हामी विदेशमा काम गरिरहेका नेपालीहरुको लागि आमा-बुबा भनेपनि जो भनेपनि साथीहरु नै हो । नेपालमा भनेजस्तो काम गर्न नपाएपछि विदेश आएकाहरुसँग पहिलो भेटबाट नै हामीहरु आत्मीय बनिसकेका हुन्छौं ।
यो सालको दशैंमा जति सकिन्छ धेरै नेपालीहरु भेला भएर एउटा कुनै रेस्टुरेन्टमा दशैं मनाउने योजना बनाएका थियौं । सोही योजनाका एक योजनाकार थिए कृष्णबहादुर पुन पनि । सँगै बसेर घरमा परिवारसँग भएको बिछोड बिर्सने योजना थियो । उनी परिवारको बारेमा पनि साह्रै चिन्ता लिने गर्दथे । फस्ट सेक्युरिटी कम्पनीमा कार्यरत धेरै नेपालीहरुबीचको योजना थियो यो । यसमा पनि फरक-फरक विभाग हुने भएकोले हामीले एक अर्कासँग यसको विषयमा कुराकानी गरेका थियौं ।
तर, हाम्रो योजना पुरा हुन नपाउँदै साथी कृष्णबहादुर दुर्घटनामा परे । दशैंको मुखमा दुबईमा भएको एक दुर्घटनामा ६ जना नेपालीको ज्यान गयो, त्यसैमध्येका एक थिए, कृष्णवहादुर ।
दशैंको मुखमा मृत्युशोक
नेपालमा भब्य रुपमा दशैं मनाउने तयारी भईरहेको बेलामा दुबईमा हामी भने आफ्ना साथीहरुको मृत्युमा शोक मनाईरहेका छौं । परदेशीको लागि दशैं त कहिलै पनि दशैं बन्दैन । पीडा भुलाउनको लागि साथीहरुसँग भेटर सोही दिन केही रमाईलो गर्ने गरेका थियौं । तर, दशैं सुरु भएपछि सोमबार दुबईमा भएको सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाएको शोकले हाम्रो यो वर्षको दशैं त्यसै रोकेको छ ।

नवरात्रको दोस्रो दिन सोमबार युनाइटेड अरब इमिरेट्स (युएई) मा गम्भीर दुर्घटनामा ६ जना नेपालीको ज्यान गएको छ । सोमबार स्थानीय समयअनुसार बिहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपमा काम गर्ने कामदारहरु बोकेर हिँडेको मिनिबस लरीसँग ठोक्किँदा धनकुटाका रमेश चौधरी, सर्लाहीका दानबहादुर सत्याल, पाल्पाका कृष्णबहादुर पुन, नवलपरासीका नारायणप्रसाद पोखरेल, धरानका दीपक विक र कैलालीका नयराम साउदको मृत्यु भएको छ ।
एउटा साथी गुमाउनुपर्दा
जसमध्ये पाल्पाका कृष्णबहादुर पुन मेरा अनन्य मित्र हुन् । उनीसँग मेरो भेट दुबईमै भएको हो । तर, मिलनसार स्वभावका उनीसँग छोटो समयमा नै घुलमिल हुन सकियो । म कामको सिलसिलामा आजभन्दा १७ महिना अघि दुबई आएको थिएँ । हामीहरु कम्पनीको हिसाबले एउटै कम्पनीका कामदारहरु भएपनि विभागको हिसाबले हामीहरु फरक थियौं । त्यसैले बसाईं भने हामीहरुको केही दूरीमा थियो ।
मेरो स्थायी घर रुपन्देही जिल्लाको भैरहवामा पर्छ । म कामको सिलसिलामा सन् २०११ देखि नै विदेशमा छु । योभन्दा पहिले म कतारमा थिएँ । त्योभन्दा पहिले मलेसियामा । मलेसियामा कामगर्दा सुरक्षाको समस्याले गर्दा धेरै वर्ष मलेसिया बस्न सकिन ।
उनको पाल्पा । एउटै क्षेत्र भएकोले पनि हुनसक्छ हामीहरु छिट्टै एकअर्काका साथी भएका थियौं । उनीसँग पहिलो पटक ८ महिना अघि दुबईमा नै भेटेपछि उनीसँग नियमित सम्पर्क भईरहन्थ्यो । उनीहरु हाउस किपिङ विभागमा थिएभने हामी सुरक्षा गार्ड हौं । एउटै कम्पनी भएपनि हामीहरुको बसाईं भने गाडीमा जाँदा झण्डै एक घण्टाको दूरीमा थियो । त्यसैले भेट कमै भएपनि कुराकानी भईरहन्थ्यो ।
घर–परिवारको चिन्ता गरिरहन्थे
उनी फेरि सोझो स्वभावका र परिवारको सधैं याद गरिरहने स्वभावका थिए । उनीले हामीहरुसँग उनको परिवारको बारेमा कुरा गरेको सुन्दा अहिले हामीहरुको नै भक्कानो फुटेर आउँछ । कसरी सम्हालिएलान् ती परिवार भन्ने सम्भिmएर । एउटै क्षेत्रको भएकोले पनि होला उनी मसँग अलिक नजिक नै भएका थिए ।
उनीसँग नै कुराकानी गरेर हामीले हाउस किपिङका जतिसक्दो धेरै साथीहरु सँगसँगै बसेर दशैं मनाउने योजना बनाएका थियौं । अरु मृतक साथीहरुसँग त मेरो खासै चिनजान र भेटघाट पनि थिएन । सम्भवतः कृष्णबहादुरसँगको भेटघाटले हामीहरुको दशैंमा भेट हुने सम्भावना पनि थियो होला । तर, सम्भावनामा मात्रै सीमित भयो हाम्रो त्यो भेट । उहाँहरु दुबईको जेबलाली भन्ने ठाउँमा रहेको उमरानी क्याम्पमा बस्नुहुन्थ्यो । हामी अलिक पर सेक्युरिटी क्याम्पमा बस्ने गरेका थियौं ।
रोजगारी कै सिलसिलामा यसभन्दा अगाडि २ वर्ष मैले कतारमा बिताएँ । त्योभन्दा पहिले २ वर्ष मलेसियामा बिताएँ । त्यता पनि दशैं त यस्तै हो दुख-सुख गरेर दशैं मनाईन्थ्यो । तर, यो दशैं मेरा लागि अत्यन्त अविस्मरणीय र दुखद् रहृयो । यसरी कहिलै पनि मैले आफैंले चिनेको साथी गुमाउनु परेको थिएन । अझ यो घटना त दशैंको मुखैमा घटेको छ । यसले गर्दा हामीहरुको दशैं मनाउने कुनै मुड नै छैन ।
विदेशमा हुँदा जुनसुकै नेपालीलाई परेको पीडा पनि हामीलाई नै परेको पीडा हो । नेपालमा हुँदा उनीहरुको परिवार हुन्छन्, आफन्त हुन्छन् । जसका कारण साथीहरुको खासै वास्ता गर्नुपर्ने आवश्यकता रहँदैन । तर, यहाँ त अभिभावक भनेपनि, आफन्तहरु भनेपनि साथीहरु नै हो । उनीहरुलाई परेको बेलामा हामीले सहयोग गर्नुपर्ने हो । हामीले उनीहरुलाई बचाउन त सकेनौं । तरपनि उनीहरुको यो वियोगमा दशैं जस्तो उत्सव त कसरी मनाउनु ? हामीले यो वर्षको दशैंमा टीका नलगाउने निर्णय गरेका छौं ।
विगत केही दिनदेखि उनीसँग कुराकानी त भएको थिएन । तर, दशैंको टीका भने सँगै लगाउने र रेस्टुरेन्टमा बसेर रमाईलो गर्ने योजना भएको थियो । तर, एक्कासी उनको मृत्युको खबर नेपालकै सञ्चारमाध्यमहरुबाट देखेपछि भने म छाँगाबाट खसेजस्तै भएँ ।
प्रस्तुती : सुदर्शन अर्याल
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4