Comments Add Comment

मिलिसेकेन्डको महत्व त्यसपछि बुझेँ

दौडेको अनुभव त संसारका सबै मानिसहरुसँग हुन्छ । कोही गन्तव्यमा पुग्न हतारोले दौडिन्छन् । कोही कुकुरले लखेटेर दौडिन्छन् । कोही चाहिँ स्वस्थ हुन दौडिन्छन् । म चाहिँ आफ्नो पेट पाल्न दौडिन्छु ।

हो, दौडेर पनि पेट पाल्न सकिँदो रहेछ । पेट पाल्न मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा देशको इज्जत राख्न पनि सकिँदो रहेछ, तर त्यसका निश्चित स्थानमा, निश्चित नियम पालना गरेर दौडिनुपर्छ ।

एक दशक भयो म नियममा दौडिन थालेको । यसरी नियममा रहेर दौडिनु खेलकुदको एउटा अंग हो, जुन एथलेटिक्स विधाभित्र पर्छ । मलाई पनि एसएलसी पढ्दासम्म एथलेटिक्सको विषयमा केही थाहा थिएन । म त जीवन निर्वाहको लागि सेनामा भर्ती भएको मान्छे । त्यही सेनाको जागिरले मलाई खेलाडी बनाइदियो ।

यसबीचमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा दौडिएँ । जीत हारका धेरै अनुभव संगालेँ । देशका लागि खेल्दाखेरिको गौरव र दबाव, पदक जित्दाखेरिको उल्लास, हार्दाखेरिको खिन्नता । अनेकन अनुभूतिहरु छन् । धेरै कथाहरु छन् ।

हुन त म खेलकुदको कुनै महारथी होइन । तर खेलाडी भइसकेपछि देशलाई केही गरुँ भन्ने हुँदो रहेछ । त्यही भावनाले उर्जा दिँदो रहेछ । जोश थप्दोरहेछ र कुदाउँदो रहेछ ।

१८ वर्ष पार गरिसक्दा पनि एथ्लेटिक्सको ‘ए’ नजान्ने म कसरी यहाँ आएँ ? कसरी खेलकुदलाई आफ्नो करिअर बनाएँ, सबै कुरा भन्ने नै छु । तर सुरुवात चाहिँ एउटा नमिठो क्षणबाट गर्छु । भनिन्छ नि, ‘सुरुका तीतो पछिको मिठो ।’

००००

सन् २०१० मा बंगलादेशमा सम्पन्न भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता । म खेलकुदमा भर्खर छिरेको युवा खेलाडी थिएँ । मसँग अनुभवको कमी थियो नै । त्यही अनुभवहीनताले डुबायो मलाई ।

युवा जोश थियो । स्वर्ण पदक जित्ने आकांक्षाले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै थिएँ । मनमा अलिकति डर पनि थियो । त्यो बेला म उपाधि नजिक पुगेर पनि चुकेँ । अहिले सम्झिदा दुःख लाग्छ ।

म, श्रीलंकन खेलाडी र दुई भारतीय खेलाडीको समय ४ मिनेट १० सेकेन्ड नै थियो । तर मिली सेकेन्डले म पछि परेँ । चौथो स्थानमा खुम्चिनुपर्‍यो । स्वर्ण जित्नेकै हाराहारीमा दौडिँदा पनि म पदकविहीन भएँ ।

स्वर्ण जित्ने संघारमा पुगेर पनि अन्ततः पदकविहीन बन्नुपर्दा मलाई धेरै नमिठो लाग्यो । मैले त्यसबेला बोध गरेँ, खेलाडी जीवनमा मिनेट वा सेकेन्डको मात्र होइन, मिलिसेकेन्डको पनि महत्व हुँदो रहेछ ।

००००

धादिङको फुलखर्कमा मेरो बाल्यकाल बित्यो । अहिले गंगाजमुना गाउँपालिका भएको छ । आफ्नो जन्मस्थान जसलाई पनि प्यारो नै लाग्छ । मलाई पनि नलाग्ने कुरै भएन ।

बाल्यकालका यादहरु निकै छन् स्मृतिमा । गाउँले जीवन त्यही त हो । डाँडा–पाखा, उकाली–ओराली गर्‍यो । घरायसी कामहरु भइहाल्छन् । बिहान बेलुका पढ्ने सोचाइ हुन्थ्यो । दिउँसो फुर्सदको समयमा फुटबल खेल्ने गरिन्थ्यो । त्यसरी नै बाल्यकाल बित्यो ।

सानो छुँदा एथ्लेटिक्सलाई खेलको रुपमा कहिल्यै खेलिएन । एथ्लेटिक्स यसरी खेलिन्छ भन्ने चाहिँ जानेबुझेकाहरुले भन्थे । तर खेल्ने वातावरण र स्थान थिएन । जिल्ला सदरमुकाममा यस्तो मैदान हुन्छ भन्ने चाहिँ थाहा थियो ।

स्कुल तहसम्म मैले त्यहीँ पढेँ । एसएलसी सकेपछि उच्च शिक्षाको लागि म काठमाडौं आएँ । प्लस टु गरेँ । पढेर मात्रै हँुदैन भन्ने मनमा थियो । जागिरको खोजीमा थिएँ । आफ्नै खुट्टामा उभिनु थियो मलाई ।

२०६३ सालमा आर्मीमा सिपाहीको जागिर खुल्यो । सैनिक बन्ने लक्ष्य बनाएर म अभ्यास गर्न थालेँ । कठिन मेहनतपछि सिपाही बन्न सफल पनि भएँ ।

सैनिक सेवाबाटै मेरो एथ्लेटिक्समा लाग्ने आधार बन्यो । हुन त म जागिरे मानसिकताले नै भर्ना भएको थिएँ । खेलाडी बन्छु र एथ्लेटिक्समा लाग्छु भनेर सोचेको पनि होइन । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिने कुरा मेरो उद्देश्यभित्रै थिएन । त्यस्तो केही सपना नै देखेको थिइनँ ।

अभ्यास गर्दै हरि रिमाल (सेतो ड्रेसमा)

सिपाहीको अभ्यासका दौरानमा धेरै दौडिनुपर्थ्यो। जुनसुकै दौड पनि म सहजै पार गर्थे । मेरो कुदाइको बेग अरुको भन्दा तीब्र थियो । त्यही भएर गणले मलाई दौड प्रतियोगितामा भाग लिन पठाउन थाल्यो । त्यो बेला म १८ वर्षको थिएँ । आर्मीको आधारभूत तालिम सकेपछि नै मलाई एथ्लेटिक्स खेलतर्फ हालिदिनुभयो । त्यसपछि बल्ल मैले एथ्लेटिक्स बुझेँ । अनि गम्भीर भएर खेल्न थालेँ । कुद्न थालेँ ।

००००

मैले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेर पदक जितेको छु । दुई वटा एसियन गेम्स खेलेँ । तीन वटा एसियन च्याम्पियनसिपमा भाग लिएँ । यसैगरी दुई वटा साउथ एसियन गेम्स, क्रस कन्ट्रिदेखि ओलम्पिक गेम्ससम्म खेलेको अनुभव छ ।

एथ्लेटिक्समा लागेको वर्ष दिन पनि नबित्दै २०६४ मा म राष्ट्रिय च्याम्पियन भएँ । त्यसबेला १५०० मिटरमा साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपको छनोटमा पहिलो भएको थिएँ ।

मलाई राष्ट्रिय टिममा स्थान बनाउन धेरै समय लागेन । २०६५ सालमा भएको पाचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मैले विभागीय टिम आर्मीबाट खेलेँ । मेरो प्रदर्शन राम्रो पनि भयो । मैले १५ सय मिटरमा स्वर्ण पदक जितेँ । तर दुर्भाग्य भनौं, स्वर्ण पदक हातमा लिन चाहिँ पाइनँ । किन त ? यसको कारण पनि भन्छु ।

त्यसबेला राष्ट्रिय खेलकुदमा माओवादीको पीएलए क्लबले पनि भाग लिएको थियो । जनसेना भनिने पूर्व विद्रोही समूहको सहभागिताको कारण देखाउँदै सेनाले जितेको पदक लिन अस्वीकार गर्‍यो । त्यसपछि त्यही कारण देखाएर छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता आर्मीले खेलेन ।

सन् २००९ मा चीनमा भएको १७ औं एसियन एथ्लेटिक्स च्याम्पियनसिप मलाई याद आइरहन्छ । यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । मैले १५ सय मिटर र ५ हजार मिटर गरी दुई स्पर्धामा भाग लिएको थिएँ । यसमा गुरुले सोचेको भन्दा र आफ्नै क्षमताभन्दा पनि राम्रो गरेँ जस्तो लाग्छ । १५ सय मिटरमा ३ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गरेको थिएँ भने ५ हजार मिटर मैले १४ मिनेट ३६ सेकेन्डमा पूरा गरेँ । गुरु पनि मेरो टाइमिङबाट खुशी हुनुभएको थियो ।

मैले २०१० र २०१४ को एसियन गेम्स खेलेँ । २०१० को एसियन गेम्समा मेरो प्रदर्शन निकै राम्रो भएको थियो । हिट चरण पार गरेर फाइनल चरण खेलेको थिएँ । १५ सय मिटरको दौड मैले ३ मिनेट ५० सेकेन्डमा पूरा गरेको थिएँ ।

तर २०१४ मा कोरियामा भएको एसियन गेम्समा भने मेरो प्रदर्शन सोचे अनुसारको भएन । नेपालबाट कोरिया प्रस्थान गर्नुअघि नै मेरो मनोबल गिरिसकेको थियो । त्यसबेला विशेष कारणले हाम्रो फ्लाइट तीन दिन पछि सरेको थियो । कोरियामा जहाजबाट ओर्लेर म सिधै मैदानमा छिर्नुपरेको थियो ।

विश्रामबिना एक्कासी खेल्नु पर्दा मेरो प्रदर्शन गतिलो हुन सकेन । त्यसलाई एकप्रकारको दुर्भाग्यकै रुपमा लिएको छु ।

००००

तीता अनुभवसँगै मिठा क्षणहरु पनि कम्ती छैनन् । जसमध्ये सन् २०१४ को मलेसियन एथ्लेटिक्स च्याम्पियनसिपमा देशको लागि स्वर्ण पदक जित्दाको क्षण विशेष छ ।

मलेसिया एथ्लेटिक्स संघको आयोजनामा अन्तर्राष्ट्रिय मलेसियन एथ्लेटिक्स च्याम्पियनसिपमा जितेको त्यो स्वर्ण मेरो खेल करिअरको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।

आधिकारिक नभए पनि अन्तर्राष्ट्रियस्तरमा स्वर्ण पदक जित्दाको खुशी बेग्लै हुन्छ । अन्तर्राष्ट्रिय खेल एरिनामा आफ्नो देशको झण्डा फरफराउनुको गौरव कमैले पाउँछन् । त्यो खुशी, त्यो गौरव मैले पनि पाएँ ।

हामी गएकामध्ये एक जनाले बाहेक सबैले पदक जितेका थियौं । मैले ५ हजार र १० हजार मिटरमा स्वर्ण पदक जितेको थिएँ ।

घरेलु प्रतियोगितामा भने धेरै स्वर्ण पदक जितेको छु । कान्तिपुर हाफ म्याराथनमा मैले लगातार चारपटक स्वर्ण जितेँ । त्यसमा पनि हाफ म्याराथनको राष्ट्रिय रेकर्ड राखेको छु । एउटै प्रतियोगितामा चारपटक लगातार उपाधि जित्नु भनेको चानचुने कुरा होइन । त्यसमा पनि हाफ म्याराथनमा निकै प्रतिस्पर्धा हुने गरेको छ । अहिले एउटाले उपाधि जितेको छ भने अर्को साता अर्कैले जित्न सक्छ । त्यस्तोमा लगातार चार वर्षसम्म जितिरहनु मेरो खेल करिअरको अर्को सफलता जस्तो लाग्छ ।

पूर्वञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १५ सय मिटरमा स्वर्ण पदक जितेँ । त्यो बेला मेरो टाइमिङ ४ मिनेट ४ सेकेन्ड थियो । ५ हजार मिटरमा रजत र १० हजार मिटरमा कास्य पदक जितेको थिएँ । तर बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो गर्न सकिन । त्यसमा स्वर्ण पदकको लक्ष्य थियो । भ्यासको दौरानमा घाइते पनि भएको थिएँ । फिटनेश राम्रो थिएन । त्यसैले म चुकेँ ।

आठौंमा मेरो खेल बिग्रिएपछि मैले निकै मेहनत गरे । आफुलाई फिट बनाए । त्यसले अहिले असर परेको छैन । अहिले म पूर्ण रुपमा फिट छु ।

००००

ओलम्पियन खेलाडी बन्ने सपना थियो मेरो । त्यो पूरा भयो । अब सागमा नेपाललाई स्वर्ण दिलाउने अर्को सपना छ ।

हामी ओलम्पिकमा जाने भनेको वाइल्ड कार्डमार्फत नै हो । त्यसमा पनि व्यक्तिगत प्रदर्शन हेरिन्छ र आफ्नो मान्छे पनि हेरिन्छ ।

०१६ मा भारतको गुवाहाटीमा भएको १२ औं साग खेलकुदमा पनि कास्य पदक जितेँ । एथ्लेटिक्समा मैले मात्रै एउटा कास्य पदक जितेको थिएँ । अरु सबै शून्य भयो । मैले त्यो बेलामा पाँच हजार मिटरमा कास्य पदक जितेको हुँ । अन्तर्राष्ट्रिय प्रतियोगितामा कास्य पदक जित्नु भनेको पनि मेरो लागि ठूलै थियो ।

त्यही सागमा जितेको कास्य पदकले मलाई २०१६ मै भएको रियो ओलम्पिकसम्मको लागि डोर्‍यायो । जुन मेरो एउटा सपना थियो । यदि मैले सागमै राम्रो प्रदर्शन गर्न नसकेको भए ओलम्पिकमा खेल्ने सपना सायद अधुरै रहन्थ्यो होला ।

ओलम्पिक खेलकुदमा प्रतिस्पर्धाका लागि मैदानमा छिर्दा छुट्टै अनुभव हुँदोरहेछ । राम्रै गर्नुपर्छ भन्ने लक्ष्यमा थिए । त्यहाँ विश्व च्याम्पियनदेखि लिएर धेरै स्तरका खेलाडीहरु थिए । विश्व च्याम्पियनहरुसँगै म पनि दौडिदै थिए । आफूलाई कसरी राम्रो गरुँ भन्ने लागि रहेको थियो ।

मैले ५ हजार मिटरमा प्रतिस्पर्धा गरेको थिएँ । मेरो टाइमिङ १४ मिनेट ४४ सेकेन्ड रह्यो । यहाँ स्वदेशमा हुदा १४ मिनेट ३२ सेकेन्ड थियो ।

००००

अझै पनि गुरु तथा साथीहरु १३ औं साग तोकिएकै समयमा हुनेमा सशंकित हुनुहुन्छ । म पनि अन्योलमै छु । सरकारले १३ औं साग हुन्छ भन्ने विश्वास अझै खेलाडीमा दिलाउन सकेको छैन ।

तर पनि हामी अभ्यासमा जुटिरहेका छौं । आफ्नो तर्फबाट जति सकिन्छ त्यति अभ्यास गरिरहेका छौं ।

अहिले हामी क्लोज क्याम्पमा छौं तयारीमा रहेको करिब एक महिना भयो होला । तयारी ठीकै छ । त्यस्तो एकदम राम्रो भनेर गर्व गर्नुपर्ने ठाउँ छैन । गुरुहरुको र हाम्रो प्रयासले सन्तोषजनक नै तयारी गरिरहेका छौं ।

मेरो व्यक्तिगत भन्नुपर्दा स्वर्ण पदक जित्नेमै ध्यान केन्द्रित गरिरहेको छु । आफ्नो देशको लागि स्वर्ण पदक दिलाउन पाए आफलाई भाग्यमानी मान्नेछु ।

११ औं सागमा राजेन्द्र भण्डारी दाइले स्वर्ण पदक ल्याउनुभएको थियो । त्यसयता नेपालले स्वर्ण पदक जित्न सकेको छैन । १२ औं सागमा राम्रो प्रदर्शन हुन सकेन । अब विगतको प्रदर्शनलाई हेर्दै १३ औं मा कसरी राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने नै हो ।

निकै ढिलो गरी तयारी सुरु भयो । तयारीमा सन्तोष मान्ने ठाउँ नै छैन । एउटा खेलको पनि दुई–तीनवटा होटलमा बसेर तयारी गर्नुपरेको छ ।

यो पटक सागमा म ५ हजार र १० हजार मिटरमा प्रतिस्पर्धा गर्नेछु । तर सागभन्दा अगाडि फाइनल छनोट हुन्छ । त्यो ढोका पार गरे मात्रै साग खेल्न पाहिन्छ ।

लक्ष्य त हाम्रो स्वर्ण पदक जित्ने नै हो । तर धेरै गाह्रो छ किनभने हामी भन्दा धेरै माथि श्रीलंका र भारत पुगिसक्यो तर हामी भने उही स्तरमा छौ । हाम्रो केही पक्ष सुधार भएको छैन । तर पनि आशा गरौं राम्रो नतिजा ल्याउँछौं ।

००००

हरेक खेलाडीको खेलजीवन निश्चित अवधिका लागि हुन्छ । अहिले म ३२ वर्षको भएँ । अब केही वर्षपछि मैले पनि सन्न्यास लिनुपर्ने हुन्छ । तर, एथलेटिक्सबाट सन्न्यास लिनुको मतलब दौडबाटै अलग हुनु होइन । जिन्दगीको दौड त चलिरहन्छ । गति बदलिएला, शैली बदलिएला तर दौडिनु त छ नै ।

प्रस्तुति : सरोज तामाङ
तस्वीर/भिडियो : विकास श्रेष्ठ

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ५५ औं अंकमा यो हप्ता एथ्लेटिक्स खेलाडी हरि रिमालको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment