Comments Add Comment

दशैंको तीन दिन सशस्त्र प्रहरीको निःशुल्क बस सेवा 

सशस्त्र प्रहरीले देशभर १३४ वटा पिङ बनायो

Photo Credit : Onlinekhabar/File

१८ असोज, काठमाडौं । नेपाली सेनाले जस्तै सशस्त्र प्रहरीले पनि दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने छ ।

निःशुल्क बस सेवा बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि सञ्चालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु कम चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले निःशुल्क बस संचालन गर्न लागिएको उनले बताए ।

एउटा बस सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट यात्रुको सेवामा निस्कने छ । सो बसले ठूलो भर्‍याङ, बनस्थली, वालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।

दोस्रो बस पनि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाटै निस्कने छ र त्यसले सितापाइला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ । त्यसमा यात्रा गर्नेहरुले भाडा तिर्नु नपर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस दशैंको दिन सेनाले निःशुल्क बस सञ्चालन गर्ने (रुटसहित)

सशस्त्र प्रहरीले बनाइदियो १३४ वटा पिङ

यसैबीच सशस्त्र प्रहरीले वडादशैंको अवसरमा देशका विभिन्न ठाउँहरुमा १३४ पिङ बनाइदिएको छ । सर्वसाधारणहरु पिङ खेलेर रमाइलो गरुन् भन्ने उद्देश्यले सार्वजनिक स्थलहरुमा पिङ हालिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीले २४ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले २४, गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले ११, मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले ८ वटा पिङ बनाइदिएका छन् ।

यसैगरी विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले २६ वटा, महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ४ वटा, वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले २५ वटा र पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले १२ वटा पिङ हालेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment