Comments Add Comment

कांग्रेस निकट पत्रकारको सुझाव : अब पार्टी बचाऊ अभियान सुरु गर्नुपर्छ

१४ असोज, काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुले आफैंभित्र विभाजित हुँदा पार्टीले प्रभावकारी रुपमा प्रमुख प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियन काठमाडौं शाखाले मंगलबार राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा उपस्थित नेताहरुले सरकार र सत्तारुढ दल नेकपाको आलोचना गरे । तर, पत्रकारले कांग्रेसका नेताहरुलाई पार्टीभित्रको गुटगत राजनीति र नेतृत्वको कार्यशैलीको समीक्षा गर्न सुझाए ।

प्रेस युनियनका संस्थापक अध्यक्ष तारानाथ दाहालले संविधानमा रहेका त्रुटि सच्याउन कांग्रेसले पहल गर्नुपर्ने बताए । मन्त्रिपरिषद कुनै ऐनबाट नचलेको भन्दै उनले मन्त्रिपरिषदको निर्णयमाथि अदालतमा प्रश्न उठाउन नपाउने संवैधानिक प्रावधान उचित नरहेको बताए । यसबारे कांग्रेसले आवाज उठाउन नसकेको उनको भनाइ थियो ।

स्थानीय तहलाई सरकार मानेर अधिकार दिइएको तर, स्थानीय तहमा प्रतिपक्षी रहने कल्पना नगरिएको विषयमा पनि प्रतिपक्षीले आवाज उठाउनुपर्ने उनको सुझाव छ । वर्तमान सरकार विश्वविद्यालय, मिडिया र सामाजिक सञ्जाललाई नियन्त्रण गर्न उद्धत रहेको पनि दाहालको आरोप छ ।

नेपाल प्रेस युनियका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेस बचाउ अभियान सुरु गर्न सुझाए । ‘प्रेसको स्वतन्त्रता, नागरिक स्वतन्त्रता, संविधानको रक्षा र संशोधनका लागि अरु विकल्प नरहेकाले कांग्रेस बाँच्नुपर्छ, कांग्रेस उठ्नुपर्छ’, वाग्ले भन्छन्, ‘मलाई लाग्छ अब कांग्रेस बचाउ अभियान सुरु हुनुपर्छ । अहिलेको आवश्यकता कांग्रेस उठाऊ अभियान हो, कांग्रेस ब्युझ्याउ अभियान हो ।’ पूर्वअध्यक्ष वाग्लेले कांग्रेसका भातृ र शुभेच्छुक संस्थाहरु नरहेर कांग्रेस मात्रै रहन नसक्ने भन्दै त्यसतर्फ ध्यान पनि नेतृत्वलाई सुझाव दिएका छन् ।

प्रेस युनियनका पूर्वमहासचिव शिव लम्सालले पनि कांग्रेसले सशक्त ढङ्गले संसदमा मुद्धा उठाउन नसकेको टिप्पणी गरे । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने, भ्रष्टाचार सुशासनलगायतका बिषयमा कांग्रेस बोलेको तर मुद्धाका रुपमा स्थापित हुने गरी उठाउन नसकेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले कांग्रेस कमजोर भएका कारण सत्तारुढ दल नेकपाले मनपरी गरिरहेको आरोप लगाए । ‘कांग्रेस कमजोर देखिएको र स्थनीय तह, प्रदेश सरकार, संघीय सरकार र संसदमा समेत प्रजातान्त्रिक शक्तिको उपस्थिति कमजोर भएका कारण मनपरी र छाडा गर्ने काम भइरहेको छ’ उनले भने । विरहीले लोकतान्त्रिक शक्तिलाई बलियो र सदृढ गर्नेतर्फ लाग्न उनले सबैलाई आग्रह गरे ।

नेताको जवाफ– सक्दो गरिरहेका छौं, साथ दिनुपर्‍यो

कार्यक्रममा पत्रकारले उठाएका प्रश्न र जिज्ञासाको जवाफमा नेताहरुले आफुहरुले सक्दो गरिरहेको बताए । उनीहरुले कांग्रेसले उठाएका मुद्वा र विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरिदिन पत्रकारलाई आग्रह गरे ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले २०१५ सालको दुई तिहाईको विपी कोइराला नेतृत्वको सरकार र वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले मिडियालाई हेर्ने दृष्टिकोणको तुलना गरे ।

२०१५ सालमा विपी कोइरालाले पत्रकारलाई बोलाएर मासिक ३०० दिन्छु पत्रिका चलाउनु र सरकारले जे–जे गल्ती कमजोरी गरेको छ । त्यसबारे लेख्नु भनेर भनेको उनले सुनाए ।

‘त्यतिबेला पनि दुई तिहाई थियो । प्रतिपक्ष कमजोर थियो । आजको अवस्था उल्टो छ । ओलीजीहरुले पत्रकारमाथि दमन गरिरहेको छ । पत्रकारको हक हित र अधिकारमाथि नियन्त्रण गर्न खोजेको । यो पनि दुई तिहाइकै सरकारको हो । कस्तो उल्टोको चरित्र उनले भने ।

कांग्रेस नेता अर्जुनरसिंह केसीले नेकपा एक दलीय सर्वसत्ताबादी शासनतर्फ उन्मुख भएको प्रष्ट देखिएको बताए । राष्ट्रिय सुरक्षा, शान्ति सुरक्षा विधेयक, मानवअधिकार आयोगसम्बन्धी ऐन संशोधन विधेयक, मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक त्यसैको उदाहरण भएको उनले बताए ।

उनले पत्रकारहरुले कांग्रेसले मुद्वा उठान नसकेको भन्दै गरेको ध्यानाकर्षणको जवाफ पनि दिए, ‘सक्दो गरिरहेका छौं, तपाईंहरुले पनि साथ दिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment