Comments Add Comment

कहाँ छ योग र धर्मको मिलनविन्दू ?

झट्ट हेर्दा धर्म एउटा विषय हो भने योग अर्कै विषय । यिनीहरुको सम्बन्धको विश्लेषण हेराईको आधारमा गर्ने गरिएको हुन्छ । एउटा नजरबाट हेर्दा यिनीहरुबीच निकै नजिकको सम्बन्ध हुन्छ भने अर्काे दृष्टिले हेर्दा यिनीहरुबीच ठूलै दुरी छ ।

धेरैले योगलाई धर्मको एउटा शाखाको रुपमा हेर्ने गरेको पाईन्छ । तर, योग धर्मसँग कति सम्बन्धित छ र कति फरक छ त ? योग आफैंमा एक किसिमको दर्शन, चिकित्सा, शिक्षा, अभ्यास र विज्ञान पनि हो । योगको एउटै शब्दले यसको व्यापकतालाई जनाउने गरेको छ । तर, यसको एउटा विन्दूमा पुगेपछि धर्मसँग सम्बन्ध नभएको भने होईन ।

पूर्वीय दर्शनको कोटीभित्र भिन्न-भिन्न जीवनोपयोगी दर्शनहरु पाईन्छ । एउटा मानिसले जन्मदेखि मृत्युसम्म भोग्ने सबै व्यवहारहरुलाई व्यवस्थित गर्नको लागि भिन्दा-भिन्दै दर्शनको व्यवस्था गरिएको पाईन्छ । जस्तो ब्रहृमाण्डको उत्पत्ति र संहारको विषयमा सांख्यदर्शन र वेदान्तदर्शनले व्याख्या गरेको छ । दैनिक गतिविधिहरुको व्याख्या एवं सामाजिक संस्थाहरुको सञ्चालनको सम्बन्धमा विभिन्न गृहसूत्रहरु, प्रजनन् र कामवासनाको सम्बन्धमा काम शास्त्र, वैराग्यको लागि वेदान्तदर्शन गरी हरेक गतिविधिहरुको लागि कुनै न कुनै किसिमको शास्त्रहरु लेखिएको पाईन्छ ।

त्यस्तैमा पूर्वीय दर्शनको एउटा ईश्वरवादी दर्शनको रुपमा योगशास्त्र रहेको छ । योगशास्त्रका व्याख्याता पतञ्जलि हुन् । उनले पहिलेदेखि नै प्रचलनमा आएको योग सम्बन्धी विषयलाई सूत्रबद्ध गरेर व्यवस्थित गराएका हुन् । उनले आफ्नो योगसूत्रमा योगका विभिन्न अभ्यासह?को बारेमा व्याख्या गरेका छन् ।

पूर्वीय दर्शनमा ईश्वरवादी वा आस्तिक र निरीश्वरवादी वा नास्तिक गरेर दुई प्रकारको दर्शन लेखिएका छन् । जसमध्ये पहिलो ईश्वरवादी दर्शन अन्तर्गत् सांख्यदर्शन, योगदर्शन, न्यायदर्शन, वैशेषिकदर्शन, पूर्वमीमांसा र उत्तरमीमांसा गरी ६ प्रकारका दर्शनहरु रहेका छन् । निरीश्वरवादी दर्शनमा बौद्ध दर्शन, जैन दर्शन र चार्वाक दर्शन रहेका छन् । यही योग दर्शनको धर्मसँग कहाँ छ मिलनविन्दू ? भन्ने विषयमा यहाँ केही समीक्षा गर्ने प्रयास गरेका छौं ।

योग शरीर र मनको शुद्धिको लागि गरिने एक किसिमको अभ्यास हो । सबैभन्दा पहिले योगको वर्णन वेदमा गरिएको पाईन्छ । वेदको लेखनपरम्परा १५०० ईशापूर्वदेखि मात्रै भएको हो । तर, योगको प्रचलन भने हजारौं वर्ष पहिलेदेखि नै सुरु भएको थियो । यस्तो अवस्थामा वेदले पहिलो पटक योगको उल्लेख कसरी गर्यो ? भन्ने प्रश्न पनि आउने गर्छ । वेद श्रुतिपरम्पराबाट हजारौं वर्षसम्म चल्दै आएपछि बल्ल ईशापूर्व १५०० देखि मात्रै लेख्न थालिएको हो । वेदको उत्पत्ति नै १५०० ईशापूर्वमा होईन ।

त्यसभन्दा पहिले श्रुतिस्मृति परम्परा अनुसार सुन्ने र सुनाउने गरिएको थियो । त्यसैले योग पहिलो पटक वेदमा नै उल्लेख गरिएको कुरा आधारहीन छैन ।

योगको धेरै प्रभाव धर्ममा परेको पाईन्छ । धेरै धर्महरुले योगको अंगलाई कुनै न कुनै रुपमा आफूमा सामेल गराएका छन् । किनकी योग प्राचीनकालदेखि नै प्रचलनमा थियो । त्यसकारण प्रत्येक धर्मले योगको कुनै न कुनै खण्डलाई आफ्नो प्रार्थनामा सामेल गराएकै हुन्छन् । यो जानेर होस् या त स्थानीय प्रचलनको प्रभावका कारण नै किन नहोस् । जुनसुकै धर्मपनि योगसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएको छ । त्यसैले यो योगलाई सनातन धर्मले उत्पादन गरेको भएपनि यो केवल एक धर्ममा मात्रै सीमित छ भन्ने मान्नुहुँदैन ।

योगको व्यापक प्रचार प्राचीनकालमा नै भईसकेको थियो । केवल भारतवर्षको भूमिमा मात्रै होईन । प्राचीनकालमा नै विश्वभरी फैलिईसकेको पाश्चात्य एवं प्राचीन सभ्यता भएका स्थानमहरुमा पाईने धार्मिक एवं पौराणिक कहानीहरुमा सुन्न सकिन्छ । योग अन्धविश्वासभन्दा नित्तान्त भिन्न छ । यो एक किसिमको प्रयोगात्मक विज्ञान हो । ओशोले यही कुरालाई मनन् गर्दै भनेका छन् योग धर्म, आस्था र अन्धविश्वासभन्दा पर छ । योग एक विज्ञान हो। प्रायोगिक विज्ञान हो। योग हो, जीवन जिउने कला हो । योग एक पूर्ण चिकित्सा पद्धति हो ।

योग र धर्मको शिक्षा

देख्दा उस्तै लाग्ने योग र धर्मको उद्देश्य भने फरक फरक रहेको हुन्छ । धर्मले मानिसलाई विश्वास, आस्था र नयाँ किसिमको नियममा बाध्ने काम गर्दछ । त्यस्तै, योगले मनलाई स्वस्थ राख्नको लागि अभ्यास, अनुभव र प्रयोगको साहारा लिने गर्दछ । धर्मले योगलाई कुनै अवरोध गर्दैन । तर, त्यही धर्मप्रति कट्टर व्यक्तिले भने योगलाई राम्रोसँग बुझ्न सक्दैनन् भन्ने मान्यता छ । त्यसैले योग र धर्मबीचको दुरी पनि टाढाको हुने गर्दछ ।

धर्मले अध्यात्मलाई महत्व दिन्छ । धर्मले भाग्यमा विश्वास गर्छ । तर, योगले आफ्नो क्षमतालाई । योगले हरेक मानिससँग आफूभित्र क्षमता हुन्छ, त्यसलाई उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्दछ । योगले मानिसलाई ईश्वर छ कि छैन ? भन्ने जान्नको लागि साधना गर्नुपर्छ भन्ने मान्यता राख्छ । धर्मले ईश्वरप्रति आम मानिसलाई भय उत्पन्न गराउने गर्दछ । तर, योगले भने ईश्वरसँग प्रेम गर्नको लागि सुझाव दिन्छ ।

योगलाई ईश्वर छन् या छैनन् ? भन्ने बारेमा कुनै वास्ता हुँदैन । तर, मनलाई एकाग्र गराउनको लागि ईश्वरको प्रार्थना गर्न भने योगले सुझाएको छ । योग एक यस्तो मार्ग हो जहाँ विज्ञान र धर्मको बीचबाट निस्किएर यो दुबैबीच सन्तुलन बनाएर राख्नेगर्दछ । योगको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ मनुष्य र मोक्ष । तर, मोक्षको परिभाषा भने धर्मको र यसकोमा भिन्न छ । जस्तो धर्मले ब्रहृममा लीन हुनु नै मोक्ष हो भन्छ भने योगको परिभाषामा मोक्षको अर्थ हुन्छ मनुष्यलाई शारीरिक तथा मानसिक रुपबाट स्वस्थ राख्नु विज्ञान तथा मनोविज्ञानको कार्य नै मोक्ष हो । त्यसैले कुनै न कुनै विन्दुमा पुगेर योग र धर्मको मिलन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment