलाई चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा वार्मअप भनेर बुझ्दा कस्तो हुन्छ ?

अवश्य पनि यसले मद्दत नै पुर्‍याउँछ । किनभने चीनको राष्ट्रपति सीको नेपाल भ्रमण पहिलो पटक हुन गइरहेको छ । यो हामी सबैको निम्ति खुसीको कुरा हो ।

भारतको तर्फबाट पनि हामीले प्रधानमन्त्री लगायतको उच्चस्तरको भ्रमणहरु गरेका छौं । उहाँहरुलाई पनि हामीले स्वागत गरेका छौं । चीनबाट आउँदा पनि आत्तिनुपर्ने कुरा पनि छैन । यो उच्च तहको भ्रमण निकै लामो समयपछि सी जिनपिङको पालामा भइरहेको छ । यो भ्रमण दुई कम्युनिस्ट पार्टीको लागि मात्र होइन, दुवै मुलुकको लागि महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment