Comments Add Comment

नवरात्रमा विशेष मेला लाग्ने नेपालका शक्तिपीठहरु कहाँ–कहाँ छन् ?

नेपालमा रहेका हिन्दू धार्मिक स्थलहरुलाई ‘श्री यन्त्र’को आकारमा स्थापना गरिएको छ भन्ने विश्वास गरिन्छ । श्री यन्त्रको बीचमा पशुपतिनाथलाई राखेर त्यसको आसपासमा हुने गरी विभिन्न धार्मिक स्थलहरु स्थापना गरिएको पाईन्छ । लिच्छविकालतिर पनि यही यन्त्रको आधारमा धार्मिक स्थलहरु स्थापनाको योजना तयार गरिन्थ्यो भन्ने भनाईहरु प्रचलनमा रहेको छ ।

लोकोक्तिको अनुसार श्री यन्त्र धनकी देवी मानिने लक्ष्मीको प्रतीक वा लक्ष्मीलाई सबैभन्दा मन पर्ने यन्त्र हो । एक पटक लक्ष्मी असन्तुष्ट भएर पृथ्वीबाट बैकुण्ठ गईन् । उनी बैकुण्ठ गएपछि पृथ्वीमा ठूलै हल्लिखल्ली भयो । जसका कारण देवगुरु बृहस्पतिले लक्ष्मीलाई आकर्षित गर्नको लागि श्री यन्त्रको स्थापना पूजनको उपाय सुझाएको थियो । फेरि यही यन्त्रको कारण लक्ष्मी पृथ्वीमा फर्किन बाध्य भएको जनविश्वास छ । यही श्री यन्त्रलाई आधार मानेर शक्तिपीठ होस् या त अरु धार्मिक स्थलहरु समेत स्थापना भएको बताईन्छ ।

विभिन्न पुराणहरुका अनुसार सतिदेवीको विभिन्न अ‌ंग पतन भएको स्थानहरुलाई शक्तिपीठको रुपमा व्याख्या गरेको छ । हिन्दू धर्ममा शक्ति भन्नाले महिला शक्तिलाई चिनिन्छ । यसैको नामबाट जो महिला शक्तिलाई सर्वशक्तिमान ठान्दछन् । उनीहरुले आफूलाई शाक्त सम्प्रदायको मान्ने गर्दछन् ।

मार्कण्डेय पुराणका अनुसार दक्षप्रजापतिकी जेठी पुत्री सतिदेवीको भगवान शिवसँग विवाह भएको थियो । शिवको अतिसादगी स्वरुप देखेर छोरी दिन इन्कार गरेका दक्षप्रजापतिकी पुत्री सतिदेवीको विष्णुले छल गरेर शिवसँग विवाह गराईदिएका थिए । यसरी छलगरेर छोरी लगेपनि दक्षप्रजापति शिवलाई ज्वाईं मान्न तयार थिएनन् । एक पटक दक्ष प्रजापतिले आफ्नो घरमा धुमधामको यज्ञ गराए । सो यज्ञमा आफ्ना सतिदेवी र भगवान शिवबाहेक अरु सबै छोरी–ज्वाईं एवं भगवानहरुलाई यज्ञमा डाके । नियोजित रुपमा नै उनले सति र शिवलाई भने डाकेनन् ।

पछि सतिले नारदको मुखबाट आफ्ना पिताले विशाल यज्ञ गरिरहेको र आफूहरुलाई नबोलाएको जानकारी पाईन् । उनले सो कुरा आफ्ना पति भगवान शंकरलाई सुनाईन् । त्यतिबेला शिवले सतिदेवीलाई दक्षप्रजापति आफूहरुसँग रुष्ट रहेकोले जानबुझ यज्ञमा नबोलाएको भन्दै चिन्ता नलिन भने । उनले सतिलाई भुलाउनको लागि पासाको नाटक पनि गरेका थिए । तर, सतिदेवी शिवको अरु केहीपनि कुरा नसुनी त्यो यज्ञमा जानकोलागि शिवसँग अनुमति माग्न थालिन् ।

अति जिद्दी गरेपछि शिवलेपनि उनलाई अनुमति दिए । त्यसपछि आक्रोशित मुद्रामा आफ्ना पिताले गरेको यज्ञस्थलमा पुगेर राता राता आँखा पारी सति त्यही यज्ञमा होमिईन् । सतिदेवी यज्ञमा होमिएपछि अग्नीले उनलाई जलाउन सकेनन् । आफ्नी प्रिय पत्नी सतिको अवस्था थाहा पाएपछि आक्रोशित भएर शिवले आफ्नो जटाबाट काली, भैरव जस्ता सेनाहरु जगाएर दक्षप्रजापतिको सो यज्ञ नै ध्वस्त गरेर शिव भने सतिको मृत शरीरलाई काँधमा बोकेर स‌ंसार भ्रमणमा निस्किएको पौराणिक कहानी पाइन्छ ।

देवी भागवतका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामा गरेर कूल १०८ वटा शक्तिपीठहरु रहेका छन् । त्यस्तै, देवीगीताका अनुसार कूल ७२ वटा शक्तिपीठहरु रहेका छन् । तन्त्र चूडामणिका अनुसार कूल ५२ शक्तिपीठहरु रहेका छन् । देवी पूराणले भने ५१ वटा मात्रै शक्तिपीठको बारेमा चर्चा गरेको छ । त्यो ५१ मध्ये नेपालमा २ वटा शक्तिपीठहरु पर्दछन् ।

त्यसबाहेक स्कन्द पूराणले पनि शक्तिपीठहरुको बारेमा उल्लेख गरेको छ । स्कन्द पुराणका अनुसार सतिदेवीको दाँत पतन भएको ठाउँमा दन्तकाली देवी स्थापना गरिएको छ । दन्तकाली मन्दिर धरान नगरपालिका वडा नं १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । यो पनि शक्तिपीठ मध्येको एक महत्वपूर्ण स्थल मानिन्छ ।

त्यस्तै, बाँके जिल्लाको नेपालगञ्जमा रहेको बागेश्वरीदेवीको मन्दिरलाई पनि शक्तिपीठको रुपमा मान्ने गरिन्छ । सो स्थानमा सतिदेवीको जिब्रोको पतन भएको थियो । अर्काे शक्तिपीठको रुपमा रहेको विन्ध्यबासिनी मन्दिर पोखरा शहरमा अवस्थित प्रसिद्ध मन्दिर हो । त्यस्तै, लिच्छविकालमा बनेको काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथिभरा भगवती, धनकुटा जिल्लाको छिन्ताङदेवी, नुवाकोट जिल्लाको जालपादेवी, काठमाडौं जिल्लाको गोकर्णमा रहेको भैरवीदेवी, सल्यान जिल्लाको लक्ष्मीपुरमा रहेको कमलाक्षी मन्दिर, सल्यान जिल्लाको छायाँक्षेत्रमा रहेको छत्रेश्वरी मन्दिर, दैलेख जिल्लाको ज्वालादेवी, ते‍ह्रथुम र पाँचथरमा रहेको सिंहबाहिनी, बाजुरा जिल्लाको बडीमालिका, सप्तरी जिल्लाको सखडा भगवती, सिन्धुलीकी कमलामाई आदि नेपालका चर्चित शक्तिपीठहरु हुन् । यी शक्तिपीठहरुमा नवरात्र सुरु भएसँगै दर्शनार्थीहरुको भीड हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment