Comments Add Comment

नेपाल एयरलाइन्स घाटामा गएकाले मन शान्त भएन : मन्त्री भट्टराई

नेपाल भ्रमण गर्न क्यानडाबासीलाई निम्तो

१२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स घाटामा गएकाले विदेश घुम्दा पनि आफ्नो मन शान्त नभएको बताएका छन् । उनले नेपाल एयरलाइन्सको समस्या समाधानको खोजी भइरहेको जानकारी पनि दिएका छन् ।

एनआरएनए क्यानडाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सहभागी मन्त्री भट्टराईले भने, ‘नेपाल एयरलाइन्स अहिले घाटामा गइरहेको अवस्थामा म विदेश घुम्दा पनि मन शान्त भएको छैन, तर यसका लागि नेपाल सरकारले समाधानको उपाय निकाल्न लागिपरिरहेको छ ।’

मन्त्री भट्टराई अन्तर्राष्ट्रिय नागरिक उड्यन संघ, आइकाओको महासभामा सहभागी हुने क्रममा हाल क्यानडामा छन् । आइकाओको महासभामा सहभागी भइसकेपछि उनी नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । सोही क्रममा गत शुक्रबार एनआरएनए क्यानडाले गरेको कार्यक्रममा मन्त्री भट्टराई सहभागी भएका हुन् । कार्यक्रममा सहभागी टोरन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई उनले सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एकपटक घुम्न आग्रह गरे ।

‘अब जो कोही छुट्टी मनाउन बाहिर जानुभन्दा नेपाल नै गएर प्राकृतिक आनन्द लिन आह्वान गर्दछु,’ मन्त्री भट्टराईले भने । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न क्यानडाबासी नेपालीहरुलाई एकजुट भएर सक्रियतापूर्वक लाग्न आह्वान पनि गरे ।

उनले प्रवासमा रहेका नेपालीहरुको नागरिकतालगायतका समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी पनि गराए । ‘नागरिकताका विषयमा केही कमीकमजोरी रहेछन् भने पनि विधेयक परिमार्जन गर्छौं,’ उनले भने, ‘छोरा, नातीसम्मले पनि नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गर्न सकिन्छ ।’

टोरोन्टोको नेपाली रेष्टुरेन्ट वन्क्वेट हलमा आयोजना गरिएको कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मार्फत नेपाल र क्यानडाका पर्यटकबीच सुमधुर सम्बन्ध स्थापना गराउन आफू लागिपरेको बताए ।

यस्तै एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, उपाध्यक्ष उज्ज्वल थापा, पूर्व महासचिव सुमन लम्साललगायतले नेपालका जुनसुकै ठाउँ पनि घुम्नयोग्य रहेकाले त्यस्ता ठाउँहरुको प्रचार प्रसार गर्न र पर्यटकको शान्तिसुरक्षाप्रति ध्यान दिन सुझाव दिएका थिए ।

एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा टोरोन्टो क्षेत्रका सांसद नाथलियनलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । मादलको तालबाट टोरोन्टोमा स्थापित भएको सानुराजा नेतृत्वको हिमालयन भाइब्सको सांगीतिक प्रस्तुतीले कार्यक्रम थप रोमाञ्चक बनाएको थियो ।

यसअघि नेपाली दूतावासले राजधानी अटोवा र टोरोन्टोमा गरेका कार्यक्रमहरुमा पनि मन्त्री भट्टराईले नेपाल भ्रमणलाई नै विशेष जोड दिनुभएको थियो । एकसाता लामो भ्रमण सकेर मन्त्री भट्टराई आइतबार स्वदेश फर्कने एनआरएन क्यानडाका मिडिया संयोजक बद्री तिमल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment