Comments Add Comment

‘कठै मेरो देश ! सडकको खाल्डा पुर्न पनि भीआईपीको भ्रमण हुनुपर्छ’

१६ असोज, काठमाडौं । के वर्षा, के हिउँद काठमाडौंका सडकमा खाल्डाखुल्डी नभएको समय छैन । झ्यारर् पानी पर्‍यो भने सडकमा पोखरी बनिहाल्छ । जनताले सडकका खाल्डाखुल्डी पुर्नपर्‍यो भन्दा सरकार कहिले बजेट छैन, कहिले कामदार पाइएन, त कहिले निर्माण सामग्रीको अभाव भयो भन्छ ।

तर, जब काठमाडौंमा विदेशबाट अतिविशिष्ट अतिथिको आगमन तालिका तय हुन्छ, त्यसपछि रकेटको गतिमा काम हुन्छ, सडकको खाल्डाखुल्डी पुरिन्छ ।

अहिले काठमाडौंमा त्यही भइरहेको छ । बिहीबार रातको १२ बजिसकेको थियो । काठमाडौंबासी मस्त निद्रामा थिए तर सडकमा भने धमाधम काम भइरहेको थियो । कतै सडकको खाल्डा पुरिँदैछ, कतै सडक पेटीमा रंगरोगन गरिँदैछ त कतै ज्रेब्रा क्रसिङमा रंग लगाउने काम भइरहेको छ ।

आफैं सडकमा खटिएका ठेकदार भनिरहेका थिए, ‘छिटो गरौं है ! दुई तीन दिनमा त सबै भ्याउनुपर्छ ।’

झट्ट हेर्दा कसैलाई लाग्नसक्छ, हाम्रो विकासको मोडल नै फेरिएछ, अब रातारात काम हुन थालेछ । तर, सिनामंगलका राजबहादुर बिष्टलाई रातरात काम हुनुको अन्तर्य थाहा छ । सडक पिच भइरहेको ठाउँमा आफ्नो सवारी रोकिएपछि उनले भने, ‘कठै मेरो देश ! सडकको खाल्डा पुर्न पनि भीभीआईपी आउनुपर्छ । लडेका रेलिङ उठाउन पनि विदेशी पाहुनाको भ्रमण हुनुपर्छ ।’

पिचको काममा खटिएका रामेछापका आइतबहादुर तामाङ उनको तर्कमा सहमत देखिए । ‘हामीले यसरी काम गर्न पाएपछि बुझ्छौं कि देशमा ठूलै मान्छे आउँदैछन्’, उनले सुनाए ।

सार्क शिखर सम्मेलन, विमिस्टेक सम्मेलनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटक–पटकको भ्रमणका क्रममा काठमाडौंमा सडकहरु यसरी नै रातारात चिल्लो पारिएका थिए र पेटी र रेलिङहरु रंगिएका थिए । अहिले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि दशैंको बेलामा सडक चम्काइँदैछ ।

चिनियाँ राष्ट्रपति सी २७ असोजमा काठमाडौं ओर्लनेछन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोल्टी होटलसम्म जानेछन्, राष्ट्रपति निवासमा भेटवार्ता गर्नेछन् । सम्भवतः द्वारिका होटलमा प्रधानमन्त्रीसँग भेटघाट र बैठक गर्नेछन् । यसैले यो रुटमा पर्ने सडक, पेटीहरु रातारात मर्ततसम्भार हुँदैछन् ।

रोचक त के छ भने जुन सडक खण्डमा पिच गर्ने काम भइरहेको छ, त्यही सडकको सार्वजनिक सवारी गुड्ने सर्भिस लेनमा भएको खाल्डाखुल्डी भने जस्ताको तस्तै छ । भीभीआईपीको सवारी गुड्ने मूल लेनलाई मात्र चिल्लो बनाइँदैछ ।

‘सरकारले सधैं जनताको आँखामा छारो हाल्छ,’ राति सडकमा काम गरिरहेका सिराहाका राधे यादव ब्यंग्य कस्दै भन्छन्, ‘चीनको राष्ट्रपति पनि यति मज्जाको सडक देखेर झुक्किने भए, उनको आँखामा छारो हालेजस्तो हुने भयो ।’

शहरमा तार देखेर अतिथिको आँखा नबिझाओस् भनेर सरकारले अहिले सीको सवारी हुने सडक खण्डहरुमा लत्रिएका तारका गुजुल्टो पार्ने काम पनि भइरहेको छ ।

राति काम भइरहेको देखेर दंग परेका कालीमाटीका स्थानीय रोजकृष्ण प्रजापति भन्छन्, ‘जनता सडकको खाल्डामा पर्दा हिँड्नुपर्छ भन्दै हात बाँध्ने सरकारले भीआईपीको एसीवाला गाडी धेरै हल्लेला कि भनेर पिचमाथि पिच थप्दैछ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment