Comments Add Comment

हनुमानढोकाको दशैं घरमा राखियो जमरा, सेनाको हर्ष बढाइँ

१२ असोज, काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १०:३५ को शुभसाइतमा घटस्थापना गरिएको हो ।

दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो ।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीको टीकाको दिन पहेंलो जमरासँगै दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

यो पनि पढ्नुहोस नवरात्रको पहिलो दिन घटस्थापना कसरी मनाउने ? यस्तो छ महत्व

कसैकसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गरे पनि जमराको रुपमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

 

घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्री देवी दुर्गाका नौ स्वरुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्शाल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।


फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment