Comments Add Comment

दशैंमा इन्धन अभाव हुँदैन : आयल निगम

१६ असोज, काठमाडौं । नेपाल आयल निगमले दशैंमा कुनै पनि खाले इन्धनको अभाव नहुने स्पष्ट पारेको छ । केही दिनदेखि काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ ।

निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले निगमले आफ्ना सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेको बताए । दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उनको भनाइ छ ।

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको पौडेलले जानकारी दिए । यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ । यसका अलवा डीपोहरुमा इन्धन पुर्‍याएर फर्कीने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको निगमले जनाएको छ । यस्तै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार भएको छ ।

यसका अलावा निगमले दशैंका लागि छुट्टै टिम खडा गरेको छ । यो टिम दशैं नमनाइ देशैभर निगमको कामकाजमा खटिने छन् । उनीहरुलाई तिहारमा छुट्टी दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment