Comments Add Comment

सरकारी कार्यालयको चेक किर्ते गरी रकम झिक्ने एक जना पक्राउ

१३ असोज, जनकपुरधाम। दुई वटा सरकारी कार्यालयको १ करोड ७८ लाख रुपैयाँ रकम किर्ते गरी कुम्ल्याउने करार सेवाका कम्प्युटर अपरेटरलाई प्रहरीले पक्राउ गरेको छ ।

कम्प्युटर ल्याबका निम्ति तीन वर्षअघि नियुक्त भएका महोत्तरीका प्रवीण ठाकुरले धनुषास्थित दुई वटा सरकारी कार्यालयको बैंक खाताबाट उक्त रकम निकालेर आफ्नो खातामा जम्मा गराएका थिए । यो समाचार अनलाइनखबरले २० साउनमै प्रकाशन गरेको थियो । सम्बन्धित कार्यालयले जाहेरी दिएको करिब डेढ् महिनापछि धनुषा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

४२ वर्षीय ठाकुरलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले जिल्लाको मुखियापट्टी मुसहर्निया गाउँपालिका-३ तुलसियाहीबाट लुकी छिपी भारतबाट आइरहेको अवस्थामा घेरा हाली पक्राउ गरेको छ । उनीबिरुद्व चोरी तथा लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका-४ सपहीस्थित वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूटमा सहायक ल्याव प्रशिक्षक पदमा करारमा कार्यरत ठाकुरले बिभिन्न मितिमा कार्यालयको चेकहरु चोरी गरी कार्यालयका लेखापाल सन्तोष कुमार यादवको किर्ते हस्ताक्षर गरि छुट्टाछुट्टै व्यक्तिहरुको नाममा चेक काटी रकम निकालेका थिए । उनले बिभिन्न बैंकहरुबाट बिभिन्न मितिमा ६२ लाख ५६ हजार ९ सय रुपैयाँ झिकेका थिए ।

यस्तै जनकपुरधामस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश-२ को कार्यालयबाट समेत बिभिन्न मितिमा चेकहरु चोरी गरी कार्यालयका लेखापाल ब्रहमदेव ठाकुरको किर्ते हस्ताक्षर गरी छुट्टाछुट्टै व्यक्तिको नाममा चेक काटेका थिए । चेक काटेर उनले १ करोड १५ लाख ४५ हजार रुपैयाँ झिकेका थिए ।

यसरी खुलेको थियो भेद

प्रत्येक आर्थिक बर्षपछि कार्यालयहरुको हिसाव मिलान गर्ने काम गर्ने क्रममा उनले चोरी गरेको भेद खुलेको थियो । आर्थिक बर्ष सकिए लगत्तै यी दुबै कार्यालयमा पनि हिसाव मिलानको काम गर्दा अत्यधिक फरक देखियो । लाखौं रकम फरक परेपछि दुबै कार्यालयका प्रमुख र लेखापाल समेत आश्चर्यमा परेका थिए । यसपछि बैंक खाता समेत मगाएर विस्तृत रुपमा छानबिन गर्दा यो तथ्य बाहिर आएको थियो ।

विस्तृत छानबिनपछि गत साउन १२ गते मात्रै ठाकुरले रकम निकालेको कुरा बाहिर आएको बताउँदै उनीबिरुद्व १४ साउनमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिइएको थियो । यसअघि ठाकुरको सहयोगी विकास बैंकमा रहेको तीन वटै खाता रोक्का गरिएको थियो ।

सबैको मन जित्दै किर्ते गर्न सफल ठाकुर

तीन बर्षअघि सिटिइभिटीमा करार सेवाका नायव सुब्बा सरहको कम्प्युटर अपरेटरको पदमा नियुक्त भएका ठाकुर सुरुवातीको डेढ् बर्ष सिराहाको लहानमा बसेर काम गरे । यहाँबाट सरुवा भएर सपही पुगेका उनी विस्तारै कार्यालय प्रमुखसहितका कर्मचारी माझ आफूलाई सोझो देखाउँदै घुलमिल बढाएका थिए ।

जसकारण ठाकुरप्रतिको विश्वास विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्यूटका प्रमुख राजकुमार चौधरीले बताए । ‘यसै कारण हामीले बैंकमा चेक जम्मा गर्नेदेखि रकम निकासासम्मको जिम्मेबारी उनलाई दिन थाल्यौं’ प्रमुख चौधरीले भने, “कतिपय प्रशासनिक काममा पनि उनलाई संलग्नता गरायौं । तर, अहिले आएर शैतान निस्केका छन् ।”

चौधरीले आइटी क्षेत्रमा दख्खल राखेका उनले लेखा शाखाबाट चेक नै चोरी गरेर कार्यालय प्रमुख र लेखापालको नक्कली हस्ताक्षर गरेर रकम निकासा गरेको बताए ।

सिटिइभिटीका प्रमुख साहले एउटै चेकमा दुईदेखि तीन पटकसम्म आफ्नो हस्ताक्षर ठाकुरले गरेको सुनाए । ‘बैशाख २२ गते साटेको चेकमा ठाकुरले गरेको आफ्नो नक्कली हस्ताक्षर गलत भएपछि त्यसलाई काटेर अर्काे हस्ताक्षर गरेको भेटिएको बताए ।

ठाकुरलाई बैंकको पनि सहयोग

ठाकुरले सरकारी रकमलाई किर्ते गरी आफ्नो बनाउने क्रममा उनको खाता रहेको बैंकले पनि सहयोग गरेको पाइएको छ । ठाकुरको जनकपुरधामको मुरली चोकस्थित सहयोगी विकास बैंकमा तीन वटा खाता छ । उनले दुबै सरकारी कार्यालयबाट किर्ते गरी साटेको रकम यहीं बैंकमा जम्मा भएको पाइएको थियो ।

सिटिइभिटी र इन्स्टिच्यूट दुबैको खाता राष्ट्रिय बाणिज्य बैंकमा छ । यी दुबै कार्यालयको चेक चोरी गरेर उनले दुबै कार्यालयका प्रमुख र लेखापालको नक्कली हस्ताक्षर गरेर अर्कै व्यक्तिको नाममा चेक बनाएका थिए । तथापी रकम यिनकै खातामा जम्मा भएको देखिएको थियो ।

‘अर्काको नाममा बनाइएको चेक उनको खातामा कसरी जम्मा हुन गयो ?’ सिटिइभिटी प्रदेश २ का प्रमुख नागेन्द्र साहले भने, “यसैले बैंकको पनि यसमा संलग्नता देखिन्छ ।”

यसबाहेक ठूलो रकमको चेक साट्दा सम्बन्धित कार्यालयलाई सोध्नुपर्नेमा बैंकले केहि नसोधी चेक साटिदिएकाले बैंककै मिलोमतोमा यस्तो कामहरु भएको साहको भनाई छ ।

ठाकुरले दिएका थिए गोली ठोकिदिने धम्की

किर्ते गरी रकम निकालेका ठाकुरले आफूहरुलाई गोली ठोकिदिने धम्की समेत दिएको कार्यालयका प्रमुखहरु चौधरी र साहले बताएका थिए । यी दुबैले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आफूहरुलाई मार्ने धम्की दिएको बताएका थिए ।
‘गल्ती महसुस गर्नु कता हो कता ?’ इन्स्टिच्यूटका प्रमुख चौधरीले भने, “उल्टै धम्की दिने काम गरिरहेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment