Comments Add Comment

‘हाम्रो पुस्ताले नेपाल क्रिकेटलाई दिने दिइसक्यौं, अब युवाको पालो’

हामीले वर्ल्ड क्रिकेट लिगमा जति पनि प्रतियोगिता खेल्यौं, त्यसमा नयाँ प्रयोग गर्ने अवसर नै पाएनौं । किनकी हरेक खेल जित्नैपर्ने दबाब हुन्थ्यो । त्यसैले हामीसँग भएको उत्कृष्ट टिमलाई खेलाउँथ्यौं ।

एकदिवसीय टिम भएपछि नयाँ क्रिकेटिङ साइकलमा प्रवेश गरेका छौं । त्यसको पूर्वसन्ध्यामा ओमान र सिंगापुर टूर पाएका छौं । ओमानको भ्रमण पहिल्यै तय भएको थियो तर, सिंगापुर टूर त एक महिना अगाडि मात्र पक्का भएको हो । यो टुर हाम्रा लागि युवा खेलाडीलाई अवसर दिने र राष्ट्रिय टिमको बेञ्च बलियो बनाउने अवसरका रुपमा लिएका छौं ।

हुन त हाम्रो राष्ट्रिय टिम आफैंमा युवा छ । म, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मी १५/१६ वर्षदेखि खेल्दै आएको भए पनि अरु युवाहरु नै छन् । त्यसमा पनि यो टुरमा युवा खेलाडीहरुलाई अवसर दिन खोजेका हौं । अहिले बसन्त, शरदहरुलाई ड्रप गरेको होइन, युवा खेलाडीहरुलाई अवसर दिनका लागि मात्रै उनीहरुलाई रेस्ट दिएका हौं । शरद र बसन्तले नेपाल क्रिकेटका लागि गरेको योगदानमा कुनै शंका छैन । आजको दिनमा पनि उनीहरु महत्वपूर्ण सदस्य हुन् ।

अब हामीले दिने बोनस भनेको एसिया कप छनोट, विश्वकपसम्म हुनसक्छ । तर यो भन्दा अगाडि पुर्‍याउन सक्दैनौं ।

युवाहरुलाई प्राथमिकता दिनुको अर्को कारण यो पनि हो कि क्रिकेटिङ प्वाइन्ट अफ भ्यूबाट हामी स्ट्यागनेन्ट (गतिहीन) भइसकेको जस्तो महसुस हामी आफैंलाई भएको छ ।

हामीले दिने बोनस विश्वकप हुनसक्छ

मैले यो धेरैपटक भनेको छु । स्ट्यागनेन्ट भनेर भन्न खोजेको के हो भने म, ज्ञानेन्द्र, शरद, बसन्त र शक्ति गौचन (सन्यास लिइसकेका) सँग जेजति क्रिकेटको ज्ञान थियो, त्यो युवा सदस्यहरुलाई दिइसक्यौं । अब हामीलाई पनि यस्तो विज्ञहरु चाहिन्छ, जसले केही सल्लाह देओस्, केही सिकाओस् ।

यसका बाबजुद हामीले गर्न सक्ने भनेको युवा खेलाडीहरुलाई उत्प्रेरणा मात्र हो । हाम्रो ब्याचले दिनसक्ने दिइसक्यौं । अब हामीले दिने बोनस भनेको एसिया कप छनोट, विश्वकपसम्म हुनसक्छ । तर यो भन्दा अगाडि पुर्‍याउन सक्दैनौं ।

त्यसैले अब हामीले युवा पुस्तालाई तयार गर्नुपर्छ, अन्तर्राष्ट्रिय अनुभव दिलाउनुपर्छ ।

पुस्तान्तरणको सुरुवात

शक्ति, म, ज्ञानेन्द्र, शरद र बसन्त हामी पाँच जना डिभिजन फाइभदेखि निरन्तर राष्ट्रिय टिममा छौं । अहिले म ३१ वर्षमा छु, अर्को महिना ३२ लाग्छु । शरद र बसन्त अझै दुई वर्ष जेठा हुन् । मलाई लाग्दैन कि हामीले अझै ४–५ वर्ष क्रिकेट खेल्न सक्छौं ।

तर पछिल्लो १०/१२ को तथ्यांकलाई हेर्ने हो भने धेरैजसो खेल सिनियर खेलाडीहरुले नै जिताएका छन् । टप फाइभ ब्याट्सम्यानको सूची बनाउनु भयो पारस, ज्ञानेन्द्र र शरद छुट्दैनन् । बलिङमा पछिल्लो समय सोमपाल (कामी), करण (केसी) र सन्दीप आएका छन् तर, बसन्त रेग्मी जहिल्यै टप फाइभमा पर्छन् ।

उनीहरुले प्रदर्शन मात्र गरेका छैनन्, टिमलाई ब्यालेन्स बनाउन पनि मेहनत गरेका छन् । जिम्मेवारी सिनियरहरुले लिएका छन् र युवालाई खेल मात्र भनेका छन् ।

अब हामी चाहन्छौं कि सिनियर खेलाडीले खेलुन्, जुनियर खेलाडीले नेतृत्व गर्न अग्रसर होउन् । किनकी व्यक्तिगत रुपमा भन्नुपर्दा पारस खड्काले अब नेपाल क्रिकेटलाई के दिनसक्छ ? जबसम्म खेल्छु, त्यसबेलासम्म नेपाललाई जिताउन सक्छु, जिताउन प्रयास गर्छु । ज्ञानेन्द्र, शरद, बसन्तको पनि त्यही हो । अब हामीले दिनसक्ने भनेको अनफिल्ड प्रदर्शन मात्र हो । जिम्मेवारी सम्हाल्ने पालो भने युवा पुस्ताको हो र म्याचविनर पर्फर्मर बन्नु उनीहरुलाई चुनौती छ ।

हुन त हामीकहाँ हार–जितका आधारमा मात्र नेपाली क्रिकेट अगाडि बढ्यो, बढेन भनेर हेर्ने गरिन्छ । मेरो विचारमा जबसम्म संरचनागत परिर्वतन हुँदैन, तबसम्म क्रिकेट टिमको प्रदर्शनका आधारमा मात्र राम्रो भयो वा भएन भन्नु सही हुँदैन ।

युवा खेलाडीमा जोश छ, दिशा छैन । त्यो दिशा क्रिकेट संघले दिनुपर्छ । सही तरिकाले संरचना दिने हो भने युवा खेलाडीले रामो नतिजा ल्याउँछन् ।

चमत्कारको आश नगरौं

हामी सबैले धैर्यता राख्नुपर्छ, विशेषगरी टिम र नतिजामा । नयाँ समूहमा फरक खालको उत्साह हुन्छ, यसले तत्कालका लागि राम्रो नतिजा पनि आउन सक्छ । तर राम्रो नतिजा आयो भन्दैमा यो नै हो टिम भन्ने पनि होइन ।

नतिजा सोचे जस्तो नआउन पनि सक्छ । त्यसैले हामीले तत्कालको नतिजा भन्दा दीर्घकालीन नतिजाका लागि सोच्नुपर्छ । नेपाली क्रिकेटको बेन्च, टिम बलियो होस् । किनकी भोलि गएर राष्ट्रिय टिमका लागि १३–१४ वर्षसम्म खेल्ने ब्याच यही हो । जसरी बसन्त, शरद, ज्ञानेन्द्र, म र शक्ति दाइले १५/१६ वर्ष खेल्यौं, त्यसरी नै उनीहरुले पनि खेल्नुपर्छ, नेपाली क्रिकेटको सेवा गर्नुपर्छ ।

हुन त हामीकहाँ हार–जितका आधारमा मात्र नेपाली क्रिकेट अगाडि बढ्यो, बढेन भनेर हेर्ने गरिन्छ । मेरो विचारमा जबसम्म संरचनागत परिर्वतन हुँदैन, तबसम्म क्रिकेट टिमको प्रदर्शनका आधारमा मात्र राम्रो भयो वा भएन भन्नु सही हुँदैन ।

फेरि पनि भन्छु, यो टिमलाई मूल्यांकन गर्न सम्भवत हामीले २०२० को अन्त्यसम्म पर्खिनुपर्ने हुन्छ । त्यसबेला हामीसँग अहिलेको राष्ट्रिय टिमबाहेक १० जना यस्ता खेलाडी हुनुपर्छ, जसले अर्को १०/१२ वर्ष नेपाल क्रिकेटको सेवा गरोस् । अहिलेको हाम्रो प्रयास पनि त्यही हो र आशा गर्छु यो छिटो होस् ।

किनकी तपाईं–हामीले चाहेका सबै कुरा हुँदैन । सौभाग्य नै भनौं, अबको केही दिनमा क्रिकेट संघ हामीसँग हुनेछ । आशा गरौं, जो नेतृत्वमा आउनुहुन्छ, उहाँहरुले क्रिकेट खेल र खेलाडीलाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ ।

हामी सीमित स्रोत र साधनका बवजुद यहाँसम्म आइपुगेका छौं । यो टिमले अब बढीमा विश्वकपसम्म खेल्न सक्ला । तर एकदिवसीय विश्वकप २०२३ अझै धेरै टाढा छ । अर्को वर्ष एसिया कप छनोट हुँदैछ । त्यसपछि टी–२० छनोट छ ।

तर हाम्रो अबको लक्ष्य भनेको टेष्ट राष्ट्र बन्ने हो । यसका लागि हामीलाई कम्तीमा पनि ६–८ वर्ष लाग्छ । क्रिकेट संघको संरचना ठीक भयो र भौतिक पूर्वाधार विकास गर्दै यो युवा टिमलाई राम्रो वातावरण बनाइदियो भने यो सम्भव छ ।

हाम्रो युवा पुस्ता एकदमै क्षमतावान छन् । हाम्रो समयमा भन्दा उनीहरुसँग नयाँ सूचना पनि छन् । यदि उनीहरुलाई राम्रो वातावरण बनाइदिने हो भने राम्रो नतिजा आउनसक्छ । तर भाग्य र भगवान भरोसाबाट नेपाली क्रिकेट चल्न सक्दैन ।

यो सबै हुँदाहुँदै पनि टेष्ट राष्ट्र बन्न २०१९ देखि आठ वर्ष समय लियौं भने पनि २०२७ मा पुग्छौं । त्यसबेलासम्म हामीले मैदानमा अहिले जत्तिकै खेलिराख्नुप¥यो, नजिता आइराख्नुपर्‍यो  र एकदिवसीय मान्यता कायम राख्नुपर्‍यो । किनकी आफ्नो लेभलमा पहिलो, दोस्रो नभएसम्म टेष्ट मान्यता पाउन सकिन्न ।

क्रिकेटलाई माया गर्ने नेतृत्व आओस्

नेपाली क्रिकेटमा रातारात परिर्वतन सम्भव छैन । अबको दुई–तीन वर्षमा अपवादबाहेक यही २५–३० जनाभन्दा अरु टिममा आउने सम्भावना कम देख्छु । तर अहिलेदेखि नै प्रणाली बसाल्यौं, सात प्रदेश र जिल्ला–जिल्ला नियमित क्रिकेट हुन थाल्यो भने क्रमशः नयाँ प्रतिभाहरु टिममा आउनेछन् ।

नेपालमा दर्शकको कमी छैन, मिडिया सपोर्ट राम्रो छ । फ्रेन्चाइज लिगहरुलाई हेर्ने हो भने फण्ड (आर्थिक स्रोत) को पनि त्यति ठूलो अभाव हुँदैन ।

तर यो सबै क्रिकेट संघको नेतृत्वसँग जोडिन्छ । अब आउने नेतृत्वले खेलाडीहरुले क्रिकेट बाहेक केही सोच्नु नपर्ने बनाओस् । अहिले पनि खेलाडीहरु समस्यामा छन् । दशैं आइसक्यो घरमा के लैजाने भन्ने चिन्तामा छन् । टिममा परेका खेलाडीहरुको त धेरथोर भए पनि भत्ता आउँछ । नपर्नेहरुलाई केही छैन । डिभिजन फाइभ खेल्दा आशा थियो, फोरमा पुगेपछि राम्रो हुन्छ । फोरमा पुगेपछि थ्री, थ्रीमा पुगेपछि दुई । तर अहिलेसम्म पनि धेरै खेलाडीहरु घरमा के लिएर जाने भन्ने समस्यासँग जुधिरहेका छन् ।

यसलाई अन्त्य गर्न (क्रिकेट संघमा) क्रिकेट खेल र खेलाडीहरुलाई माया गर्ने नेतृत्व चाहियो । तर यसभन्दा बाहिरको स्वार्थमा जाने हो भने हामी पछि पर्नेछौं । किनकी अरु देशहरुलाई हामीलाई भेट्टाउन थालिसके, कति त अगाडि गइसके ।

(सिंगापुर र ओमान टूरमा जानुपूर्व राष्ट्रिय टिमका कप्तान पारस खड्कासँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सरोज तामाङले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment