Comments Add Comment

साउदीका क्राउन प्रिन्सले लिए खाशोज्जीको हत्याको जिम्मेवारी

१० असोज, काठमाडौं । साउदी अरवका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले सार्वजनिक रुपमा पत्रकार जमाल खाशोज्जीको हत्याको जिम्मेवारी लिएका छन् ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार सलमानले आफ्नै उपस्थितिमा घटना भएको बताएका हुन् । उनले आगामी साता प्रसारण हुने पीबीएसको एक डकुमेन्ट्रीमा यस्तो बताएका हुन् ।

खाशोज्जीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएको थियो । घटनामा साउदी सरकारको अलोचना भएको थियो भने सीआईए र पश्चिमा देशहरुले क्राउन प्रिन्सकै निर्देशनमा खाशोज्जीको हत्या भएको दाबी गरेका थिए ।

यो घटनाले क्राउन प्रिन्सको छविमा भने नराम्रो धक्का लाग्यो । घटनापछि उनले अमेरिका र युरोपको भ्रमण पनि गरेनन् ।

तर, साउदी अधिकारीले घटनामा सलमानको भूमिका नरहेको दाबी गर्दै आएका थिए । खाशोज्जीको हत्या भएको वर्ष दिन एक अक्टोबरमा एक डिकुमेन्ट्री प्रशारण हुनेछ, जसको नाम ‘द क्राउन प्रिन्स अफ साउदी अरेबिया’ छ ।

यसमा क्राउन प्रिन्सले भनेका छन्, ‘यो म रहँदै भएको हो । म यसको सम्पूर्ण जिम्मेवारी लिन्छु ।’

डकुमेन्ट्रीमा जब मार्टिन स्मिथले मोहम्मद बिन सलमानलाई सोधेका थिए कि उनलाई जानकारी नदिई यो हत्या कसरी भयो ? जवाफमा क्राउन प्रिन्सले भनेका छन्, ‘हामी दुई करोड मानिस छौं । हाम्रा ३० लाख सरकारी कर्मचारी छन् ।’
स्मिथले फेरि सोधे कि हत्याराले सरकारको निजी जेटको प्रयोग गरेको थियो ? जवाफमा उनले भने, ‘हामीसँग अधिकारी र मन्त्रीहरु छन्, जसले कामकारबाही हेर्छन् र उनीहरु जिम्मेवार अधिकारीहरु हुन् । उनीहरुसँग यस्तो गर्ने अधिकार छ ।’

सुरुमा खाशोज्जीको साउदी अरबको शाही घरानासँग राम्रो सम्बन्ध थियो तर पछि उनले आलोचना गर्न थालेका थिए । उनी अमेरिकी पत्रिका वाशिङटन पोष्टका पत्रकार थिए र अन्तिम पटक २ अक्टोबरमा इस्तानबुलस्थित साउदीको बाणिज्य दूताबासमा देखा परेका थिए । रिपोर्टहरुमा जनाएअनुसार उनको शव टुक्राटुक्रा पारेर बाहिर पठाएकाले दूताबासमा केही भेटिएन ।

घटना भएको केही समयपछि रियादमा भएको एक लगानी सम्मेलनमा क्राउन प्रिन्सले यो एक जघन्य अपराध भएको बताउँदै संलग्नलाई कानूनी कठघरामा ल्याउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment