Comments Add Comment

महरा प्रकरणमा मानवअधिकार आयोगको चासो, बनायो अनुगमन टोली

१७ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे चासो देखाएको छ ।

आयोगले महरा र संसद सचिवालयकी महिला कर्मचारीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको काम कारबाहीबारे जानकारी मागेको छ । साथै पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै आयोगले प्रहरीलाई शुक्रबार पत्रचार गरिएको आयोगले जनाएको छ ।

घटनाको अनुसन्धानको अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशकको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली नै बनाएको छ । ‘अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीकै हो । प्रहरीको अनुसन्धान ठीक ढंगले भए नभएको हेर्न खोजेका हौं’ आयोगका निर्देशक डा.टीकाराम पोखरेलले अनलाइनखबरसँग भने ।

महरामाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनका अनुसार सोमबार साँझ तीनकुनेस्थित उनकै कोठामा पुगेका महराले बलात्कार प्रयास गरेका थिए ।

यो पनि पढ्नुहोस स्खलित महरा कहिलेसम्म ‘माननीय’ ?

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका केही महिला सांसदलाई यसबारे राति नै जानकारी गराएकी थिइन् । भोलिपल्ट यसबारे सञ्चार माध्यमहरुमा खबर आयो ।

बुधबार विहान नेकपा नेतृत्वले महरासँग घटनाबारे जानकारी लिनुका साथै सचिवालय बैठक बसेर सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाएको थियो । महराले सभामुख पदबाट राजीनामा दिएका छन् ।

तर अहिले पीडितले बयान फेरेकी छन् । साथै आफू डिप्रेसनको विरामी भएको भन्दै प्रहरीमा निवेदन समेत दिएकी छन् । यससँगै महरामाथि लागेको बलात्कार आरोपबारे छानविन रोकिने आशंका थियो ।

मानवअधिकार आयोगले अनुसन्धानबारे चासो देखाउँदै अनुगमन टोली बनाएपछि अनुसन्धान रोक्न नमिल्ने भएको छ । यसअघि निर्मला पन्तको बलात्कारपछि हत्यालगायतका घटनामा पनि अनुसन्धान प्रभावित नहोस् भनेर आयोगले अनुगमन गरेको भन्दै निर्देशन डा. पोखरेलले भने, ‘हामी आफैंले अनुसन्धान गर्ने होइन, प्रहरीले नै गर्ने हो । तर हामी अनुसन्धान प्रक्रियाको अनुगमन भने गर्छौं ।’

यो पनि पढ्नुहोस महराले फिर्ता गरे सरकारी सुविधा, डेरा खोज्दै यो पनि पढ्नुहोस ‘पीडित’को निवेदनसँगै छानविनबाट जोगिए महरा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment