Comments Add Comment

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी

९ असोज, सोलुखुम्बु ।  जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ७६ वर्षीय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा पुगेपछि एक्कासी भालुले आक्रमण गरेको थियो । उनको अनुहार, पेट, टाउको र खुट्टामा गम्भीर चोट लागेको वडा सदस्य उत्रमान खालिङले जानकारी दिए । उनका अनुसार घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

त्रासैत्रासमा बित्छ दिन

यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रका नागरिकको दैनिक त्रासैत्रासमा बित्ने गर्छ । यहाँका नागरिक रातभरि जाग्राम बस्ने गर्छन् । वर्षभरि खान लगाएको मकै बाली जोगाउनदेखि घरपालुवा जनवारको समेत रक्षा गर्न जाग्राम बस्नुपर्ने नगरपालिका–७ का चन्द्रमाण श्रेष्ठको भनाइ छ । हिजोआज मकै पाक्ने बेला भएकाले घर आँगनमै भालु आउँदा त्रासपूर्ण अवस्थामा बस्नुपरेको स्थानीयवासी बताउँछन् । एक रोपनी क्षेत्रफलमा लगाएको मकैबाली एकै रातमा सखाप पारिदिने गरेको नगरपालिका–७ नाजिङका बलराम खत्रीले बताए ।

दुई दिन अगाडि मात्रै करीब डेढ रोपनी क्षेत्रफलमा लगाएको मकै सखाप पारेको भन्दै गार्माका चन्द्रमाण श्रेष्ठले राहतको लागि वन डिभिजन कार्यालयमा निवेदनसमेत दर्ता गराएका छन् । निवेदन दर्ता गराएको भए पनि राहत पाउने आशा नभएको उनको भनाइ छ । अन्नबाली सखाप पारिदिने भए पनि राज्यले नागरिकको सुरक्षा र हुने सम्भावित क्षतिको मूल्याङ्कन गरी सहयोग गर्ने सवालमा चुकेको स्थानीयवासीको भनाइ छ ।

वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन । त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाएमा रु २० हजारसम्म, सख्त घाइते बनाएमा रु दुई लाखसम्म र मृत्यु भएमा मृतकको हकवालालाई रु १० लाखसम्म राहत उपलब्ध गराउने प्रावधान छ ।

निर्देशिका नै परिवर्तन गर्नुपर्ने

निर्देशिकामा जङ्गली जनवारले घरगोठ, पशुधन र अन्नबालीमा क्षति पुर्‍याएमा राहत रकम उपलब्ध गराउने व्यवस्था उल्लेख गरेको छ । क्षतिको प्रकृति र आवश्यक सिफारिशको आधारमा रु १० हजारसम्म राहत रकम उपलब्ध गराउन सक्ने भनी उल्लेख गरिएको छ । निर्देशिकाले परिभाषित गरेअनुसार जङ्गली जनवारमा हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउचितुवा, जङ्गली बदेल, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, मगर गोही, अर्ना, गौरीगाई र अजिङ्गर पर्छ ।

हात्ती, गैँडा, अर्ना र जङ्गली बदेलले अन्नबालीमा क्षति पुर्‍याएमा राहत उपलब्ध गराउने व्यवस्था उल्लेख गरे पनि अन्य जनवारले क्षति गरेमा राहत उपलब्ध नगराउने किटानका साथ सोही निर्देशिकामा लेखिएको छ ।

हिमाली जिल्ला सोलुखुम्बुमा अर्ना, हात्ती, गैंडा नहुने तर भालुले बारम्बार क्षति पु¥याउँदा राज्यले राहत उपलब्ध गराउनेतर्फ ध्यान नदिएको यहाँका स्थानीयवासीको गुनासो छ । गार्माका चन्द्रमाण श्रेष्ठले भालुले मकैलगायतको अन्नबाली सखाप पार्ने तर राज्यले राहत दिने व्यवस्था नगर्दा समस्या भएको बताए । तराईका जिल्लामा हुने क्षतिलाई हिमाली तथा पहाडी क्षेत्रमा समेत राखिँदा कृषक मारमा परेको महाकुलुङका युमन खालिङले बताए । हाल क्रियाशील रहेको निर्देशिकासमेत तत्काल पुनरावलोकन गरी क्षेत्रअनुसार राहत वितरणको व्यवस्था गर्न उनीहरुले मागसमेत गरेका छन् ।

अघिल्लो वर्ष नौ जना भालुको आक्रमणबाट घाइते भएका थिए भने चालू वर्षमा मात्रै चार घाइते भएका छन् । भालुले सताउन थालेपछि यहाँका स्थानीयले मार्न पाउनुपर्ने या सुरक्षाको ग्यारेण्टी हुनुपर्ने मागसमेत राख्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत लिखितरूपमा निवेदन दिँदै भालु नियन्त्रणका लागि माग गरेका छन् । भदौ ५ गते मात्रै सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ३ मा स्थानीयवासीले थापेको ट्रयापमा भालु फसेको थियो । डिभिजन वन कार्यालय, जिल्ला प्रशासन र प्रहरीको समन्वयमा उक्त भालुको उद्धार गरी अहिले काठमाडौंमा उपचार भइरहेको डिजिभन वन कार्यालय प्रमुख इन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment