
१० असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टी एकतामा आएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन टुंगो लगाएको छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको प्रस्तावलाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको छ ।
निर्णयअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाउनेछ । साथै केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजन प्रस्तावलाई समेत ध्यानमा राखेर सहमतिका आधारमा समावेश गर्ने कांग्रेसले बताएको छ ।
गच्छदार समूहले २०० जना महासमिति सदस्य र (१४८ जना पर्यवेक्षक यसअघि नै पाइसकेको छ । अब २५२ महाधिवेशन प्रतिनिधि पाउनेछ ।
पार्टीका विभाग गठन गर्दा सहमतिका आधारमा गर्ने र प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने कांग्रेसको निर्णय छ । यस्तै १३ जिल्लामा उपसभापति पाउने भएको छ ।
- मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना
- सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना
- कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना
- बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना
- सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना
- सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ७/७ जना
- झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ५/५ जना
- बारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १/१ र सदस्य ३/३ जना ।
- ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १/१ र सदस्य ३/३ जना ।
- उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १/१ र सदस्य २/२ जना ।
काठमाडौं र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने कांग्रेसको निर्णय छ । यस्तै प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, नगर–उपमहानगर–महानगर कार्यसमितिमा पनि क्रियाशील सदस्यका आधारमा पदाधिकारीसहित सदस्य पाउनेछ ।
फोरम लोकतान्त्रिकले दिएको क्रियाशील सदस्यहरुको हकमा भने छानविन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया 4