Comments Add Comment

छापामा आज : सांसद् पद जोगाउन लबिङ गर्दै महरा

राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले दशैं उमंग झल्किने सामग्रीसँगै आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई समेटेका छन् ।

पिङ खेलिरहेकी एक बालिकाको तस्वीर छापेको कान्तिपुरले ‘महरा अझै माननीय’ शीर्षक दिएर समाचार छापेको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद् पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको कान्तिपुरले लेखेको छ ।

संसद् सचिवालयको स्वास्थ्य शाखामा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरालाई सभामुख र सांसद् दुवै पदबाट राजीनामा दिन नेकपा सचिवालय बैठकले निर्देशन दिएको थियो । तर, महराले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् । कान्तिपुरका अनुसार, उनले सांसद् पदबाट राजीनामा दिनुको साटो यथावत् रहन लबिङ थालेका छन् । तर, उनले पद जोगाउन त्यस्तो कसरत को–कोमा गएर गरिरहेका छन् भन्नेबारे भने समाचारमा केही खुलाइएको छैन ।

‘आरोप स्वीकारेझैं चुपचाप पनि बस्ने, पार्टी नेतृत्वको निर्देशन नमान्नने त हुँदैन’, एक नेकपाका स्थायी समिति सदस्यलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘पार्टीका आँखामा अब महरा सांसद् रहेनन् । हामीले दाङ क्षेत्र नम्बर २ रिक्त रहेको कल्पना गरिसक्यौं ।’

फ्रन्टपेजमा दशैंको उल्लास झल्काउने तस्वीर पस्केको अन्नपूर्णले महरालाई नपक्रन दबाव बढेको लेखेको छ । अन्नपूर्णका अनुसार, पूर्वमाओवादी नेताले पछिल्लो समय महरालाई पक्राउ नगर्न दबाव बढाइरहेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डकै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन् ’, स्रोतको हवाला दिँदै अन्नपूर्णले लेखेको छ, ‘तर महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाव छ ।’ प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले पक्राउ गरी थुनामा राख्नु परे सोधेर मात्रै अगाडि बढ्न सुरक्षा निकायलाई भनेका छन् ।

दबावपछि उनलाई पक्राउ नगरे पनि अभियुक्तसरहकै व्यवहार गरिरहेको समाचारमा लेखिएको छ ।

सद्भावना तथा अवैतनिक महावाणिज्यदूतको विकृतिबारे पनि आज कान्तिपुरले एक सामग्री छापेको छ । सामचार अनुसार, अमेरिकामा यो विकृति अझै बढी छ । को, कहाँ, किन दूत बनेका हुन् भन्ने स्वयं अमेरिकास्थित नेपाली राजदूतावासलाई नै जानकारी छैन ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment