Comments Add Comment

अफगान तालिवान लडाकु र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

१७ असोज, काठमाडौं । अफगानिस्तानस्थित तालिवान लडाकुको एक टोलीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेको छ । तालिवान लडाकुका शीर्ष कमाण्डर मुल्ला अब्दुल गनी बरादर नेतृत्वको ११ सदस्यीय अफगान तालिवानको टोलीले प्रधानमन्त्री खानसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ ।

बिहीबार दिउँसो भएको भेटवार्तामा पाकिस्तानका सेना प्रमुखसमेत सहभागी रहेको समाचारमा उल्लेख छ । प्रधानमन्त्री र प्रधानसेनापतिलाई भेट्नुअघि तालिवान टोलीले विदेश मन्त्री शाह महमुद कुरैसीलाई भेटेको थियो । विदेश मन्त्रालयमा भएको भेटमा गुप्तचर विभागका प्रमुख पनि रहेको बताइएको छ । विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी अफगान तालिवानसँगको भेटमा शान्ति प्रक्रिया र आपसी हितका विषयमा छलफल भएको जानकारी दिएको छ ।

अमेरिकासँग वार्ता भंग भएपछि तालिवान लडाकुले पाकिस्तानका प्रधानमन्त्री, प्रधानसेनापतिलगायतको टोलीसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ । हाल अमेरिकी मुख्य वार्ताकार जिल्मे खलिलजाद पनि पाकिस्तानमै रहेको बताइएको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसी तालिवान टोली नेतासँग

यो परिस्थितिलाई अफगानिस्तानमा शान्ति स्थापना गर्न र अन्तर्राष्ट्रिय सहमति जुटाउन अभूतपूर्व अवसरको रुपमा लिनुपर्ने पाकिस्तानका विदेशमन्त्री कुरैसी बताउँछन् । उनले हाल अवरुद्ध अफगान शान्ति वार्ता छिट्टै सुरु हुने पनि बताएका छन् ।

को हुन् बरादर ?

पाकिस्तानको जेलमा आठ वर्षसम्म थुनिएका मुल्ला अब्दुल गनी बरादर गत वर्ष हिरा भएका थिए । उनी सन् २०१० मा कराँचीबाट पक्राउ परेका थिए । सोही वर्ष उनी कतारस्थित तालिवान पोलिटिकल अफिसको प्रमुख नियुक्त भएका थिए ।

यसै क्रममा पाकिस्तानका विदेशमन्त्री कुरैसीले पाकिस्तान र अफगानिस्तानबीच धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध रहेको तर अफगानिस्तानले विगत ४० वर्षदेखि अस्थीरता झेलिरहेको बताए । उनले भने, युद्ध कुनै पनि समस्याको समाधान होइन भन्नेमा पाकिस्तान स्पष्ट छ र वार्ता नै अफगानिस्तानमा शान्ति स्थापना गर्ने एकमात्र माध्यम हो । हामीलाई यो कुरामा खुसी छ कि हामीले अफगानिस्तानको मुद्दामा राख्दै आएको अडानलाई आज विश्वले समर्थन गरेको छ ।’

उनले भनेका छन्- पाकिस्तानले आफ्नो जिम्मेवारी सम्भिmएर अफगान शान्ति प्रक्रियामा इमान्दारीपूर्वक भूमिका निर्वाह गरिरहेको छ किनभने शान्त अफगानिस्तान यस पूरै क्षेत्रको स्थिरताका लागि जरुरी छ ।

वार्तासँग सम्बन्धित पक्ष स्थायी शान्ति र राजनीतिक स्थिरताको मार्ग प्रशस्त गर्ने दिशामा अगाडि बढ्नुपर्नेमा पाकिस्तानी विदेशमन्त्री कुरैसीले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment