+
+
Shares

दुसित मल्टिनेसनल कम्पनीले लाजिम्पाटमा खोल्ने भयो होटल

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते ८:५९

९ असोज, काठमाडौं । थाइल्यान्डको मल्टिनेसनल हस्पिटालिटी कम्पनी दुसित इन्टरनेशनल कम्पनीले काठमाडौंको लाजिम्पाटमा सुविधासम्पन्न होटल निर्माण गर्ने भएको छ । विश्वका विभिन्न देशमा सुविधासम्पन्न होटल सञ्चालन गर्दै आएको दुसितले होटल ल्हासा इन्टरनेसनल प्रालिसँगको सहकार्यमा ‘दुसित प्रिन्सेस होटल’ सञ्चालन गर्न लागेको हो ।

दुईबीच थाइ विशेषताको सुविधासम्पन्न ब्रान्डेड होटल सञ्चालनका लागि सहमति भएको दुसित इन्टरनेशलले जनाएको छ ।

‘होटल ल्हासा इन्टरनेशनल प्रालिसँगको सहकार्यमा थाइ विशेषताको होटल सञ्चालन गर्ने सहमतिले हामी खुसी भएका छौं’, दुसित इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत लिम बून वीले सहमतिपछि जारी विज्ञप्तिमा भनेका छन्, ‘पुरातात्विक ऐतिहासिक सम्पदाले घेरिएको स्थल, विभिन्न देशका दूतावास र व्यापारिक क्षेत्र भएकाले यो अतिथिका लागि उपयुक्त हुनेछ ।’ उनले अतिथि सत्कारका लागि आफ्ना सबै अनुभवको उच्च प्रयोग गर्नेसमेत बताए ।

लाजिम्पाटमा खुल्न लागेको होटल १०८ कोठाको हुनेछ । होटलमा दिनभर सञ्चालन हुने डाइनिङ रेष्टुरेन्ट, आउटडोर स्विमिङ पुल र पुल बार सुविधा हुनेछ । त्यस्तै, रुफटप लन्ज बार, फिटनेस सेन्टर, स्पा र मिटिङका लागि उपयुक्त हल पनि रहनेछ । होटल सन् २०२० को पहिलो महिनामा सञ्चालनमा ल्याउने लक्ष्य दुसित र होटल ल्हासा इन्टरनेशनलले लिएका छन् ।

दुसितले नै दी दुसित थानी हिमालय रिसोर्ट एण्ड स्पा नामको अर्को माउन्टेन रिसोर्ट पनि सञ्चालनमा ल्याउँदै छ । सन् २०२१ सम्ममा सञ्चालनमा आउने रिसोर्ट नेपालको मध्य क्षेत्रमा खुल्ने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १ घण्टाको दुरीमा बन्ने यो रिसोर्टमा ४४ वटा गेष्ट रुम हुनेछन् भने २० वटा उच्चस्तरका भिलाहरु रहनेछन् । यी हरेक २० भिलाबाट हिमालको दृश्यावलोकन गर्न सकिने छ ।

थाइल्यान्डको बैंककमा हेडक्वार्टर रहेको दुसितले विश्वका अन्य देशमा पनि होटल सञ्चालन गरिरहेको छ । हाल १८ देशमा उसका २९ होटल सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?