Comments Add Comment

सार्वजनिक कार्यक्रममा खादा र माला प्रयोगमा रोक !

१७ असोज, पोखरा । प्रमुख अतिथि, अतिथि ढिला गरी कार्यक्रममा पुग्ने । जति नै ढिला भए पनि गला नै छोपिने गरी माला, खादाले स्वागत । त्यसपछि पनि लम्बेतान आसन ग्रहण र भाषणको श्रृंखला । सरकारी होस् कि कुनै संघसंस्थाको कार्यक्रम होस्, यस्तै दृश्य देख्न पाइन्छ । मुख्यमन्त्री/मन्त्रीदेखि नेतासम्म धेरै जसो समय यस्तै कार्यक्रममा सहभागी हुँदा दिनै बित्छ ।

तर, गण्डकी प्रदेशले भने कार्यक्रमलाई छरितो बनाउने भएको छ । यसका लागि सार्वजनिक निकायको औपचारिक बैठक तथा समारोह सञ्चालन सम्बन्धी निर्देशिका नै बनेको छ । यसले प्रदेश सरकार र मातहतका कार्यालयको कार्यक्रम समयमा हुनुपर्ने मात्र भनेको छैन, सामाजिक संस्थालाई पनि दिशानिर्देश गरेको छ ।

निर्देशिकाअनुसार स्वागत र सम्मान गर्दा खादा, माला, अबीर एकसाथ लगाउन नपाइने भएको छ । ‘भरसक यस्ता कुरा प्रयोग नै नगर्ने भनेका छौं । गर्नै परे कुनै एकमात्र प्रयोग गर्ने निर्देशिका बनाएका छौं,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘समारोह एकदमै छोटो गर्नुपर्ने छ ।’

एकदेखि डेढ घन्टाभित्र कार्यक्रम सक्नुपर्नेछ । र, कार्यक्रममा तीन जनाभन्दा बढी बक्ता राख्नै पाइने छैन ।

कार्यक्रममा अतिथि बोलाउँदा कम्तिमा तीन दिन अगाडि विषयबस्तुबारे जानकारी गराउनुपर्ने निर्देशिकामा छ । यो निर्देशिका गण्डकी मन्त्रिपरिाषद बैठकले पारितसमेत गरिसकेको छ ।

यसअघि कास्कीको मादी गाउँपालिकाले खादा, माला, अबिरमा फजुल खर्च नगर्ने निर्णय गरेको थियो । उसले पनि कुनै पनि कार्यक्रममा स्थानीय घरेलु उत्पादनबाट निर्मित वस्तुहरु मात्र प्रयोग गर्नुपर्ने गरी कार्यविधि बनाएको छ । मायाको चिनो उपाहारहरु पनि स्थानीय उत्पादनका बस्तुहरु मात्र प्रयोग गर्नुपर्ने नियम गाउँपालिकाले बनाएर कार्यान्वयन गरिएको अध्यक्ष वेदबहादुर गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment