Comments Add Comment

टीका थाप्न को आउला ?

सडक, शहर सबैतिर दशैंले छोइसकेको छ । दशैंमा घर र्फकने लर्को र किनमेलको चटारो छ । शहर पसेकाहरु गाउँ फर्किएका छन् । गाउँघरको रौनक बढ्दैछ । कोही पिङ थाप्दैछन्, कोही इष्टमित्रसँग रमाइलो गर्दैछन् । टाढा-टाढा रहेका आफन्तहरु एकै थलोमा भेला हुँदैछन् । यो खासमा पारिवारिक जमघटको मेलो पनि हो । कतिपय छोराछोरी आउने आशामा छन्, कतिपय आमाबुवासँग भेट्ने उत्साहमा छन् । आफन्त, दाजुभाई, काकाकार्की, हजुरबा-हजुरआमा सबैलाई दशैंले एकाकार बनाउँदैछ ।

तर, पशुपति क्षेत्रको सरकारी बृद्धाश्रममा यस्तो रौनक छैन । त्यहाँ दशैं लागेको कुनै छनक मिल्दैन । न कोही आफन्त आउने आशा, न कुनै रमझम गर्ने आकंक्षा । सून्य-सून्य छ, बृद्धाश्रम । एकोहोरो र उस्तै छ, बृद्धबृद्धाको जीवनशैली ।

दशैंको रंग चढ्दै जादा बृद्धाश्रमभित्रका बृद्धाबृद्ध के गर्दैछन् ?

बृद्धाश्रम भित्र

त्यहाँ भएकामध्ये धेरैलाई दशैंमा कोही आफन्त आउलान् भन्ने आशा छैन । कसैले घरमा लैजान्छ भन्ने मोह पनि छैन । त्यहीका व्यवस्थापनले जसरी मनाउँछन्, त्यसैमा सामेल हुन्छन् ।

आफैंमा एउटा युगको अनुभव गरिसकेको यो बृद्धाश्रममा हिजोआज खसी ढल्दैन । साढे ३ वर्षभन्दा पहिलेदेखि बसोबास गर्दै आएका आमाबुबाहरु पहिलेको स्मरण गर्दै उबेलामा ३/४ वटासम्म खसी ढाल्ने गरिएको सुनाउँछन् ।

दूर्गापूजाको कोठामा समेत बलिको लागि लक्का जवान बोका काटेको स्मरण पुराना बाहरुले गर्ने गरेका छन् । तर, साढे ३ वर्ष अघिदेखि विविध कारणले त्यहाँ खसी ढाल्न बन्द गरिएको छ ।

बृद्धाश्रममा २३० जना आमाबुबाहरुलाई राख्न सक्ने क्षमता छ । तर, अहिले भने ८५ जना आमा र ६५ जना बुबा मात्रै त्यहाँ छन् । उनीहरुको दशैं सामूहिक रुपमा टीका ग्रहण गरेर नै मनाउने गरेका छन् । बृद्धाश्रमका निमित्त कार्यालय प्रमुख कृष्ण कँडेलका अनुसार दशैंको टीकाको दिन यहाँ दुई किसिमको टीका आदानप्रदान गर्ने गरिन्छ । एउटा व्यवस्थापनको तर्फबाट सम्मान स्वरुप आमाबुबाहरुलाई लगाउने टीका र गरिन्छ भने अग्रजको हिसाबले आमाबुबाबाट व्यवस्थापनका कर्मचारीहरुले पनि टीका लगाउने गर्दछन् ।

दशैंको समयावधिभर बृद्धाश्रममा विशेष किसिमको खानेकुराहरुको व्यवस्था गरिएको हुन्छ । सामान्यतया दाल, भात, तरकारी, अचार र दूध खुवाउने सो बृद्धाश्रममा दशैंको फूलपातीदेखि टीकाको दिनसम्म दुबै छाक पनिरको तरकारीसँग खाना खुवाउने गरिन्छ । निमित्त कार्यालय प्रमुख कँडेलका अनुसार पहिले फूलपातीको दिनदेखि नै मासु खुवाउने गरिएको थियो । तर, साढे ३ वर्ष अघिदेखि त्यहाँ मासु खुवाउन प्रतिबन्ध लगाईएको छ । त्यहाँ बसोबास गर्ने तीन चौथाई जति शाकाहारी रहेको र पवित्र पशुपति क्षेत्रमा काटमार गर्न पनि उपयुक्त नभएकोले त्यहाँ माछामासु खान नै प्रतिबन्ध लगाईएको हो । मासु खान मन लाग्नेहरुलाई बाहिर गएको समयमा खुवाउने गरिएको छ भने हरेक वर्षको हिउँद महिनामा पिकनिक लगेर पनि मासु खुवाउने गरिएको कँडेलले बताए ।

‘बृद्धाश्रममा बस्ने आमाबुबाहरुलाई खानामा नियमित दूधका अलावा महिनामा ४ पटक पनिर समेत खुवाउने चलन छ । त्यस्तै हरेक ३/३ महिनामा हर्लिक्स पनि वितरण गर्ने गरिएको छ । दशैंको समयमा विजयादशमीको दिन हर्लिक्स वितरण गर्ने गरिन्छ । टीकाको अघिल्लो दिनसम्म दिनहरुमा दही र पनिर खाना हुन्छ । बुबाआमाको माग अनुसार यो टीकाको दिनमा खिर, हर्लिक्स र फलफूल दिने तयारीमा छौं ।’ कँडेलले अनलाईनखबरसँग भने ।

सुरक्षाको हिसाबले ३ वर्षदेखि बाहिर जान पनि आमा बुबाहरुलाई प्रतिबन्ध लगाईएको छ । यो बृद्धाश्रम सम्बन्धी कार्यविधि अनुसार कसैले पनि यसभित्र आमाबुबाहरुलाई कुनैपनि कुराहरु बाँड्न निषेध गरिएको छ । कसैले पैसा दिन मन गर्छ भने उसले बैंकको बृद्धाश्रमको नाममा रहेको खातामा राख्न सक्दछ भने जिन्सी सामानको लागि जिन्सी रजिस्ट्ररमा राख्नुपर्ने व्यवस्था रहेको छ । हामीले दशैं होस् या त अरु समयमा पनि कसैले आमाबुबाहरुलाई आफ्नो घरमा लैजान चाहन्छ भने नागरिकताको फोटोकपि राखेर एक सातासम्म लैजान सक्ने प्रावधान रहेको छ ।

कस्ता आमाबुबा बस्छन् बृद्धाश्रममा ?

नेपाल सरकार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत्को सो बृद्धाश्रममा अहिले दशैंको रौनक बढेको छ । सो बृद्धाश्रममा प्रवेश गर्नको लागि विभिन्न ४ वटा सर्त पूरा गर्नुपर्ने हुन्छ । बृद्धाश्रममा प्रवेश गर्नको लागि कुनैपनि नेपाली नागरिक ६० वर्ष पूरा भएको हुनुपर्ने, आफ्नो नाममा कुनैपनि चल-अचल सम्पत्ति भएको हुन नहुने र पालनपोषण गर्ने कुनैपनि साहारा नभएको हुनु पर्नेछ । यस्ता आमाबुबाहरुलाई मन्त्रालयले स्वीकृत गरेपछिमात्रै यहाँ प्रवेश गराईन्छ । बृद्धाश्रममा बसेका आमाबुबाहरुलाई सामान्यतया दैनिकी पूरा गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु उपलब्ध गराउने गरिएको छ ।

ओम कुमारी अधिकारी

नुवाकोट

दशैं त लागिसक्यो नि । सबैलाई शिरदेखि पाऊसम्मको कपडा दिईसके । मेरो त अभागी पुर्पुरो चप्पल पनि मिलेन । पछि फेरि दिन्छु भनेर फिर्ता लगेका छन् । हेरौं के गर्छन् । मेरो भाग्यमा कुनैपनि चप्पल मिल्दैन । हामीलाई त सधैं दशैं नि । बृद्धाश्रममा बसेर केही पनि काम गर्न सकेको छैन ।

बसीबसी खायो दिन बितायो । सधैं दशैं हामीलाई । म यहाँ बसेको साउन महिनादेखि १२ वर्ष पूरा भयो । दुईवटा छोरा थिए । एउटा गैहाल्यो । एउटा छ । नातीहरु पनि छन् । दशैंमा पहिले पहिले त तिनीहरुलाई सम्झेर रुन मन लाग्थ्यो । अहिले त बानी परिसक्यो । मेरो घर नुवाकोट जिल्लाको लिखुपारी नर्जा भन्ने ठाउँमा थियो । श्रीमानको मृत्यु भएपछि म बस्न सकिन । दशैंमा मासु त दिने गरेका छैनन् । मासु नदिनु ठीकै पनि लाग्छ । यो पशुपति क्षेत्रमा बसेर मासुको लोभ गर्नुपनि हुन्न । अरु खानेकुरा दिन्छन् । त्यसैमा चित्त बुझाउने हो ।

दशैं रमाईलो चाहिँ धेरै हुन्छ । अहिले छोराहरु बँगैचा भन्ने ठाउँमा बजारमा छन् । हामीलाई सम्झिदैनन् त्यसैले मैले पनि सम्झिन छाडिदिएँ । म ९३ वर्ष पुगेँ । गाउँमा ओमकुमारी भनेर बोलाउँथे । यहाँ पनि त्यही होला नाम । म बोगटीकी छोरी हुँ ।

अधिकारीलाई दिएको । यो वर्षको दशैंको लागि चौबन्दी चोली, फरिया र पटुकी लिईसकेकी छु । दशैं त कसरी आउने हो र ? यही त हो नि । बुढेसकालमा बच्चाको बेला जस्तो रमाईलो हुँदैन । अरुदिन जस्तै हो दशैंपनि । आफन्तहरु आउलान् भन्नु परेन, त्यसमा चाहिँ ढुक्क छ ।

रामराज लोहानी

धादिङ

मेरो नाम रामराज लोहनी । उमेरले म ७४ वर्ष पूरा भएँ । यहाँ आएको डेढ वर्ष पूरा भयो । एउटा मैले यहीँ मनाएँ । म त कृष्णप्रणामी हुँ, पहिलेदेखि नै मासु खाने थिईन । मेरा छोराछोरी कोही पनि छैनन् । मेरो आफ्नो भन्नु यिनै आमा हुन् (ओमकुमारी अधिकारीलाई आमा मानेर) । आमा मानेपछि आमा भईहाल्नु भयो नि । म आमा भन्छु । उहाँले छोरा भन्नुहुन्छ ।

एउटी श्रीमती थिईन् । उनले पनि छाडेर गएपछि विरक्त लाग्यो सबै जायजेथा छाडेर म त आएँ यतै । अब मेरो बुढेशकाल सरकारकै भरमा छ । दशैं त यहाँ आईसक्यो । अब फुलपाती लाग्ने बेला भयो । त्यसपछि पहिलेभन्दा फरक खालको खाना खुवाउन थाल्छन् । टीकाको दिन हामीलाई हाकिमहरुले टीका लगाईदिन्छन् । रमाईलै हुन्छ ।

यति धेरै बुबाआमाहरुसँग बसेर टीका लगाउन पाउँदा पनि एउटा छुट्टै आनन्द लाग्छ । घरमा छोराछोरी भएका भए परिवारमा बसेर टीका लगाईन्थ्यो । कोही पनि भएनन् यहाँ समाजमा बसेर टीका लगाईन्छ ।

हिरादेवी नेवार्नी

भोटाहिटी

नयाँ कपडा पाएँ । साह्रै रमाईलो लागिरहेको छ । दशैं आएजस्तै लागिरहेको छ । यी यही हो मेरो लुगा -कपडा देखाउँदै) । दशैं त राम्रै हुन्छ । खाना उही हो । दशैंमा मासु खान दिँदैनन् । जे जे भएपनि मलाई त बाहिर भन्दापनि यहाँ कै दशैं मनपर्छ । यो भन्दा पहिले दुईवटा दशैं मैले यहाँ मनाएको हो । हाकिमहरुले टीका लगाईदिन्छन् ।

कहिले त पैसा पनि दिन्छन् । कहिले दिँदैनन् । त्यो के जाति पनिर भन्ने पनि पकाउँछन् फूलपातीदेखि । मलाई त खासै मन पर्दैन त्यो । मेरो नाम हिरादेवी नेवार्नी हो । थर नै नेवार्नी हो । अरु थाहा छैन । मासु खान नपाउने बाहेक अरु त सबै कुरा ठीक छ । बिहान चिया बिस्कुट खान दिन्छन् । दिउँसो र बेलुका दालभात र तरकारी दिन्छन् । दशैंमा अलिक फरक हुन्छ । दशैं आयो भनेर त्यस्तो धेरै खुशी लागेको छैन ।

पुण्यबहादुर थापा

नुवाकोट

मेरो नाम पुण्यबहादुर थापा हो । मैले यो बृद्धाश्रममा दशैं मानेको १० वर्ष भयो । मेरो घर नुवाकोट हो । मलाई त यहाँको दशैं पनि बाहिरको जस्तै लाग्ने गर्दछ । नयाँ कपडा दिईहाल्छन् आराम गरेर बस्न पाईहालिन्छ । रमाईलै छ । टीकाटालोको कुरा गर्दा हामीले पनि हाकिमहरुलाई टीका लगाईदिन्छौं उनीहरुले पनि हामीलाई टीका लगाईदिन्छन् । यसरी नै मनाईन्छ ।

दशैंमा खानाको विशेष परिकार हुन्छ । बाहिर जान दिँदैनन् । त्यही एउटा समस्या हो । भो घरपरिवारको कुरा नगरौं । किन त्यसै मन दुखाउने काम गर्नु । छोरा जन्मिएन । छोरीहरुलाई अरुकोमा पठाउन परिहाल्यो । श्रीमती मरेपछि मेरो भन्नु कोही पनि भएन । म पनि हिडेँ । छोरीहरुले पनि बिर्सिने बेला भईसक्यो होला ।

कहिलेकाहीँ त के मन चलेर टीका लगाउन आउँछन् । यता भित्र आउन पनि उनीहरुलाई अफ्टेरो भएको हुनसक्छ । उनीहरु खासै आउनै आफ्टेरो मान्छन् । मलाई पनि अब त आसै लाग्न छाडिसक्यो । बाँचुन्ज्याल सरकारले पालिहाल्छ । मलाई पनि अरु के नै चाहिएको छ र ? दशैंमा पहिले मासु दिन्थे । तर, केही वर्षदेखि मासु दिन छाडेका छन् । दशैंमा मासु खान मन लाग्छ । तर, यहाँ दिने चलन छैन । यो चाहिँ अलिक नरमाईलो लाग्छ । दशैंमा केही पनि खर्च दिँदैनन् । खर्चको पनि व्यवस्था गरिदिए हुने थियो । बुढेशकालमा दशैंको के को रमाईला होस् ? उमेर भए पो छुट्टै उत्साह हुन्थ्यो त । अहिले त चिउरा र मासुबाट पनि रमाईलो हुन छाड्यो ।

कृष्णबहादुर गुरुङ

सिन्धुपाल्चोक

बृद्धाश्रममा आएको १२ वर्ष पूरा भयो । मेरो घर चाहिँ सिन्धुपाल्चोक हो । गाउँघरमा भए पो दशैंमा छुट्टै रमाईलो हुन्थ्यो । यहाँ खानेकुरा त यहाँ नै ससुरालीको जस्तो मेजमानी छ । दालभात तरकारी नियमित कामै नगरी खानपाईन्छ । मासुको जात देख्न पाईँदैन त्यो चाहिँ चित्त बुझ्दैन ।

दशैं त योभन्दा बढी कति लाग्ने हो र ? नयाँ कपडा पनि दिईहाले । अब त दशैं पनि आईसक्यो नि । ६/६ महिनामा नयाँ लुगा दिन्छन् । म घरमा कोही पनि नभएको मान्छेलाई दशैं त यतै रमाईलो लाग्छ । बिहे त भएको हो । बच्चा बनाउनै भ्याईएन । ८ सालमा श्रीमती ल्याएको थियो, १३ सालमा हिँडिहाल्यो । १५ सालमा फेरि ल्याएको थियो, १८ सालमा हिँडिहाल्यो ।

फुटेको कर्म भनौं भने खान लगाउन त्यत्तिकै पाईएकै छ । राम्रो कर्म भनौं भने यस्तो अवस्था छ । अब दशैंमा टीकाटालो पनि यतै गरिन्छ । बाहिर जाने ठाउँ नै छैन । पहिले हाकिमले लगाईदिन्थे । उनी मरिहाले । अब सुब्बाले टीका लगाईदेलान् नि ।

सान्नानी तिमल्सिना

काठमाडौं

मेरो नाम सान्नानी तिमल्सिना हो । मेरो घर काठमाडौंमा नै हो । दक्षिणकाली जाने बाटोमा मेरो घर थियो । मेरो छोरा त छन् । तर, उनीहरुको कुरै नगरौं । छोराहरुले प्रगति गरेका छन् । त्यसैमा मलाई खुशी लागेको छ । छोराहरु दशैंमा आएनन् भनेर खासै दुख लाग्दैन । यहाँ दशैं लागिसक्यो । दशैंको नयाँ कपडा लिएँ । चप्पल चाहिँ मिलेन र लिन पाएको छैन । मासु खान दिँदैनन् । खानेलाई खान मन पनि लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment