+
+
Shares

प्रचण्डको गुनासोः फेसबुक हेर्नै नसकिने भयो

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ११ गते १५:३४

११ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जालमा सबैभन्दा आलोचना खेप्ने नेता मध्येमा एक पर्छन् ।

गल्ती कमजोरी गर्दा नेतृत्वले आलोचना खेप्नु त स्वभाविक हो तर कहिले काँही विना गल्ती गाली खनुपर्छ । शनिबार एक कार्यक्रममा पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले त्यस्तै गुनासो पोखे । ‘यसो फेसबुक हेरौं भन्यो हेर्नै नसकिने हुन्छ, आफैंमाथि खनिएको हुन्छ’ उनले भने, ‘मनमा कुरा त ठीकै लेख्यो भन्ने भए त आनन्द हुन्छ तर, हुँदै नभएको विषयमा पनि …. (आलोचना हुन्छ) ।’

उनले भारतीय विदेशमन्त्री एज जयशंकर आउँदाको घटना सुनाए । ‘हामी भेट्नेमै थियौं तर पूर्वप्रधानमन्त्री हुनुको नाताले मैले या त हामी कहाँ आउँदा हुन्छ, या जहाँ बसेको त्यो भन्दा अर्को होटलमा सजिलो हुन्छ भनियो । मिलाउन नसकेपछि भेट भएन’ प्रचण्डले भने, ‘खुसुक्क बालुवाटारमा भेट्यो भनेर आयो । मैले भेटेकै होइन । भन्न खोज्यो, कोही सुन्नेवाला छैन ।’

यस्ता थुप्रै घटना रहेको भन्दै उनले भने, ‘जोसँग नेता-नेतृत्वको साइनो सम्बन्ध नै छैन तर त्यही हो, त्यही हो भनेर आएपछि त्यसको प्रतिवाद कसरी गर्ने ?’

मिडियाले नै सत्य बाहिर ल्याउन सक्ने तर नेताहरु आफैं फिल्डमा उत्रिएर पार नलाग्ने प्रचण्डले बताए । उनले भने, ‘त्यसकारण नेताहरुको पिर मर्काबारे पनि सोचिदिने हो कि भनेर तपाईहरु (पत्रकार)सँग न्याय माग्नुपर्ने ठाउँमा छौं ।’

कसैलाई नियन्त्रण गर्ने, कानून लगाउने र दबाएर ठिक पार्नेतिर नजाने तर गलतका विरुद्ध सहीले विजय हासिल होस् भन्ने चाहना राख्ने प्रचण्डले बताए ।

मिडिया काउन्सिल विधयेक संशोधन गर्ने आश्वासन

प्रचण्डले संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढ रहेको बताए ।

‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार बनाउन आफ्नो पार्टी दृढ रहेको विश्वास म सञ्चारकर्मी साथीहरुलाई दिलाउन चाहन्छु ।’

सम्बोधनका क्रममा आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि पटकपटक दोहोर्‍याए ।

तर प्रेस स्वतन्त्रताको अर्थ अराजकता होइन, उदण्डता होइन भन्नेमा सञ्चारकर्मीहरुले पनि ध्यान दिनुपर्ने उनले बताए । राज्य नियन्त्रण गर्नुभन्दा पत्रकार स्वयंमले कस्तो मूल्यमान्यता आचार संहिता बनाउन सोच्नु पर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?