Comments Add Comment

अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीले पठाए दशैँ खर्च   

१४ असोज, काठमाडौं । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले दशैँका अवसरमा जनही रु पाँच हजार खर्च पठाएका हुन् । ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् ।

उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्रीले देशका सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उचित शिक्षाको प्रबन्धका लागि नीतिगत सुधारको पहल गर्दै आएको र थप सकारात्मक सन्देश प्रवाहका लागि ती विद्यार्थीलाई प्रतिनिधिका रूपमा सहयोग गरेका उनको सचिवालयले जनाएको छ ।

यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो । दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा ती विद्यार्थी भर्ना गराई अभिभावकत्व ग्रहण गरेका थिए ।

रामदुलारी माविमा भर्ना भएका पाँच वर्षीय पवन मल्लिक र छ वर्षीया रुपा खत्वेका बुबाआमा डोको र डालो बुन्ने काम गर्छन् । सोही विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्ना गराएका विद्यार्थी राहुल महरा पनि अध्ययनरत छन् । सो विद्यालयका प्रधानाध्यापक शाहले प्रधानमन्त्रीको सचिवालयले समयसमयमा रकम र स्टेशनरी पठाइरहेको र दशैँ खर्चसमेत पठाएको बताए ।

प्रधानमन्त्री ओलीले मुगुको कार्मारोङ गाउँपालिका–८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका छ वर्षीया छोरी थिल्ने साङ तामाङलाई बुद्ध मावि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गरेका थिए ।  प्रधानमन्त्रीपत्नी शाक्यले सोही विद्यालयमा छेरिङ छोन्तोम लामालाई भर्ना गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment