Comments Add Comment

इण्डो-प्यासिफिक चीनका लागि पनि हो : अमेरिकी राजदूत

१० असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले इण्डो-प्यासिफिक स्ट्राटेजी (भारत प्रशान्त रणनीति) चीन वा अन्य कुनै देशको विरोधी नभएको बताएका छन् । आलोचकहरूले इण्डो-प्यासिफिकलाई सैन्य गठबन्धनको रुपमा अथ्र्याइरहेका बेला अमेरिकी राजदुतको यस्तो धारणा आएको हो ।

राजधानीमा शुक्रबार आयोजित ‘नेपालमा अमेरिकी विदेश नीति’ शीर्षकको कार्यक्रममा बोल्दै बेरीले भने, ‘इण्डो-प्यासिफिक स्ट्राटेजी चीन, भारत वा अन्य देशका लागि समेत हो ।’

इण्डो-प्यासिफिक स्ट्राटेजी कुनै रणनीति नभइ अमेरिकाको पुरानै नीति भएको राजदुत बेरीले दोहोर्‍याए । उनले अमेरिका अन्तराष्ट्रिय व्यापारका लागि स्वतन्त्र, खुल्ला तथा सुरिक्षत वातावरणको पक्षमा रहेको र यसबाट चीन, भारत लगायतका देशले लाभ लिन सक्ने दाबी गरे ।

इण्डो-प्यासिफिकमा नेपालको सहभागीताबारे विभिन्न टिप्पणी भइरहेका बेला बेरीले आफूहरूले कसैलाई पनि यसमा सहभागी हुन दवाव नदिएको बताए । उनले नेपाल कसैको पक्षमा नभइ नेपालकै पक्षमा रहेको देख्न चाहेको उल्लेख गरे ।

राजदूत बेरीका अनुसार साना र सार्वभौम सबै देशहरुले इण्डो-प्यासिफिकबाट लाभ लिन सक्नेछन् । उनी भन्छन्, ‘नेपाल बलियो हुँदा अमेरिका समेत बलियो हुन्छ र अमेरिका बलियो हुँदा नेपाल बलियो हुन्छ ।’

नेपाल-अमेरिका सम्बन्धको सात दशकमा अमेरिकाले नेपाललाई गरेको विभिन्न सहयोगबारे पनि उनले कार्यक्रममा चर्चा गरे । मिलीनियम चुनौती कर्पोरेशन सम्झौता कार्यान्वयन नभएको प्रति पनि उनले चासो व्यक्त गरे ।

द्विपक्षीय विदेश सम्बन्धको विषयमा आइरहेका गलत सूचनाले आफूलाई चिन्तित तुल्याए पनि निरास भने भइनहालेको बेरीको भनाइ छ ।

इन्स्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो-इकोनिक रिसर्च (आइएसएसआर)द्वारा आयोजित कार्यक्रममा पूर्व राजदुत विश्वम्भर प्याकुरेल, ज्ञानचन्द्र आचार्य, दिनेश भट्टराई, सुशील प्याकुरेल, प्रतिनिधिसभाकी सदस्य सुजिता शाक्य लगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment